मेड इन नेपाल एक्स्पो सकियो, उत्कृष्ट ‘आवर क्लोजेट’ले पायो एक लाख – Nepal Press

मेड इन नेपाल एक्स्पो सकियो, उत्कृष्ट ‘आवर क्लोजेट’ले पायो एक लाख

भरतपुर । चितवन महोत्सवसँगै मेड इन नेपाल एक्स्पो २०७९ पनि सकिएको छ । नेपाली युवा उद्यमी मञ्च चितवनले १४औँ संस्करणको चितवन महोत्सव परिसरमा एक्स्पोको आयोजना गरेको थियो । एक्स्पोमा नेपाली उत्पादन तथा सेवाका ४० वटा स्टल रहेका थिए, जसमा १० वटा स्टल स्टार्टअप बिजनेशका थिए ।

नेपाली उत्पादन तथा सेवाको प्रबद्र्धन गर्ने उद्धेश्यले एक्स्पोको आयोजना गरिएको हो । यसअघि दुई पटक भएका चितवन महोत्सवमा पनि मञ्चले एक्स्पोको आयोजना गरेको थियो । मेड इन नेपाल एक्स्पो चितवन महोत्सवकै आकर्षकका रुपमा रहेको थियो । एक्स्पोमा स्टल राखेका १० वटा स्टार्टअप व्यवसायीबीच मञ्चले प्रतिस्पर्धा पनि गराएको थियो ।

प्रतिस्पर्धामा उत्कृष्ट बनेको ‘आवर क्लोजेट’ले एक लाख रुपैयाँ प्राप्त गरेको छ । आवर क्लोजेटकी सञ्चालक डा। सन्ध्या कँडेलले आफ्नो व्यवसायको बारेमा दिएको प्रस्तुतीका आधारमा मंगलबार उत्कृष्ट घोषणा गरिएको थियो । बुधबार एक्स्पोको समापन समारोहमा मञ्चका संस्थापक अध्यक्ष निर्देश सेढाईले आवर क्लोजेटका प्रतिनिधिलाई एक लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।

प्रतिस्पर्धाको निर्णायकमा नेपाली युवा उद्यमी मञ्चका केन्द्रिय सदस्य एवम् चितवनका पूर्व अध्यक्ष कृष्ण प्रसाद सापकोटा, मञ्चका सदस्य एवम् सिए निशान पौडेल र सिए विशाल भट्टराई रहेका थिए । पुरस्कारको लागि मञ्चका पूर्व अध्यक्ष सापकोटाले उक्त रकम उपलब्ध गराएका हुन् ।

आवर क्लोजेटले महिला, पुरुष र बच्चाहरुले लगाउने कपडा भाडामा उपलब्ध गराउने गरेको छ । विवाह तथा विभिन्न पार्टीमा लगाउने महंगा कपडा भाडामा उपलब्ध गराइने र त्यसबापत निश्चित शुल्क लिइने सञ्चालक कँडेलले बताइन् ।

दन्तरोगकी चिकित्सक कँडेलले कोरोना महामारीका बेला यो व्यवसाय सुरुवात गरेकी हुन् । महामारीमा दन्तरोगको उपचार ठप्प जस्तै भएकाले समयको सदुपयोग गर्दै अनलाइनमार्फत कपडा भाडामा उपलब्ध गराउने व्यवसायको सुरुवात गरेकी उनी बताउँछिन् । १० लाख रुपैयाँको लगानीमा सुरु गरेको व्यवसायको विभिन्न शहरमा शाखासमेत स्थापना भइसकेको छ ।

बुधबार एक्स्पोको समापन गर्दै नेपाली युवा उद्यमी मञ्च चितवनका अध्यक्ष सूर्यभक्त अधिकारीले नेपाली उत्पादनको प्रबद्र्धन गर्न मञ्चले एउटा प्लेटफर्म तयार गरेको बताए । नेपाली उत्पादनसँगै स्टार्टअप व्यवसायको बजारिकरण गर्न आगामी दिनमा अझ उत्कृष्ट कार्यक्रम ल्याउने उनले प्रतिबद्धता व्यक्त गरे । मञ्चको सदस्यमा ६१ जना युवा उद्यमी जोडिएको छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर