चिकित्सक संघको चुनाव- विकृत विरासतको निरन्तरता कि परिवर्तनको लागि क्रमभंग ? – Nepal Press

चिकित्सक संघको चुनाव- विकृत विरासतको निरन्तरता कि परिवर्तनको लागि क्रमभंग ?

२० जना चिकित्सकबाट विक्रम संवत् २००७ मा स्थापना भएको नेपाल चिकित्सक संघले २९ औँ अधिवेशन गर्दैछ । नेपाली चिकित्सकहरूको छाता संगठन नेपाल चिकित्सक संघको नयाँ नेतृत्वका लागि यतिबेला चिकित्सकहरू चुनावी मैदानमा छन् ।

उपत्यकाबाहिर माघ ६ र ७ गते तथा उपत्यकाभित्र माघ १९, २० र २१ गते दुई चरणमा हुने संघको निर्वाचनमा तीन वटा प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।

डा. सन्तोष पौडेलको नेतृत्वमा पेशागत समावेशी समूह, डा.अनिलिविक्रम कार्की नेतृत्वको लोकतान्त्रिक समूह, र डा. शिवजी सिलवालको स्वतन्त्र समूह चुनावी मैदानमा छ । यी तीनवटै समूहले पेसागत हकहित र सुरक्षाको मुल अजेण्डा बनाएर देशभरका चिकित्सकहरूसँग मत मागेका छन् ।

बौद्धिक वर्गको पेसागत संगठन भए पनि नेपाल चिकित्सक संघमात्र यस्तो संस्था हो जहाँ इतिहासमै लोकतन्त्रवादी चिकित्सक अर्थात कांग्रेस पार्टीमा आबद्ध डाक्टरबाहेक अरुले जितेका छैनन् । स्थापनादेखि अहिलेसम्म नेपाल चिकित्सक संघ कांग्रेसको भ्रातृ संगठन जस्तो भएको आरोप चिकित्सकहरूले नै लगाउँदै आएका छन् ।

सामान्यतः कांग्रेसले यस्ता पेशागत संगठनहरूमा निरन्तर आफ्नो पराजय हुँदा समानान्तर संगठनहरू खोल्ने गरेको छ । उदाहरणको लागि शिक्षक संगठन, कर्मचारी संगठनहरूको इतिहास हेर्ने हो भने नेपाली कांग्रेसले आफ्नो पक्ष नेतृत्वमा नआउँदा अलग पेशागत संगठन खोलेको छ ।

कम्तीमा वामपन्थी र गैरकांग्रेस चिकित्सकले स्थापनाकालदेखि सधैँ हारिरहे पनि समानान्तर संगठन खोलेका छैनन् । बरु यो संस्थाको गरिमा जोगाउन आफ्नो पक्षबाट सधैँ साथ सहयोग गरेका छन् । यसअर्थमा कांग्रेसले धन्यवाद दिनुपर्छ उनीहरूको धैर्यको लागि ।

यो पटक पनि लोकतान्त्रिक समूहबाट अध्यक्षका उम्मेदवार डा. कार्की लोकतान्त्रिक समूहको जित निश्चित हुनेमा ढुक्क छन् । इतिहासमै सधैँ लोकतान्त्रिक प्यानलका चिकित्सकले जित्ने भएर पनि उनी ढुक्क रहेको अड्कल काट्न सकिन्छ ।

प्रगतिशील वामपन्थी समावेशी समूहबाट अध्यक्षका उम्मेदवार डा. पौडेल चिकित्सकहरू चिकित्सक संघमा नेतृत्व परिवर्तनको पक्षमा रहेको मनोविज्ञान क्यास गर्दै इतिहास रच्न चाहान्छन् । चिकित्सक संघलाई एउटै पार्टीको भातृ संगठन र घरानीयाहरूको इलाइट क्लबबाट यो संस्था मुक्त गर्न चाहन्छन् पौडेल ।

त्यस्तै स्वतन्त्र उम्मेदवार डा. शिवजीविक्रम सिलवालले यसअघिका नेतृत्व संघमा एकलौटी चलेको, डाक्टरको हितमा काम नगरेको भन्दै परिवर्तनको आवाज बनेर स्वतन्त्र उम्मेदवारी दिएको बताएका छन् । उनलाई कांग्रेसको बागी प्यानल मानिएको छ ।

चिकित्सक संघको निर्वाचनलाई लिएर केही चिकित्सकहरूको टिप्पणी आक्रोशित छ । उनीहरू भन्छन्- एउटा स्वतन्त्र पेशागत संगठनको नेतृत्व गरिन्छ भने त्यो नेतृत्वमा रहँदासम्म नेतृत्व पनि स्वतन्त्र रहनुपर्छ । तर, बिडम्बना नेपाल चिकित्सक संघ कांग्रेस पार्टीबाट नै सञ्चालित भएको भान हुन्छ ।

चिकित्सक सम्मानित बौद्धिक वर्ग हो तर त्यही वर्गको संगठनमा चरम राजनीति घुसेको भन्दै संघप्रति ५० प्रतिशत चिकित्सकहरू असन्तुष्ट छन् । त्यसैले यसपटक चिकित्सक संघको चुनावमा ‘नो नट अगेन’ अभियानसमेत चलेको देखिन्छ । यसपटक परिवर्तन चाहनेहरूले गत संसदीय चुनावमा घण्टी बजाएजस्तै डाक्टरहरूले परिवर्तनको पक्षमा घण्टी जाउलान् ? यो चाहिँ अनुत्तरित प्रश्न छ ।

चिकित्सकलाई आफ्नो पेशागत संगठनले पेसागत हकहित र पेशागत सुरक्षामा दरिलो आवाज उठाउन नसकेको कारण पनि पेशाप्रति नै निरास बनाएको छ । चिकित्सक संघको नेतृत्वमा पुग्नेहरूले आफ्नो व्यक्तिगत फाइदा र पार्टीको लागिमात्र काम गरेको आरोपको सामना गर्नुपरेको छ ।

नेपाल मेडिकल काउन्सिलमा ३२ हजार हाराहारीमा चिकित्सक दर्ता छन् तर नेपाल चिकित्सक संघमा आबद्ध चिकित्सक संख्या १२ हजार ८ सय ३४ मात्र रहेको छ । बाँकी चिकित्सक आफ्नो छाता संगठनमा अहिलेसम्म नजोडिनुको कारण चिकित्सक संघप्रतिको चरम असन्तुष्टि र यसको राजनीतिकरण नै हो ।

चिकित्सक संघले भोट डाइलुसन हुने हेतुले नयाँ सदस्यता प्रदान गर्दा समेत आफ्नो प्यानललाई भोट आउने चिकित्सकहरूलाई मात्रै सदस्यता वितरण गर्ने गरेको कारण हरेक निर्वाचनमा एउटै प्यानलका चिकित्सक निर्वाचन हुने गरेको जिल्लाका केही चिकित्सकको आरोप छ । इतिहास हेर्दा सधैँ कांग्रेसलेमात्र जित्नुको पछाडि यो लजिकले काम गरेको हुनसक्छ ।

यद्यपि चिकित्सक संघका पदाधिकारी भने यो आरोप अस्वीकार गर्छन् । चिकित्सक संघको सदस्यता अनलाइनबाटै लिन सकिने हुँदा प्रक्रिया पुर्‍याएर सदस्यता लिन सकिने बताउँछन् । चिकित्सक संघमा सधैँ कांग्रेसनिकट चिकित्सकले जित्नुको कारण आफुहरूले गरेको चिकित्सक हितका कामहरू नै भएको दाबी पदाधिकारीको छ ।

एकातिर चिकित्सक संघप्रति चिकित्सकहरूको चरम असन्तुष्टि देखिनु, अर्कोतर्फ सधैँ एउटै धारको प्यानलले जित्नुमा पनि चलखेलले काम गरेको आरोप सत्यनजिक छ । एउटै समूहले आफ्नो कब्जामा संस्था राखेर त्यसको दोहन गर्नु अवश्य पनि आम चिकित्सकहरूको हितमा छैन ।

नेपाल चिकित्सक संघको अध्यक्ष नेपाल मेडिकल काउन्सिलको पनि पदेन सदस्य रहन्छ । त्यसकारण नीतिगत तहदेखि पेशागत सुरक्षा हकहितमा पनि चिकित्सक संघको भूमिका फराकिलो छ । त्यस्तै अन्तर्राष्ट्रियस्तरमा पनि नेपाली चिकित्सकको स्तरवृद्धि गर्न सक्ने भूमिका, विभिन्न तालिमहरू सहभागीता जनाउन पाउने हुन्छ । तर, संघ एउटा पार्टीको भ्रातृ संगठनजस्तो मात्र हुँदा चिकित्सकहरूलाई आफ्नै छाता संगठनले समेत विभेद गरेको अनुभव नवोदित चिकित्सकहरूले गरिरहेका छन् ।

डाक्टर भन्नेवित्तिकै आम जनता विशेषगरी विरामीले भगवान्‌स्वरूप मान्छन् र यो पेशाको ठूलो इज्जत छ । चिकित्सक संघलाई यो पेशामा आबद्ध पेशाकर्मीको हकहित, सम्मान र नवोदित पुस्तालाई अघि बढाउने साझा संस्थाको रूपमा विकास गर्नुपर्नेमा त्यसो हुन नसक्नुले संस्थाको औचित्यमाथि प्रश्न उठेको छ ।

चुनावी नतिजा जे जस्तो आउला, तर अब आउने नेतृत्वले पेशागत सुरक्षा तथा हकहितको लागि साझा बनेर काम गर्न सक्नुपर्छ । विकृत विरासतलाई सच्याएर संस्थालाई सबै डाक्टरहरूको आकर्षण र भरोसाको केन्द्र बनाउन क्रमभंग गर्न सक्नुपर्छ यो निर्वाचनले ।

सबै चिकित्सकहरूलाई शुभकामना ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर