सांसद लक्ष्मी महतो फरार प्रकरण- एकै घटनाका आरोपी कोही मन्त्री भए, कोही सांसद र मेयर – Nepal Press

सांसद लक्ष्मी महतो फरार प्रकरण- एकै घटनाका आरोपी कोही मन्त्री भए, कोही सांसद र मेयर

मधेस आन्दोलनमा कसरी भयो सशस्त्रका असई विकको हत्या ? कोही फरार, धेरैको सम्पत्ति रोक्का

जनकपुरधाम । नेकपा एमालेका प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोलाई गृह मन्त्रालयले पक्राउ गर्न निर्देशन जारी गरेपछि सशस्त्र प्रहरीका असई थमन विकको हत्या प्रकरण फेरि चर्चामा आएको छ ।

महतो गएको मंसिर ४ गते भएको प्रतिनिधिसभा निर्वाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट निर्वाचित भएका हुन् । निर्वाचित भएपछि उनीमाथि मुद्दा दर्ता भएको भने होइन । ७ वर्ष अगाडि नै उनीमाथि मुद्दा दर्ता भएको थियो ।

असई विकको हत्या अभियोग लागेको मुद्दामा उनलाई जिल्ला अदालत महोत्तरीले २०७६ असोज २ मा १ लाख रुपैयाँ धरौटीमा छाडेको थियो । धरौटीमा छुटेका उनी साधारण तारेखमा थिए ।

उच्च अदालत जनकपुरले २०७७ मंसिर १९ मा जिल्ला अदालतको आदेशलाई उल्टाएर पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गर्‍यो । यो आदेश मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ६७ बमोजिम न्यायाधीश पुष्पराज कोइराला र प्रभा बस्नेतको संयुक्त इजलासले जारी गरेको थियो ।

उच्च अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश जारी गरेदेखि उनको नाम प्रहरीको फरार सूचीमा छन् । यद्यपि उनी एमालेबाट टिकट पाएर चुनाव लडे र निर्वाचित पनि भए ।

सांसद नभएसम्म उनी गुमनाम थिए । चुनाव जितेर संसद छिरेपछि प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदहरुले महतोलाई पक्राउ गर्नुपर्ने आवाज जोडतोडले उठाइरहेका छन् ।

कसरी भयो असई विकको हत्या ?

असई विक तेस्रो मधेस आन्दोलन २०७२ मा मारिएका हुन् । महोत्तरीको जलेश्वरमा २०७२ भदौ २५ गतेको प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भयो । झडपका क्रममा सशस्त्र प्रहरी बल जिल्ला कमाण्ड पोस्ट सुरक्षा बेस क्याम्प जलेश्वरमा कार्यरत असई विकलाई आन्दोलनकारीले नियन्त्रणमा लिएर कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।

घाइते विकलाई उद्दार गरी प्रहरी टोलीले उपचारका लागि जिल्ला अस्पताल जलेश्वरमा पुर्‍यायो । तर, त्यहाँ उपचार सम्भव भएन । त्यसपछि जनकपुर ल्याउने क्रममा सनोखडास्थित एम्बुलेन्सबाट थुतेर धान खेतमा उनको हत्या गरियो ।

घटनामा संलग्न रहेको भन्दै लक्ष्मी महतोसहित २८ जनामाथि मृतक असई विकका दाजु प्रेमबहादुर विकले जिल्ला अदालत महोत्तरीमा २०७२ भदौ २५ मा कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गरेका थिए । त्यतिवेला महतो मधेसी दलमा थिए ।

पूर्वराज्यमन्त्री, सांसद र मेयरमाथि पनि मुद्दा

असई विक हत्याको अभियोग लागेका नेताहरु राज्यमन्त्री, सांसद र मेयर पनि भइसकेका छन् । मधेस प्रदेशका पूर्वराज्यमन्त्री तथा वर्तमान सांसद एवं लोसपा संसदीय दलका नेता अभिराम शर्मा, जलेश्वर नगरपालिकाका पूर्वमेयर रामशंकर मिश्र र पूर्वप्रदेश सांसद कौशल यादवमाथि पनि मुद्दा छ ।

सांसद शर्मा, पूर्वमेयर मिश्र, सुरेश पाण्डेय, धर्मेन्द्र राय र मोहन ठाकुर अदालतबाट साधारण तारेखमा छुटेका छन् । अदालतमा हाजिर भएकामध्ये प्रदीप माझी, सञ्जय साह र पवन कापर थुनामा छन् ।

हाजिर नभएका पूर्वसांसद यादवसहित १९ जना आरोपीको अदालतले सम्पत्ति रोक्का गरेको छ । यादव सांसद रहेकै वेला २०७८ माघ १९ मा जिल्ला अदालत महोत्तरीले १९ जनाको सम्पत्ति रोक्का गरेको थियो । अहिले पनि उनीहरुको सम्पत्ति रोक्कामै छ ।

पूर्वराज्यमन्त्री शर्मा भन्छन्- यो राजनीतिक मुद्दा हो, पक्राउ गर्न खोज्नु गलत

लोसपा मधेस प्रदेशसभा संसदीय दलका नेता तथा पूर्वराज्यमन्त्री अभिराम शर्माले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोलाई पक्राउ गर्न खोज्नु गलत भएको बताएका छन् ।

‘असई विकको हत्या अभियोगमा ममाथि पनि मुद्दा छ’, उनले नेपाल प्रेससँग भने, ‘यो राजनीतिक मुद्दा हो । मधेस आन्दोलनलाई कमजोर पार्न मुद्दा लगाइयो । विदेशमा रहेकामाथि पनि मुद्दा दर्ता भएको छ ।’

जनताले लक्ष्मी महतोलाई निर्वाचित गरेको र जनादेशअनुसार उनी जनताको पक्षमा काम गर्ने व्यक्ति भएको पुष्टि हुने शर्माको जिकिर छ । ‘यदि त्यो मुद्दाको नाममा उहाँलाई पक्राउ गर्न खोजिएको छ भने त्यो गलत हो’, उनले थपे, ‘मधेस आन्दोलनमा जो सहिद भए, उनीहरुलाई राज्यले सहिद घोषणा गर्‍यो कि गरेन ? यदि राज्यले सहिद घोषणा गर्‍यो भने आन्दोलनकारी कसरी देशद्रोही भयो ? अधिकारवादी आन्दोलनमा राजनीतिक पूर्वाग्रहको रुपमा हामीलाई फसाइएको छ ।’

उनले देशका प्रधानमन्त्रीले पनि १७ हजार मानिस मारेर आएको औंल्याउँदै भने, ‘झापा आन्दोलनकै कुरा गर्दा त्यहाँ केपी ओलीको इतिहास हेर्नुस् । कांग्रेसकै इतिहास हेर्दा प्लेन हाइज्याक गर्ने काम गरेको छ नि ! त्यसैले यो राजनीतिक मुद्दा हो । यसलाई राजनीतिक रुपमा समाधान गर्नुपर्छ ।’

उनले मधेस आन्दोलनको विषयमा गिरिषचन्द्र लालको प्रतिवेदन सार्वजनिक गर्न पनि माग गरे । शर्माले भने, ‘गिरिषचन्द्र लालको प्रतिवेदन सार्वजनिक गरोस् । दूधको दूध र पानीको पानी भइहाल्छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर