सुदूरपश्चिम प्रदेशले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि – Nepal Press

सुदूरपश्चिम प्रदेशले जित्यो प्रधानमन्त्री कप महिला क्रिकेटको उपाधि

विराटनगर । सुनसरीको इटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी २० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि सुदूरपश्चिमले जितेको छ ।फाइनलमा घरेलु टोली प्रदेश १ लाई ६ विकेटले हराउँदै सुदूरपश्चिम पहिलो पटक च्याम्पियन बनेको हो ।

इटहरीको जनता पार्क मैदानमा प्रदेश १ ले १ सय २ रनको लक्ष्य दिएको थियो । सुदूरले १९.५ बलमा ४ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो ।

सुदूरकी कविता जोशी २० बलमा १ चौका र १ छक्का सहित १९ रनमा अविजित रहँदा सम्झना खड्का ३३ बलमा २ चौका सहित २७ रनमा अविजित रहिन ।

डली भट्ट १६ बलमा १ चौका र २ छक्का सहित २२, विन्दु रावल ७, कविता कुवर १२ र रुवि पोदार ८ रनमा आउट भए । प्रदेश १ को लागि सबनम राई, रुविना क्षेत्री, संगिता राई र हिरनमय रायले एक एक विकेट लिए । त्यसअघि टस जितेर पहिला ब्याटिङ थालेको प्रदेश एकले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय १ रन बनाएको थियो ।

प्रतियोगितामा कविता कुवरले विधागत पुरस्कारमा बर्चश्व कायम राखिन् । उनले स्कुटरसँगै प्रमुख दुई अवार्ड जितिन् । कविताले उदयमान खेलाडीको रूपमा सहआयोजक सुनसरी जिल्ला क्रिकेट संघले प्रदान गरेको २ लाख ७० हजार मूल्यको स्कुटर पाइन् ।

कविता प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट ब्याटर समेत भइन । सर्वोत्कृष्ट खेलाडी बापत उनले ३० हजार र ब्याटरको रूपमा २० हजार नगद पुरस्कार पाइन । सुदूरपश्चिमकै मनिषा चौधरी प्रतियोगिता उत्कृष्ट बलर घोषित हुँदै नगद २० हजार पुरस्कार पाइन । विजेता सुदूरले पाँच लाख र उपविजेता प्रदेश १ ले तीन लाख प्राप्त गरेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर