इतिहासदेखि सबै सभामुख पोल्टामा पारेको कांग्रेस गणतन्त्रपछि संघदेखि प्रदेशसम्म नील – Nepal Press

इतिहासदेखि सबै सभामुख पोल्टामा पारेको कांग्रेस गणतन्त्रपछि संघदेखि प्रदेशसम्म नील

काठमाडौं । सत्ता गठबन्धनबाट नेकपा एमालेका देवराज घिमिरे प्रतिनिधिसभाको सभामुख निर्वाचित भए । अबको पाँच वर्ष उनले देशका तीन अंगमध्येको एक अंग व्यवस्थापिकालाई नेतृत्व गर्नेछन् ।

सभामुख पद संसदको अध्यक्षता गर्ने स्वतन्त्र र गैरराजनीतिक संवैधानिक पद हो । संसद नीति निर्माण गर्ने थलो भएकाले संसदको कामकारबाही स्वच्छ, पारदर्शी र स्वतन्त्र रुपमा सञ्चालन गर्न सभामुखको भूमिका महत्वपूर्ण हुन्छ । तर, संसदमा सभामुखको भूमिका स्वतन्त्र नभएको र पूर्वपार्टीको स्वार्थअनुसार कार्यसम्पादन गर्ने गरेको भन्दै वेलावेलामा सभामुख बन्ने व्यक्तिको आलोचना पनि हुने गरेको छ ।

नेपालको संसदीय इतिहासमा अहिलेसम्म ८ जनाले सभामुखको ११ कार्यकालको नेतृत्व गरेका छन् । बिहीबार भएको सभामुखको निर्वाचनमा एमालेबाट उम्मेदवारी दिएका घिमिरे निर्वाचित भएसँगै उनी संसदको १२औं सभामुखमा बनेका हुन् । उनी नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै जीत हात पार्न सफल भए ।

हालसम्म कुन पार्टीबाट को-को भए सभामुख ?

अहिलेसम्मको इतिहास हेर्दा सभामुखमा एमाले, कांग्रेस र माओवादी गरी तीन दलले बाँडचुड गरेको देखिन्छ । यी तीन दल बाहिरबाट अहिलेसम्म कोही सभामुख बनेका छैनन् ।

हालसम्म नेपाली कांग्रेसबाट चार जना सभामुख बनेका छन् । कांग्रेसले गणतन्त्र स्थापना हुनुपूर्व सभामुखका चार कार्यकाल चलाएको थियो । तर, गणतन्त्र स्थापनापछि भने उसले सभामुखको एउटा कार्यकाल पनि चलाउन पाएको छैन । गणतन्त्रपछिका सबै सभामुख गुमाउँदै कांग्रेस नील भएको छ । आफ्ना उम्मेदवार उठाउँदा जीत हात पार्न नसक्ने भएपछि कांग्रेसले कुनै वेला अरु दलका उम्मेदवारलाई समर्थन गर्ने गरेको छ ।

नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङले सभामुखको सर्वाधिक चार कार्यकाल नेतृत्व गरेका छन् । अहिले घिमिरे सभामुखमा निर्वाचित भएसँगै एमाले प्रतिनिधिसभाको सभामुखमा सर्वाधिक पाँच कार्यकाल नेतृत्व गर्ने पार्टी बनेको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रले तीन कार्यकाल नेतृत्व गरेको छ । उसले नयाँ सविधान जारी भएपछिका लगातार तीन कार्यकाल सभामुख पाएको हो ।

यी हुन् अहिलेसम्मका सभामुख

कृष्णप्रसाद भट्टराई

नेपाली कांग्रेसबाट सभामुख बनेका कृष्णप्रसाद भट्टराई नेपालको पहिलो संसदका पहिलो सभामुख हुन् । उनको कार्यकाल विसं २०१६ असार १९ देखि २०१७ पुस १ गतेसम्म मात्र रह्यो । २०१७ साल पुस १ गते राजा महेन्द्रले जननिर्वाचित सरकार अपदस्थ गरेपछि उनी प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालासँगै बन्दी बनेका थिए ।

२०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि दुई पटकसम्म प्रधानमन्त्री बनेका भट्टराई कार्यकाल सकिएपछि छाता र सुराही बोकेर प्रधानमन्त्री निवासबाट निस्किएका थिए । भट्टराईको २०६७ साल फागुन १० गते निधन भएको थियो ।

दमननाथ ढुंगाना

नेपाली कांग्रेसबाटै सभामुख बनेका दमननाथ ढुंगानाले विसं २०४८ असार ९ २०५१ साल असोज १५ गतेसम्म संसदको नेतृत्व गरेका थिए । २०४८ सालमा काठमाडौंबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित उनी एकमात्र कांग्रेस उम्मेदवार हुन् । कानूनका ज्ञातासमेत रहेका ढुंगाना बहुदलपछिको पहिलो संसदका पहिलो सभामुख बन्न सफल भए ।

उनी अहिलेसम्मका सभामुखमध्ये सबैभन्दा कम आलोचित र निष्पक्ष भूमिकाका लागि चिनिन्छन् । त्यसवेलाको प्रतिपक्षी दल एमालेले समेत उनको भूमिकाको प्रशंसा गरेको थियो ।

रामचन्द्र पौडेल

विसं २०५१ सालको मध्यावधि चुनावमा तनहुँ २ बाट सांसद निर्वाचित रामचन्द्र पौडेलले सभामुखको रुपमा विसं २०५१ पुस ३ देखि २०५५ चैत ९ गतेसम्म संसदको नेतृत्व गरे । कांग्रेस संसदमा दोस्रो पार्टी बनेको अवस्थामा पनि उनी सभामुख बन्न सफल भएका थिए ।

पौडेल हालसम्म पनि कांग्रेस पार्टीबाट सक्रिय राजनीतिमा छन् । गएको मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा तनहुँ १ बाट निर्वाचित उनी अहिले राष्ट्रपतिका आकांक्षी हुन् ।

तारानाथ रानाभाट

नेपाली कांग्रेसबाट सभामुख बनेका तारानाथ रानाभाटले विसं २०५६ असार ९ देखि २०६३ बैशाख १५ गतेसम्म संसदको नेतृत्व गरे । नेपालमा गणतन्त्रको स्थापना भएसँगै उनको सभामुखको कार्यकाल पनि समाप्त भयो ।

रानाभाट सभामुखको भूमिकामा रहँदा नेपालमा राजदरवार हत्याकाण्ड भएको थियो । उक्त हत्याकाण्डको अनुसन्धान गर्न बनाइएको तीन सदस्यीय छानबिन समितिमा रानाभाट पनि थिए । सो समितिको अनुसन्धानले चित्तबुझ्दो निष्कर्ष निकाल्न सकेन । रानाभाट अहिले राष्ट्रिय राजनीतिमा गुमनाम छन् ।

सुवासचन्द्र नेम्वाङ

नेकपा एमालेबाट सभामुख बनेका सुवासचन्द्र नेम्वाङले नेपालमा गणतन्त्र स्थापना भएपछि लगातार चार कार्यकाल संविधानसभाको अध्यक्षता गरे । पहिलो पटक २०६३ बैशाख ३० देखि माघ १ गतेसम्म सभामुख बनेका उनले दोस्रो कार्यकालमा २०६३ माघ ३ देखि २०६५ साल जेठ १४ सम्म संविधानसभाको नेतृत्व गरे ।

उनको तेस्रो कार्यकाल २०६५ साउन १२ देखि २०६९ साल जेठ १४ गतेसम्म रह्यो । त्यस्तै उनको चौथो कार्यकाल २०७० फागुन ६ देखि २०७२ साल असोज २७ गतेसम्म रह्यो ।

नयाँ संविधान जारी भएसँगै उनले पदबाट राजीनामा दिएका थिए । हाल उनी एमाले उपाध्यक्षका रुपमा राजनीतिमा सक्रिय छन् । उनी गएको मंसिर ४ मा सम्पन्न संसदीय निर्वाचनमा इलाम २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

ओनसरी घर्ती

ओनसरी घर्ती माओवादी केन्द्रकी पहिलो सभामुखमात्र नभएर नेपालकै पहिलो महिला सभामुख हुन् । नयाँ संविधान जारी भएपछिको पहिलो सभामुख भएकी उनले २०७२ असोज २९ देखि २०७४ साल असोज २९ गतेसम्म संसदको नेतृत्व गरिन् ।

त्यसअघि उनी सविंधानसभामा उपसभामुख पनि भएकी थिइन् । गत संसदीय निर्वाचनमा काठमाडौं क्षेत्र नं २ मा पराजित उनी माओवादी केन्द्रबाट सक्रिय राजनीतिमा छिन् । माओवादी नेता वर्षमान पुन ओनसरीका श्रीमान हुन् । पुन अहिले रोल्पाबाट फेरि प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

कृष्णबहादुर महरा

संविधान जारी भएपछिको पहिलो निर्वाचित संसदको सभामुख बनेका कृष्णबहादुर महराले २०७४ फागुन २७ देखि २०७६ असोज १४ गतेसम्म संसदको नेतृत्व गरे । तत्कालीन नेकपा एमाले र माओवादीको समर्थनमा सभामुख बनेका उनले संसद सचिवालयमै कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोग लागेपछि पदबाट राजीनामा दिएका थिए ।

पुर्पक्षका लागि थुनामा समेत गएका महरालाई पछि अभियोग दाबी नपुगेको भन्दै काठमाडौं जिल्ला अदालतले सफाई दिएको थियो । महरा अहिले नेकपा माओवादी केन्द्रका उपाध्यक्ष छन् ।

अग्निप्रसाद सापकोटा

कृष्णबहादुर महराले सभामुखबाट राजीनामा दिएपछि रिक्त रहेकोे पदमा तत्कालीन नेकपाको तर्फबाट अग्निप्रसाद सापकोटा सभामुख भएका थिए । २०७६ माघ १२ गते सभामुख निर्वाचित भएका उनको कार्यकाल गत असोज १ गते समाप्त भएको थियो । हाल उनी माओवादी केन्द्रबाट राजनीतिमा सक्रिय हुने तयारीमा छन् ।

देवराज घिमिरे

बिहीबार भएको सभामुखको निर्वाचनमा एमालेका तर्फबाट उम्मेदवारी दिएका देवराज घिमिरे निर्वाचित भएसँगै उनी संसदको १२ औं सभामुख बनेका छन् । उनले नेपाली कांग्रेसबाट उम्मेदवार बनेकी ईश्वरी न्यौपानेलाई पराजित गर्दै जीत हात पारेका हुन् ।

एमालेका पुराना नेता भए पनि घिमिरेले लो-प्रोफाइलमा रहेर राजनीति गर्दै आएका थिए । पार्टीमा केपी ओलीको वर्चश्व सुरु भएपछि घिमिरेका दिन खुलेका छन् । उनी ओलीका विश्वास पात्रका रुपमा चिनिन्छन् ।

प्रदेशसभामा पनि नेपाली कांग्रेस गयल

गणतन्त्र नेपालको संघीय सदनमा मात्रै होइन सातै वटै प्रदेशसभाका सभामुखमा पनि नेपाली कांग्रेस गयल भएको छ । कांग्रेसले कुनै पनि प्रदेशसभाको सभामुख पाउन सकेको छैन ।

२०७४ सालको चुनावपछि प्रदेश नम्बर १ का सभामुख नेकपा एमालेका प्रदीपकुमार भण्डारी भए । अहिले दोस्रो सभामुखमा नेकपा माओवादी केन्द्रका बाबुराम गौतम निर्वाचित भएका छन् ।

मधेस प्रदेशमका प्रथम सभामुख जसपाका सरोज यादव भएका थिए । अहिले नयाँ सभामुखमा नेकपा एमालेका रामचन्द्र मण्डल निर्वाचित भएका छन् ।

बाग्मती प्रदेशको प्रथम सभामुख नेकपा एमालेका सानुकुमार श्रेष्ठ भएका थिए । नयाँ सभामुखमा राप्रपाका भुवन पाठक निर्वाचित भएका छन् ।

गण्डकी प्रदेशका प्रथम सभामुख नेकपा माओवादी केन्द्रका नेत्रराज अधिकारी थिए । अहिलेका नयाँ सभामुख पनि नेकपा माओवादी केन्द्रकै कृष्णप्रसाद धिताल छन् ।

लुम्बिनी प्रदेशका प्रथम सभामुख नेकपा माओवादी केन्द्रका पूर्ण घर्ती भएका थिए । अहिले नयाँ सभामुखमा तुलाराम घर्ती चयन भएका छन् । उनी पनि माओवादीकै हुन् ।

कर्णाली प्रदेशमा राजबहादुर शाही प्रथम सभामुख थिए । अहिले नयाँ सभामुखमा नेकपा एमालेकी नन्दा गुरुङ निर्वाचित भएकी छन् ।

यस्तै सुदूरपश्चिम प्रदेशका प्रथम सभामुख नेकपा एमालेका अर्जुन थापा थिए । नयाँ सभामुखमा नेकपा माओवादी केन्द्रका भीमबहादुर भण्डारी चयन भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर