वर्षमान बिरामी हुँदा प्रचण्डलाई कांग्रेससँग नजिक्याउन चलखेल, देव गुरुङ भन्छन्- दायाँबायाँ गर्दैनौं – Nepal Press

वर्षमान बिरामी हुँदा प्रचण्डलाई कांग्रेससँग नजिक्याउन चलखेल, देव गुरुङ भन्छन्- दायाँबायाँ गर्दैनौं

पहिलेकै गठबन्धनमा प्रचण्डलाई फर्काउन जनार्दन शर्मासहित बाबुराम र माधव नेपाल सक्रिय

काठमाडौं । प्रतिनिधिसभाको ठूलो दल नेपाली कांग्रेस अहिले संघदेखि प्रदेशसम्म सरकार बाहिर छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्षमा बसेको कांग्रेसले सत्ता गठबन्धन टुटाउने रणनीति अख्तियार गरिरहेको छ ।

एमालेसहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका प्रचण्डलाई पुरानै गठबन्धनमा फर्काउन कांग्रेसका केही नेता अझै सक्रिय छन् । त्यही रणनीतिलाई अख्तियार गर्दै कांग्रेसले आफू नेतृत्वको गठबन्धन भत्काएर हिँडेका प्रचण्डलाई विश्वासको मत दिएको थियो ।

प्रचण्डलाई आफूहरुले विश्वासको मत दिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई दबाबमा राख्न सकिने कांग्रेसको बुझाइ छ । प्रतिनिधिसभाको लगभग सबै सांसदको विश्वासको मत पाएका प्रचण्ड राष्ट्रिय सहमतिको प्रयासमा छन् । तर, प्रचण्डको प्रयास कस्तो भन्ने खुलेको छ ।

सभामुखको निर्वाचनपछि प्रचण्डले भनेका थिए, ‘राष्ट्रपतिको कुरालाई अझै समय बाँकी छ । सत्ता साझेदार दलहरु र मैले पनि कुनै एउटा समझदारी बनिदिए हुन्थ्यो भन्नेतिर कोसिस छ । हामी त्यो कोसिस जारी राख्छौं ।’

तर, ओलीले एमालेको राष्ट्रपतिको उम्मेदवार राष्ट्रिय सहमति हुनुपर्ने तर्क राखे । प्रचण्डलाई आफ्नो कित्तामा ल्याएर संघदेखि प्रदेशसम्म पार्टीलाई सरकारमा फर्काएका ओली साढे दुई वर्षपछि राष्ट्रपतिदेखि प्रधानमन्त्रीसम्म आफैं हावी हुने रणनीतिमा छन् ।

तर, यही गठबन्धन कायमै रहे आफूहरुलाई अफ्ठ्यारो पर्ने बुझाइका साथ कांग्रेस गठबन्धन टुटाउने खेलमा निरन्तर लागिरहेको छ । गठबन्धन टुटाउन राष्ट्रपति चयनमा पनि प्रयास गर्ने कांग्रेस नेता चन्द्र भण्डारीले बताएका छन् ।

सभामुखको निर्वाचनमा गठबन्धन टुटाउन गरिएको प्रयास सफल नभएको भन्दै उनले अब राष्ट्रपतिलाई मिसन बनाएर अघि बढ्ने भनाइ राखे ।

उनले बिहीबारको संसद बैठकपछि भनेका थिए, ‘हामी चुनावमा गठबन्धनमा थियौं । त्यो गठबन्धन टुट्यो भने अब यो गठबन्धन पनि कसरी टुट्छ भनेर सोच्छ नि ! त्यसकारण मिसन सभामुख थियो । त्यो भएन । अब मिसन राष्ट्रपति पनि हुन्छ । मिसन गठबन्धन टुटाउने हुन्छ । यसमा कुनै शंका नै भएन नि !’

नेता भण्डारीले दाबी गरे झैं कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्कालगायत नेताहरु अझै माओवादीकै संवादमा छन् । कांग्रेस नेतृत्वको गठबन्धन टुटाएर एमालेसँग सत्ता सहकार्यमा पु¥याउने सूत्रधार वर्षमान पुन बिरामी भएर अस्पताल भर्ना भएपछि कांग्रेस नेताहरु थप सक्रिय छन् ।

पार्टीमा हावी हुने जनार्दनको प्रयत्न

प्रचण्डलाई कांग्रेस नेतृत्वको गठबन्धनबाट टुटाएर बालकोट पुर्‍याउन पुनसहित वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र महासचिव देव गुरुङले पनि भूमिका खेलेका थिए ।

तर, अहिले आफूहरु देशको स्थायित्वका लागि यही गठबन्धनलाई नै अगाडि लानुपर्ने पक्षमा रहेको महासचिव गुरुङ बताउँछन् । उनी भन्छन्, ‘प्रधानमन्त्रीजीले राष्ट्रिय सहमतिको प्रयास गर्नुभएको हो । उहाँले विश्वासको मत लिँदा देखियो । तर, सभामुखमा बन्न सकेन । तर, हामी अहिले यही गठबन्धनलाई अगाडि लाने पक्षमा छौं ।’

कांग्रेस नेताहरुले त सत्ता गठबन्धन फुटाउन निरन्तर प्रयास गर्छाैं भनिरहेका छन् । त्यस विषयमा तपाईंहरुसँग केही कुरा भएकोे होला नि भन्ने नेपाल प्रेसको प्रश्नमा उनले भने, ‘कांग्रेसको कुरा कांग्रेसले गर्ला । तर, हामी अहिलेको अवस्थाभन्दा दायाँबायाँ हुने गरी बढेका छैनौं ।’

वर्षमानले प्रचण्डलाई एमाले कित्तामा उभ्याए पनि कांग्रेस सक्रिय भएपछि अर्का उपमहासचिव जनार्दन शर्मा पार्टीमा हावी हुन खोजिरहेका छन् ।

उनी एमालेसँगको सहकार्यभन्दा कांग्रेस नेतृत्वको गठबन्धनलाई निरन्तरता दिनुपर्ने पक्षमा थिए । देउवा नेतृत्वको सरकारमा अर्थमन्त्री रहेका शर्मा देउवाको मात्रै नभएर उनकी पत्नी आरजु राणा देउवाको पनि विश्वासिलो व्यक्तिमा परेका थिए ।

अहिले सरकारबाट बाहिरिएपछि शर्माले पार्टी संगठन निर्माणमा लाग्ने भन्दै विभिन्न छलफल गरिरहेका छन् । पार्टी अध्यक्ष र वरिष्ठ उपाध्यक्ष दुवै सरकारमा भएको मौकामा उनले पार्टीमा हावी हुने रणनीति बनाइरहेका छन् । यसअघि देखि नै शर्मा र पुनबीच पार्टीमा आन्तरिक टकराव छ ।

माओवादीमा अहिले संगठन विभाग गठन भएको छैन । तर, शर्माले आफूलाई संगठन विभाग प्रमुखको रुपमा प्रस्तुत गरिरहेका छन् । यसबीचमा शर्माले देउवासँग पनि छलफल गरेका छन् ।

उनले केपी ओलीसँगको गठबन्धनबाट धोका हुने भन्दै राष्ट्रपतिसमेत एमालेलाई दिँदा पहिलेकै अवस्था आउनसक्ने भन्दै दबाब सिर्जना गरिरहेका छन् ।

वर्षमान बिरामी हुँदा चलखेल

वर्षमान अचानक अस्वस्थ भएर अस्पताल भर्ना भएपछि एमालेका प्रभावशाली नेताहरुले पालैपालो भेटेर स्वास्थ्यलाभको कामनामात्र गरेका छैनन्, प्रचण्डमाथि बाह्य शक्ति र पार्टीभित्रकै अहिलेको गठबन्धनविरोधी नेताहरु हाबी हुनसक्ने आशंकासमेत जनाएका छन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललगायतका नेताहरुले पुनलाई अस्पतालमा गएर भेटेका थिए भने अध्यक्ष ओलीले पनि पुनको स्वास्थ्यबारे चासो राखे । पुनले प्रचण्डलाई कन्भिन्स गर्ने भएकाले पनि उनको सक्रियता आवश्यक देखिएको एमाले नेताहरु बताउँछन् ।

वर्षमान पुन प्रचण्डलाई कांग्रेससँगको सहकार्यबाट बाहिर ल्याउन सक्रिय नेता हुन् । उनीसँग चिनियाँ संस्थापन पक्षले समेत संवाद गरेको छ ।

‘कांग्रेसको प्रयास सफल हुँदैन’

गठबन्धन भत्काउन कांग्रेस सक्रिय भएको बारेमा एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजाल कांग्रेसले सत्ता समीकरणमा पसेर देशलाई अस्थिर बनाउन खोजेको बताउँछन् ।

उनी भन्छन्, ‘राष्ट्रिय सहमति गाँजरको बाँसुरी होइन । मन लाग्दा बजाउने, मन लाग्दा खाने । निर्वाचनपछि राष्ट्रिय सहमति त के, कांग्रेसले सहयात्री दललाई पनि नदिएर राष्ट्रपति र प्रधानमन्त्री दुबै आफैं राख्न खोज्दा गठबन्धन टुटेको होइन र ?’

कांग्रेसले राष्ट्रपतिमा राष्ट्रिय सहमति भन्नुको कुनै तुक नभएको उनको भनाइ छ । ‘अनि यसअघि २०७४ मा विद्या भण्डारी दुईतिहाइ मतसहित पुनः निर्वाचित हुने शतप्रतिशत सुनिश्चित हुँदा पनि कांग्रेसले खोचे थापेर उम्मेदवार उठाएको होइन र ?’ उनको भनाइ छ, ‘समीकरणमा सूँढ घुसाएर देशलाई अस्थिर बनाउने खेलमा कांग्रेस नलाग्दा राम्रो हुन्थ्यो । कांग्रेसले उम्मेदवारी दिएन भने राष्ट्रपति निर्विरोध निर्वाचित हुन्छ, मतदान नै हुँदैन ।’

यस्तै, एमाले सचिव योगेश भट्टराई पनि कांग्रेसको गठबन्धन भत्काउने प्रयास सफल नहुने बताउँछन् ।

बिहीबार प्रतिनिधिसभाको बैठकपछि बोल्दै उनले भनेका थिए, ‘पुस १० गतेबाट बनेको नयाँ राजनीतिक कोर्स पाँच वर्षसम्म जान्छ । कांग्रेसले आफ्नो कोर्स पूरा गर्न नसकेपछि नयाँ कोर्स निर्माण भएको हो ।’

कांग्रेसको प्रायश्चित,जनार्दनको सक्रियता

कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री नदिनू गम्भीर गल्ति भएको महशुस गरिसकेको छ । यो कुरा कांग्रेसका नेताहरुले प्रचण्डलाई बारम्बार भेटेर भनिरहेका छन् । देउवासँगको डिनर बैठकपछि प्रचण्डलाई रामचन्द्र पौडेल,कृष्णप्रसाद सिटौला,पूर्णवहादुर खड्कालगायतका नेताले बारम्बार भेटेर पहिलेकै गठबन्धनमा फर्किन आग्रह गरिरहेका छन् ।

राष्ट्रपति चुनावबाट पहिलेकै कोर्षमा फर्किन उपयुक्त वातावरण बन्ने भन्दै नेताहरु संवादमा छन् । प्रचण्डलाई पाँचै वर्ष प्रधानमन्त्री मान्न कांग्रेस तयार रहेको सन्देश बारम्बार दिइएको छ । यसमा बाबुराम भट्टराई,माधव नेपाल र जनार्दन शर्मा सक्रिय छन् । जनार्दनले त राष्ट्रपति चुनावमा आफूनिकट प्रदेश र संघीय सांसदहरुको क्रस भोट गराइदिनेसम्मको चेतावनी दिइरहेको चर्चा छ ।

माओवादी वृत्तमा पनि एमालेलाई मुख्य संवैधानिक पदहरु दिएपछि प्रचण्डसँग भोलि कुनै कार्ड बाँकी नरहने भन्दै झस्काइरहेका छन् । वर्षमान पुनलगायत केही नेताहरुमात्र जे सहमति हो त्यहि अनुसार नहुँदा माओवादी पार्टीको विश्वसनीयता सकिने र आउने चुनावसम्म यता न उताको भइने भन्दै प्रचण्डलाई नबहकिन भनिरहेका छन् ।

 


प्रतिक्रिया

One thought on “वर्षमान बिरामी हुँदा प्रचण्डलाई कांग्रेससँग नजिक्याउन चलखेल, देव गुरुङ भन्छन्- दायाँबायाँ गर्दैनौं

  1. देउवा र आरजुको विश्वासिलो भएर देश लुटेको जनार्दनले झलझली सम्झिरहेका झन् । उनीलाई फेरि लुटनु छ । माओवादी सखाप नै यिनैले गर्दा हुने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर