प्रदेशदेखि केन्द्रका संवैधानिक र राजनीतिक मुख्य पदमा झापालीको वर्चश्व – Nepal Press

प्रदेशदेखि केन्द्रका संवैधानिक र राजनीतिक मुख्य पदमा झापालीको वर्चश्व

काठमाडौं । विसं २०२८ सालमा भएको झापा विद्रोहको चर्चा अहिले पनि उस्तै छ । त्यतिवेला झापा आन्दोलनको नेतृत्व गर्नेमध्येका एक हुन् एमाले अध्यक्ष केपी शर्मा ओली ।

दुई पटक देशको प्रधानमन्त्री बनिसकेका ओली अहिले देशको नेतृत्वदायी भूमिकामै स्थापित छन् । उनीमात्रै नभएर देशको संघदेखि प्रदेश केन्द्रका संवैधानिक र राजनीतिक मुख्य पदमा अहिले झापालीको वर्चश्व देखिएको छ ।

कम्युनिष्ट आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउन झापा विद्रोहले महत्वपूर्ण भूमिका खेलेको छ । त्यसलाई नेकपा एमालेको उद्गम आन्दोलनको रुपमा लिइन्छ । प्रतिनिधिसभाको सभामुख र उपसभामुखदेखि नेपालका मुख्य राजनीतिक दलको नेतृत्व पनि झापाकै छन् ।

सत्ता गठबन्धनबाट बिहीबार सभामुख निर्वाचित एमालेका देवराज घिमिरे पनि झापाकै हुन् । उनी झापा २ बाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए ।

सभामुख घिमिरे झापा अर्जुनधारा नगरपालिका- ६ का बासिन्दा हुन् । उनी एमाले प्रदेश १ का अध्यक्षसमेत थिए । तर, सभामुखमा निर्वाचित भइसकेपछि उनले दलीय जिम्मेवारीबाट राजीनामा दिएका छन् ।

यस्तै उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीले अघि सारेकी इन्दिरा रानामगर पनि झापाकै हुन् । सत्ता गठबन्धनको साझा उम्मेदवार भएकाले इन्दिराको जीत निश्चित छ ।

रास्वपाले उनलाई आदिवासी महिलातर्फबाट प्रतिनिधिसभामा समानुपातिक सांसद बनाएको थियो । उनी बाल अधिकार तथा समाज सेवाका क्षेत्रमा सक्रिय व्यक्ति हुन् । इन्दिरा बीबीसीको उत्कृष्ट प्रेरणादायी महिलाको सूचीमा समेत परेकी थिइन् । उनी बन्दी सहायता नेपालकी संस्थापक अध्यक्षसमेत हुन् ।

यस्तै प्रतिनिधिसभाको दोस्रो ठूलो दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पनि झापाकै हुन् । दुई पटक प्रधानमन्त्री भइसकेका ओली एमाले संसदीय दलका नेता पनि हुन् । उनी झापा ५ निर्वाचित भएका थिए ।

विस २०२२ सालमा कम्युनिष्ट राजनीतिमा लागेका ओलीले २०२६ सालमा नेपाल कम्युनिष्ट पार्टीको सदस्यता लिएका थिए । विसं २०२८ सालको झापा आन्दोलनमा उनले सशक्त भूमिका खेलेका थिए ।

सात दलीय गठबन्धनबाट सरकारको नेतृत्वमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भए पनि सरकारको उच्चस्तरीय राजनीतिक संयन्त्रको नेतृत्व भने ओलीले गरिरहेका छन् ।

कतिपयले प्रधानमन्त्री प्रचण्ड भए पनि सरकारको रिमोट ओलीको हातमा भएको टिप्पणी गर्ने गरेका छन् । नेपाली राजनीतिको माहिर खेलाडीको रुपमा ओली स्थापित छन् ।

यस्तै प्रतिनिधिसभाको पाँचौं दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेन पनि झापाकै हुन् ।

राप्रपा संसदीय दलको नेतासमेत रहेका लिङदेन प्रचण्ड सरकारको उपप्रधान तथा ऊर्जामन्त्री बनेका छन् । उनी झापा हल्दिबारी गाउँपालिका- १ का बासिन्दा हुन् ।

यस्तै राष्ट्रियसभा एमाले संसदीय दलका नेता देवेन्द्र दाहाल पनि झापाकै हुन् ।

प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि झापाकै हुन् । प्रतिनिधिसभामा झापा १ बाट निर्वाचित शर्मा कांग्रेस पार्टी र राष्ट्रिय राजनीतिमा सक्रिय छन् ।

त्यस्तै प्रदेश १ का मुख्यमन्त्री हिक्मत कार्की पनि झापाकै हुन् । मुख्यमन्त्री कार्की झापा ५ (१) बाट प्रदेशसभामा निर्वाचित भएका हुन् ।

मुख्यमन्त्री कार्कीमात्रै नभएर विपक्षी दलको नेता उद्धव थापा पनि झापाबाटै निर्वाचित हुन् । उनी कांग्रेस प्रदेश १ को सभापतिको समेत जिम्मेवारीमा छन् ।

यसैगरी प्रदेश १ को राप्रपा संसदीय दलको नेता भक्ति सिटौला पनि झापाकै हुन् । सिटौला झापा ४ (२) बाट प्रदेशसभामा निर्वाचित हुन् ।

राप्रपा प्रदेश १ को अध्यक्ष राम थापा पनि झापाकै हुन् । उनी अहिले झापाको दमक नगरपालिकाका मेयर छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर