प्रदेश १ मा प्रशासनिक सुधार गर्न कार्यदल गठन, पूर्वसचिव चन्द्र घिमिरे संयोजक – Nepal Press

प्रदेश १ मा प्रशासनिक सुधार गर्न कार्यदल गठन, पूर्वसचिव चन्द्र घिमिरे संयोजक

विराटनगर । प्रदेश १ सरकारको प्रशासन सुधार गर्न पूर्वसचिव चन्द्र घिमिरेको संयोजकत्वमा कार्यदल गठन गरिएको छ ।कार्यदलमा पूर्वसहसचिव बाबुराम पौडेल र प्रदेश १ सरकारका मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका प्रशासन महाशाखा प्रमुख सहसचिव कृष्ण सापकोटा रहेका छन् ।

कार्यदलले प्रदेश सरकारको संरचना र दरबन्दी कस्तो बनाउने, निजामती कर्मचारीलाई कसरी चुस्त दुरुस्त बनाउने, संघीय सरकार र स्थानीय तहबीच कसरी समन्वय गर्ने भन्ने विषयमा सुझाव दिनेछ ।

यस्तै कार्यदलले प्रदेशको राजश्वको दायरा कसरी बढाउने र यसको कार्ययोजनाको बारेमा समेत सुझाब दिने प्रदेश १ का विनाविभागीय मन्त्री भक्ति सिटौलाले बताए ।

कार्यदलले दुई महिनाभित्र प्रदेश सरकारलाई प्रतिवेदन बुझाउनेछ ।

मन्त्रिपरिषद् बैठकले १३ बाट घटाएर नौ वटा मन्त्रालय बनाउन प्रदेश १ सरकार कार्य विभाजन नियमावली र प्रदेश १ सरकार कार्य सम्पादन नियमावली २०७९ स्वीकृतसमेत गरेको छ ।

कार्य विभाजन नियमावली र सम्पादन नियमावली स्वीकृत भएसँगै प्रदेश १ मा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आन्तरिक मामिला तथा कानून, सडक पूर्वाधार तथा शहरी विकास, स्वास्थ्य, उद्योग कृषि तथा सहकारी, सामाजिक विकास र पर्यटन वन तथा वातावरण मन्त्रालय रहने भएको छ ।

यसअघि कायम रहेका यातायात व्यवस्था तथा सञ्चार, उद्योग श्रम तथा रोजगार, पर्यटन तथा संस्कृति र भूमि व्यवस्था सहकारी र गरिबी निवारण मन्त्रालय खारेज भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर