रुपन्देही प्रशासनले सुरु गर्‍यो सेवाग्राहीका लागि टाइम कार्ड – Nepal Press

रुपन्देही प्रशासनले सुरु गर्‍यो सेवाग्राहीका लागि टाइम कार्ड

रुपन्देही । सेवाग्राहीको सुविधाका लागि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले बिहीबारदेखि टाइम कार्ड सुरु गरेको छ । जिल्ला प्रशासन कार्यालयबाट उपलब्ध हुने सेवामा सहजता बनाउन टाइम कार्ड सुरु गरिएको प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले बताए ।

नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, राष्ट्रिय परिचय पत्र तथा राहदानीका लागि टाइम कार्ड सुरु गरिएको पाण्डेले जानकारी दिए ।

सेवाग्राहीलाई समय नै तोकेर सेवा दिने र तोकेकै समयभित्र काम गर्नेगरी टाइम कार्डको योजना बनाइएको प्रजिअ पाण्डेले बताए । यसअघि पनि बडापत्रमा लेखिएअनुसार सोही दिन नै सेवा दिइरहेका थियौं, तर सेवाग्राहीले कतिबेला काम सम्पन्न हुन्छ भन्ने अन्यौलता भइरहने र दिनभर कार्यालयमा बसिरहनु पर्ने हुन्थ्यो । तर अब टाइम कार्ड सुरु भएपछि सबै प्रकृया पुराई आएका कागजातहरुलाई निश्चित समय नै तोकेर बोलाइने छ- पाण्डे भने ।

जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकताको हकमा सबै प्रकृया पुर्याएर १२ बजेभित्र पेश भएका निवेदकहरुलाई १ बजेभित्र र दिउसो १२ बजेदेखि ३ बजेसम्म पेश हुन आएका निवेदकहरुलाई ४ बजे भित्र नागरिकता प्रदान गरिने छ ।

नागरिकता प्रतिलिपिको हकमा प्रमाण पुर्याएर पेश भएका निवेदकहरुलाई अभिलेख भिडेको १ घण्टाभित्र प्रतिलिपि दिइने छ । यस्तै अनलाइन फारम भरेर राष्ट्रिय परिचय पत्रका लागि आएका निवेदकले पनि १ घण्टाभित्रै सेवा पाउने अर्यालले दाबी गरे ।

ई-पासपोर्टको लागि आउने सेवाग्राहीहरु प्रि-ईनरोलमेन्टको फारम भरेर आएकाहरुको तोकिएको दिन र समयमै इनरोलमेन्ट हुने र केन्द्रबाट प्राप्त भएका ई-पासपोर्टहरु टोकन प्रणाली अनुसार सोही दिन समय तोकेर बितरण हुने अर्यालले बताए । सेवाग्राहीको लागि टाइमकार्ड सुरु गरे पनि गर्भवती महिला, अपाङ्गता भएका ब्यक्ति र जेष्ठ नागरिकलाई भने टाईम कार्ड नचाहिने कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर