राप्रपा सरकारमा गएकोमा पूर्वराजा असन्तुष्ट, झापाको चियाबगानमा ऋषिबाबुसँग यसरी गफिए – Nepal Press

राप्रपा सरकारमा गएकोमा पूर्वराजा असन्तुष्ट, झापाको चियाबगानमा ऋषिबाबुसँग यसरी गफिए

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आफ्नी पत्नी पूर्वरानी कोमलका साथ केही समयदेखि झापामा समय बिताइरहेका छन् । काठमाडौंमा नयाँ सरकार गठन तथा संवैधानिक पदपूर्तिको सरगर्मी चढिरहँदा झापामा रहेको आफ्नो चियाबगानमा पूर्वराजाको फरक खालको दिनचर्या चलिरहेको छ ।

चितवनबाट पर्सा हुँदै पूर्वराजा झापा पुगेका हुन् । उनी सम्भवतः यो महिनाभरि त्यहीँ रहनेछन् । आफ्ना निकटस्थ तथा राजसंस्थाका हिमायतिहरुलाई उनले चियावगानमा बोलाएर दिनहुँ रायसल्लाह लिइरहेका छन् ।

पूर्वराजाको बोलावटमा राष्ट्रिय प्रजाजतन्त्र पार्टीका शीर्ष नेता ऋषिबाबु परियार झापा पुगे । उनले आज बिहान पूर्वराजासँग लामो भेटवार्ता गरेका छन् । करिब डेढ घन्टाको कुराकानीमा देशको समसामयिक राजनीति तथा राप्रपाको वर्तमान भूमिकाका सन्दर्भमा चर्चा-परिचर्चा भएको परियारले बताए ।

राप्रपा अहिले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी भएको विषयमा पूर्वराजा असन्तुष्ट देखिएका छन् । उनले परियारसँग खुलेरै राप्रपा सरकारमा जाने निर्णय उचित नभएको टिप्पणी गरेका थिए ।

पूर्वराजाले परियारलाई भने, ‘तिमीहरु अहिले प्रतिपक्षमै बसेको भए हुन्थेन र ? तिमीहरुलाई सरकारमा जाने म्यान्डेट त जनताले दिएको जस्तो मलाई लाग्दैन ।’

राप्रपाले चुनावमा ल्याएको नतिजाप्रति पूर्वराजाले सन्तोष व्यक्त गरेका थिए । अहिलेको चुनावबाट प्राप्त भएको शक्तिलाई आफ्ना राजनीतिक एजेन्डाको परिपूर्तिमा केन्द्रित गरेको भए हुने उनको सुझाव थियो । राप्रपाले प्रतिपक्षमै बसेर संवैधानिक राजतन्त्र र हिन्दू राष्ट्र पुनस्थापनाको पक्षमा सडक र सदनबाट संघर्ष गर्नुपर्थ्याे भन्ने उनको मनसाय झल्किएको थियो ।

‘मैले कुनै पनि दललाई छुट्याएर कुरा गर्न मिल्दैन । यद्यपी, तिमीहरुले लिएको संवैधानिक राजा र हिन्दू राष्ट्रलाई नै मुल एजेन्डा बनाएर अघि बढेको भए उचित हुन्थ्यो । सरकारमा गइसकेपछि विद्यमान संविधान र संरचना नै स्वीकार गरेको अर्थ लाग्दैन र ? तिमीहरु पुरानो राप्रपाभन्दा भिन्न ढंगबाट आएका छौ तर अहिले फेरि सरकारकै पछि लाग्दा जनताले के भन्छन् ? यसलाई हेक्का राखेर अघि बढेको भए राम्रो हुने थियो ।’

नजानु सरकारमा गइसकेपछि देश र जनताप्रति वफादार भएर काम गर्न पूर्वराजाले सुझाव दिएका थिए ।

यसअघि राप्रपा सरकारमा सहभागी भएकै कारण तत्कालीन राप्रपा अध्यक्ष कमल थापासँग पूर्वराजाको सम्बन्ध चिसिएको थियो । पछिसम्म पनि थापाले पूर्वराजासँग सम्बन्ध सुधार्न सकेनन् । राप्रपाको महाधिवेशनमा पूर्वराजाले आफूलाई हराउन भूमिका खेलेको भन्दै उनी पार्टीबाटै बाहिरिएका थिए । अहिले उनी राजसंस्थाको एजेन्डा त्यागेर राप्रपा नेपाल चलाइरहेका छन् ।

राप्रपाका कार्यसम्पादन समिति सदस्य परियार राजसंस्थासँग पहिल्यैदेखि नजिक रहेका नेता हुन् । उनलाई राजा वीरेन्द्रले राष्ट्रिय सभा सदस्यमा मनोनित गरेका थिए । उनी पछिल्लो समय राप्रपाको उत्पीडित संगठनका संरक्षक छन् । उनले पूर्वराजाको चासो र चिन्ताबारे विषयमा अध्यक्ष राजेन्द्र लिङ्देनसँग आफूले छलफल गर्ने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर