नर्सिङ र एमबीबीएस विद्यार्थीको प्रेम चक्कर- वास्ता नगरेपछि सामाजिक सञ्जालमा राखियाे प्रेमिकाको नग्न तस्विर – Nepal Press

नर्सिङ र एमबीबीएस विद्यार्थीको प्रेम चक्कर- वास्ता नगरेपछि सामाजिक सञ्जालमा राखियाे प्रेमिकाको नग्न तस्विर

काठमाडौं । लुम्बिनीको एक मेडिकल कलेजमा सरिता गजुरेल (नाम परिवर्तन) बीएस्सी नर्सिङकी विद्यार्थी हुन् । चार वर्षदेखि उनी उक्त कलेजमा अध्ययनरत छिन् । सोही कलेजमा एमबीबीएस अध्ययनरत अमित शाह (नाम परिवर्तन)सँग सरिताको चिनजान हुन्छ ।

कुराकानी बढ्दै जाँदा उनीहरु नजिक हुन थाल्छन् । फेसबुकमा समेत जोडिएपछि कुराकानी अझ बढ्छ । उनीहरु म्यासेज, अडियो कल हुँदै भिडियो कलसम्म पुग्छन् । सरिता अमितको बानी व्यहोराबाट प्रभावित हुन थाल्छिन् ।

एक दिन अमितले भने, ‘तिमी मलाई असाध्यै मनपर्छ । आई लभ यू ।’

खासमा सरितालाई पनि अमितको प्रेममा परेको पत्तै हुँदैन । ‘लभ यू टु’ भन्न कतिबेर लाग्दैन । अब कलेजमा हुने नियमित भेटघाट पर्याप्त हुँदैन । घर पुगेर साँझ, बिहान, राति जतिवेला पनि भिडियो कलमा जोडिहाल्ने स्थितिसम्म पुग्यो ।

अमितले एक दिन कुरैकुरामा अनुरोध गरे, ‘तिम्रा गोप्य अंगहरु देखाउm, म पनि देखाउँछु ।’

अमितलाई आफ्नो भविष्य स्वीकारिसकेकी सरिता त्यति गर्न कुनै संकोच मान्दिनन् । तर, समयक्रममा उनीहरुबीच सम्बन्ध बिग्रँदै गयो । गत साउनयता सरिताले अमितलाई सबै प्लेटफर्ममा ब्लक गरिन् ।

‘अमितले मलाई सधैंजसो भिडियो कलमा नग्न हुन लगाउने, अश्लील क्रियाकलाप गर्न लगाउने, भेटेका बखत अश्लील शब्दहरु प्रयोग गर्नेलगायत कार्य गर्ने तथा कुलतमा फसेर लागुऔषधसमेत सेवन गर्ने गरेको थाहा पाई उक्त कार्य मलाई मन परेको थिएन’, सरिता भन्छिन् । साउनमा बीएस्सी नर्सिङको पढाइ सकिएपछि सरितालाई अब अमितसँग टाढा हुन सजिलो हुनै लागेको थियो । तर, उनले सोचेजस्तो भएन ।

आफ्नो नग्न तस्विर फेसबुकमा देखेपछि..

आफ्नो नाम र तस्विर प्रयोग गरेर फेक अकाउन्ट बनाएको थाहा पाएपछि सरितालाई छटपटी बढ्न थालेको थियो ।

केही समयमा उक्त अकाउन्टबाट आफ्नो नग्न तस्विरहरु राखिएपछि सरितालाई मात्र होइन उनको परिवारलाई समेत तनाव बढ्यो । अमितले नै त्यसो गरेको हुन सक्ने सरिताको अनुमानको एउटा आधार थियो– नग्न तस्विरहरु भिडियो कलका स्क्रिनसटहरु थिए ।

‘निजको विश्वासमा परी मैले निजले भनेबमोजिम आफ्नो गोप्य अंगहरु देखाई, अश्लील क्रियाकलाप गरेकोमा निजले मलाई जानकारी नदिई उक्त बखत आफ्नो मोबाइलमा स्क्रिन रेकर्ड वा स्क्रिन सट गरी राखेका रहेछन्ु’, सरिताले प्रहरीलाई दिएको जाहेरीमा उल्लेख गरेकी छन् । सरिता प्रहरीमा पुगेको जानकारी पाएपछि अमित फरार छन् ।

अमितलाई फरार प्रतिवादी बनाएर काठमाडौं जिल्ला अदालतमा उनीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार एक लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय गर्न मागदाबी लिएर मुद्दा दर्ता भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *