रियाद अल स्टार्सविरुद्ध पीएसजीको जित, मेसी र रोनाल्डो दुवैले गरे गोल – Nepal Press

रियाद अल स्टार्सविरुद्ध पीएसजीको जित, मेसी र रोनाल्डो दुवैले गरे गोल

काठमाडौं । मैत्रिपूर्ण खेलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)ले साउदी अरबको रियाद अल स्टार्स ११ लाई ५–४ गोलको नतिजामा पराजित गरेको छ ।

सम्भवत सक्रिय खेल जिवनमा अन्तिम पटक एकअर्का विरुद्ध खेलेका लियोनेल मेसी र क्रिस्टियानो रोनाल्डो दुवैले यस खेलमा गोल गरे । रोनाल्डोले दुई गोल गरे भने मेसीको नाममा एक गोल रहयो । मेसीले खेलको दोस्रो मिनेटमा गोल गर्दै पीएसजीलाई अग्रता दिलाएका थिए ।

खेलको ३१औं मिनेटमा पीएसजीका गोलकिपर किलोर नाभासले रियाद ११ का कप्तान रोनाल्डोलाई १८ यार्ड बक्सभित्र फाउल गरेपछि पाएकाे पेनाल्टीलाई सदुपयोग गर्दै रोनाल्डोले ३४औं मिनेटमा बराबरी गोल फर्काएका थिए ।

लेफ्ट ब्याक जुवान बर्नाटले ३९औं मिनेटमा रातोकार्ड पाएपछि पीएसजी १० खेलाडीमा सिमित भएको थियो । किलियन एम्बाप्पेको क्रसमा गोल गर्दै मार्किन्योसले खेलको ४२औं मिनेटमा पुनः पीएसजीलाई अग्रता दिलाएका थिए ।

पहिलो हाफको इन्जुरी समयमा नेइमार पेनाल्टीमा चुक्दा पीएसजीले अगता फराकिलो पार्ने अवसर खेर फालेको थियो । पहिलो हाफको इन्जुरी समयमै रोनाल्डोले पुनः बराबरी गोल फर्काउँदै खेललाइ २–२ को स्थितिमा ल्याएका थिए ।

सर्जियो रामोसले ५३औं मिनेटमा गोल गदै पीएसजीलाई ३–२ को अग्रता दिलाए । त्यसको तीन मिनेट नबित्दै रियाद ११ का हेयोन सो जाङले गोल गर्दै खेललाई ३–३ को बराबरीमा ल्याए ।

एम्बाप्पेले ६०औं मिनेटमा पेनाल्टी मार्फत पीएसजीका लागि चौथो गोल गरे । हुगो इकिटिकीले ७८औं मिनेटमा गोल गर्दै पीएसजीको अग्रता ५–३ बनाएका थिए ।

रियाद ११ का एन्डर्सन टालिस्काले खेलको इन्जुरी समयमा गोल गर्दै खेललाई ५–४ को स्थितीमा ल्याएका थिए ।

त्यसपछि थप गोल हुन सकेन । पीएसजीले लिएको अग्रतालाई बचाई राख्यो र ५–४ को नतिजामा जित निकाल्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर