आयोगमा उपाध्यक्ष नहुँदा आगामी बजेटको सिलिङ तयार गर्न ढिलाइ – Nepal Press

आयोगमा उपाध्यक्ष नहुँदा आगामी बजेटको सिलिङ तयार गर्न ढिलाइ

काठमाडौ । राष्ट्रिय योजना आयोगमा नयाँ सरकार गठन भएसँगै भंग भएको पदाधिकारी टिम अहिले पनि रिक्त छ । आयोगमा उपाध्यक्ष नभएपछि आगामी बजेटका लागि बस्नुपर्ने प्रिबजेट बैठकसमेत प्रभावित बनेको आयोगका एक अधिकारीले बताएका छन् । राष्ट्रिय स्रोत अनुगमन समितिको बैठक उपाध्यक्ष नहुँदा बस्न सकेको छैन । यो बैठक बसेर माघ १५ भित्र स्रोत तथा खर्चको अनुमान गर्नुपर्ने कानुनी व्यवस्था छ ।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व सम्बन्धी ऐनको दफा सातमा योजना आयोगले अर्थ मन्त्रालयसँगको समन्वयमा मध्यमकालीन खर्च संरचना र आगामी बजेट र कार्यक्रम तर्जुमा गर्न आगामी तीन वर्षमा उपलब्ध हुने स्रोत र खर्चको सिमा पूर्वानुमान माघ १५ गतेभित्र गरिसक्नुपर्ने उल्लेख छ ।

तर आज माघ ६ गतेसम्म पनि उपाध्यक्षको पद रिक्त छ । आयोगका उपाध्यक्षको संयोजकत्वमा एक राष्ट्रिय स्रोत अनुमान समिति रहनेछ । सो समतिले अनुमान गरेको स्रोत तथा खर्चको आधारमा रहेर माघ मसान्त्भित्र सम्बन्धित मन्त्रालय, आयोग तथा निकायमा पठाउनुपर्ने प्रावधान छ ।

बैठक बसेर माघभरमा तयारी गरिसक्नुपर्ने कानुनी व्यवस्था भएपनि अहिलेसम्म उपाध्यक्षकै टुङ्गो नलाग्दा प्रभावित बनेको आयोगका एक अधिकारीले बताए ।

आयोगले प्रदेशलाई कति पठाउने, स्थानीय तहलाई कति पठाउने, मन्त्रालयहरुलाई कति सिलिङ दिने भन्ने विषय टुंग्याउनुपर्ने हुन्छ । टेक्निकल कमिटीको बैठक भने सचिवको अध्यक्षतामा एक पटक बसेको ती अधिकारीले बताए ।

आयोगको उपाध्यक्ष, अर्थसचिव, राजस्व सचिव, वित्त आयोगको सचिव र महालेखा नियन्त्रक कार्यालयको महालेखा नियन्त्रक बसेर स्रोत अनुमान तयार गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर