बुटवल क्षेत्रलाई आर्थिक केन्द्रको माग गर्दै मुख्यमन्त्रीसमक्ष एमाले नगरको २९ बुँदे सुझाव – Nepal Press

बुटवल क्षेत्रलाई आर्थिक केन्द्रको माग गर्दै मुख्यमन्त्रीसमक्ष एमाले नगरको २९ बुँदे सुझाव

बुटवल । रुपन्देहीको बुटवल उपमहानगरसहित आसपासको पालिकाहरूलाई आर्थिक केन्द्रको रुपमा विकास गर्न नेकपा एमाले बुटवल नगर कमिटीले लुम्बिनी प्रदेशका मुख्यमन्त्री लीला गिरीलाई २९ बुँदे सुझावसहित ध्यानाकर्षण गराएको छ । बुटवलको विकास र समृद्धिका लागि प्राथमिकतामा राखी तत्काल र दीर्घकालीन गर्नुपर्ने कामबारे शनिबार बुटवलस्थित मुख्यमन्त्री निवासमा पुगेर बुटवल नगर कमिटीले ध्यानकर्षण पत्र बुझाएको हो ।

एमाले बुटवल नगर कमिटीका अध्यक्ष किशन ज्ञवालीले बुझाएको ध्यानाकर्षण पत्रपछि बोल्दै मुख्यमन्त्री गिरीले साझा पहल र छलफलको माध्यमबाट अघि बढ्ने प्रतिबद्धता जनाए । बुटवललाई आर्थिक केन्द्रको रूपमा विकास गर्नका लागि राज्यका तीनै तहसँगको सहकार्यसँगै नीजि क्षेत्रसँग पनि मिलेर अघि बढ्ने उल्लेख गरे । यहाँको आर्थिक विकास सम्भावनाहरुको बारेमा आवश्यक छलफल तथा अनुसन्धानहरुबाट प्राप्त निश्कर्ष अनुसार अघि बढ्न तयार रहने उनले बताए ।

नगर अध्यक्ष ज्ञवालीले बुटवलको निर्माणाधीन सडकले काममा तीब्रता पाउनुको साटो उल्टै ती सडकहरुमा अनावश्यक बस्तु तथा संरचनाहरु राखेर यात्रु र यहाँ व्यवसायीहरूलाई सास्ती थप्ने काम भएकाले पार्टीको तर्फबाट पेश गरिएका सुझावमा गम्भीर भएर लाग्न प्रदेश सरकारलाई आग्रह गरिएको बताए । सडक निर्माण समयमा हुन नसकेको अवस्थामा ती सडकहरुमा राखिएका अनावश्यक संरचनाहरुले यात्रालाई थप जोखिम बनाएको बताउँदै उनले ती समस्याहरुको तत्काल समाधानका लागि आवश्यक निर्देशन दिन उनले आग्रह गरे ।

एमाले नेता गोपाल रानाले बुटवललाई आर्थिक केन्द्र बनाउन पर्यटन नै सबैभन्दा उत्तम विकल्प भएको बताउँदै उनले त्यस अनुरुपको बिकास योजना ल्याउन सुझाव दिए । यहाँ उद्योगी व्यवसायीहरुले खुलेर लगानी गर्नसक्ने वातावारण निर्माण गर्नुका साथै राज्यकोतर्फबाट निर्माण गर्नुपर्ने सम्पूर्ण भौतिक संरचनाहरुको निर्माणमा पहल गरिदिनका लागि मुख्यमन्त्रीलाई आग्रह गरे ।
नेता रानाले बुटवलमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गर्नका लागि ठाउँ अभाव भएको गुनासो गर्दै यसतर्फ पनि ध्यान दिन आग्रह गरे । इनडोर तथा आउट डोरका विभिन्न प्रतियोगिताहरु एउटै ग्राममा खेलाउन मिल्नेगरी ठाउँको पहिचान गरी संरचना निर्माणमा उनले जोड दिए ।

बुटवलमा देविनगरमा रहेको एकमात्र मैदान अब प्रयाप्त नहुने बताउँदै उनले आधुनिक शैलीका गुणस्तरीय फराकिला खेल ग्राम स्थापनमा हुन आवश्यक रहेको बताए । खेल पर्यटनको माध्यमबाट पनि बुटवललाई आर्थिक राजधानी बनाउन सहयोग पुग्ने उनले बताए । भैरहवामा निर्माण सम्पन्न अन्तर्राष्ट्रिय हवाई मैदान, बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र लगायत यी ठूला परियोजना सञ्चालनका लागि बुटवलमा अब सोही अनुशारको बिकास योजनासहित संरचना निर्माणमा जोड दिनुपर्ने उल्लेख गरे ।

ध्यानाकर्षणका बुँदाहरुमा विकास निर्माणका आयोजनाहरुमा हुने ढिलासुस्ती र लापरवाहीको पहिचान गरी त्यसको निराकरण गर्नुपर्ने, सरकारी सेवाप्रवाहलाई सरलीकृत, प्रविधिमैत्री र सेवाग्राहीमुखी बनाउँदै भ्रष्टाचारको अन्त्य गरी सुशासनको प्रत्याभूति दिनुपर्ने, प्रदेश सरकारसंग सम्बन्धित निर्देशनालय, विभाग, डिभिजनकार्यालय लगायतकाकार्यालयहरु बुटवलमै राख्नुपर्ने लगायतका मागहरु राखिएका छन् ।

यसैगरी बुटवलको राजमार्ग चौराहदेखि चिडिया खोलासम्मको सडक निर्माण कार्यलाई तत्काल सम्पन्न गर्नुपर्ने, कालिका पथमा देखिएको प्राविधिक समस्याहरु फुटपाथ, एक्सेस रोडको कल्भर्ट सडकभन्दा डाउन भएको, ट्राफिक आइल्याण्ड, सडक बत्ती, ग्रिनरी लगायतको मध्यनजर गर्दै निर्माणको बाँकी कामलाई यथाशीघ्र सम्पन्न गराउन माग गरिएको छ ।

ज्योतिनगर लक्ष्मीनगर पहिरो नियन्त्रण तथा व्यवस्थापनको काम प्राथमिकताका साथ सम्पन्न गर्नुपर्ने साथै बुटवल पाखापानी क्षेत्रको पहिरो नियन्त्रणका लागि विशेष ध्यान दिनुपर्ने सुझाव पेश गरिएको छ । सुझावपत्रमा बुटवलको खानेपानी समस्यालाई समाधान गर्नका लागि झुम्सा खानेपानी आयोजना तत्काल सम्पन्न गर्नुपर्ने, तिनाउ–दानव नदी किनारका बस्तीहरुको सुरक्षाका निम्ति संवेदनशील क्षेत्रहरुमा तत्काल तटबन्ध निर्माण गर्नुपर्ने, लुम्बिनी प्रादेशिक अस्पताल लगायत विभिन्न अस्पतालहरुमा देखिएको व्यवस्थापकीय कमजोरीहरुलाई तत्काल हटाई अस्पतालको सेवाप्रवाह व्यवस्थित, प्रभावकारी र जनमुखी बनाउन आग्रह गरिएको छ ।

यसैगरी बुटवल अन्तराष्ट्रिय सम्मेलन केन्द्रलाई तत्काल सञ्चालनमा ल्याउनुपर्ने, निजी क्षेत्रसंगको समन्वय र सहकार्यमा बुटवलमा रात्रिकालीन बजार सञ्चालनमा ल्याउनुपर्ने सुझाव एमाले बुटवल नगर कमिटीले बुझाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर