आज मधेसमा बलिदानी दिवस मनाइँदै, सहिदको सपना अधुरै – Nepal Press

आज मधेसमा बलिदानी दिवस मनाइँदै, सहिदको सपना अधुरै

जनकपुरधाम । आज माघ ५ गते । मधेस प्रदेशमा आज १६ औँ बलिदानी दिवस मनाइँदै छ । १६ वर्ष अगाडी अर्थात् आजकै दिन (०६३ माघ ५ मा) पहिलो मधेश आन्दोलनका क्रममा सिरहाको लहानमा रमेश महतो सहिद भएका थिए ।

मधेश आन्दोलनका उनै पहिलो सहिद महतोको सम्झनामा हरेक वर्ष मधेश केन्द्रित दलहरूले बलिदानी दिवस मनाउँछ । प्रदेश सरकारले आज बलिदानी दिवसको अवसरमा सार्वजनिक बिदा पनि दिएको छ । लहानस्थित सहिद पार्कमा मधेसका मन्त्री र मधेसी दलका नेताहरू माल्यार्पण गर्ने कार्यक्रम छ ।

कसरी मारिए रमेश महतो ?

दोस्रो जनआन्दोलनको सफलतापछि ०६३ माघ १ मा अन्तरिम संविधान जारी भयो । उक्त संविधानप्रति तत्कालीन मधेसी जनअधिकार फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव विमति जनाए । यादवको नेतृत्वमा काठमाडाैंको माइतीघर मण्डलामा माघ ३ मा अन्तरिम संविधान जलाइयो ।

त्यति बेला यादवसहितका केहि नेता पक्राउ परेका थिए । उनीहरूमाथि सार्वजनिक अपराध मुद्दा चलाउने तयारी भइरहँदा मधेसका जिल्लाहरूमा आन्दोलन सुरु भयो । ठाउँ ठाउँमा राजमार्ग अवरुद्ध पारियो ।

लहानमा कृष्णबहादुर यादव (निधन भइसकेका)को नेतृत्वमा राजमार्ग केन्द्रित आन्दोलन सुरु भएको थियो । जनयुद्धबाट शान्ति प्रक्रियामा आएको माओवादीका जनमुक्ति सेनाहरू चढेको केहि गाडी पूर्वबाट पश्चिततर्फ गइरहेको थियो । उक्त गाडीलाई आन्दोलनकारीले रोक्यो, अगाडी बढ्न दिएनन् । अनि अवस्था तनावग्रस्त बन्यो ।

सो आन्दोलनमा लहानकै लिटिल स्टार बोर्डिङ स्कूलको कक्षा ९ मा अध्ययनरत रमेश महतो पनि सहभागी थिए । जनमुक्ति सेनाहरूले आन्दोलनलाई बेवास्ता गर्दै अगाडी बढ्न खोज्दा ढुङ्गामुडा भयो । सो क्रममा एक जनमुक्ति सेनाले भीडमै गोली चलायो र रमेश महतो मारिए ।
गोली लागेर महतो मारिएपछि माओवादी नेताहरूले उनको शव नै बेपत्ता पारेको थियो । शव बेपत्ता पार्न मातृका प्रसाद यादव नेतृत्व गरेका थिए । त्यति बेला मधेशमा उनको व्यापक विरोध भयो । एक त गोली हानेर हत्या गर्‍यो र शव पनि बेपत्ता पारेको खबरले मधेसभर आगो झैँ फैलियो आन्दोलन ।

आन्दोलनकारीले लहानमै सयौँ सवारी साधन र सरकारी कार्यालयहरूमा आगजनी गरे । सरकारी कार्यालयहरूमा त्यति बेला नै मधेश सरकार लेखियो । उक्त आन्दोलन १९ दिनसम्म चल्यो । सो आन्दोलनमा महतोसहित ६४ जना सहिद भए । त्यसपछि पनि भएको पटक पटकको मधेश आन्दोलनमा १७ जना सहिद भएको सरकारी तथ्यांक छ ।

पहिलो मधेश आन्दोलन १९ दिनसम्म चलेपछि मधेसी मोर्चा र तत्कालीन सरकारबीच आठ बुँदे सम्झौता भयो । उक्त सम्झौतापछि मुलुक संघीयतामा गएको हो । मुलुकमा संघीयता र समावेशिता मधेस आन्दोलनकै देन हो– मधेसी नेताहरू बताउँछन् ।

पहिलोपटक मुलुकको मूल कानुनमा संघीयता भन्ने शब्द मात्रै थपिएन, मधेसीको पहिचानसमेत कायम भयो, सरकारी दस्ताबेजहरूमा मधेसी शब्दले स्थान पायो । रमेश महतोको सहादत प्राप्त गरेको दिन माघ ५ बाट सुरु भएको आन्दोलनले मधेसीको पहिचान र मुलुकलाई संघीयतामा लगेको भन्दै यो दिनलाई ‘बलिदानी दिवस’का रूपमा मनाउँदै आएको छ ।

सहिदको सपना अधुरै

मधेस आन्दोलनको बलमा संस्थाका रूपमा रहेको मधेसी जनअधिकार फोरम एउटा पार्टीको रूप लियो । अध्यक्ष उपेन्द्र यादव मधेसका मसिहा कहलिए । ०६४ को संविधानसभामा पहिलो पटक सहभागिता भएको उक्त पार्टीबाट ५४ जना सांसद निर्वाचित भए ।

मधेश आन्दोलनकै बेलामा धेरै नेताले सत्ताको स्वाद चाहे । अहिलेसम्म मधेश आन्दोलनलाई भजाउने काम भइरहेको छ । तर सहिद र मधेसी जनतालाई देखाएको सपना अझै पुरा हुन सकेको छैन । त्यस बेला उठाइएको अधिकांश मुद्दा ओझेलमा परेका छन् ।

सत्ताकै खेलमा लागेका कारण उपेन्द्र यादव नेतृत्वको पार्टी पटक पटक विभाजन भयो । जसका कारण मधेश आन्दोलन कमजोर भएको छ । आत्म निर्णयको अधिकार, जनसंख्याको आधारमा निर्वाचन क्षेत्र, नागरिकता लगायतको मुद्दाहरू ओझेलमा परेको छ । मधेसको मुद्दाहरू पुरा हुन नसक्नुमा नेताहरू नै दोषी रहेको वरिष्ठ पत्रकार दिनेश्वर गुप्ताको आरोप छ ।

उनी भन्छन्, ‘मधेसी जनता अझै अनेकौँ बेथितिको सिकार छन् । यतिसम्म कि सहिद परिवारसँगै पनि विभेद भएको छ । ५० लाखको लोभ देखाएर आन्दोलन गर्न लगायो । तर अहिले रोजगारी समेत दिन सकिएको छैन ।’ सत्ता स्वार्थकै कारण मधेसी नेताहरूलाई चुनावमा हराएर जनताले सबक सिकाएको उनको भनाई छ ।

मधेश केन्द्रित दलहरू एकजुट भएर अगाडी नबढे सहिदका सपनाहरू पुरा नहुने पत्रकार गुप्ताको तर्क छ । उनी भन्छन्, ‘देशमा गणतन्त्र र संघीयता त आयो । तर त्यसको अनुभूति मधेसी जनताले गर्न सकेका छैन । यसका लागि मधेश केन्द्रित दलहरू पुनः एकजुट हुन जरुरी छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर