डा. सन्दुक रुइतले पाएको इसा अवार्डबारे ६ प्रश्नोत्तर – Nepal Press

डा. सन्दुक रुइतले पाएको इसा अवार्डबारे ६ प्रश्नोत्तर

काठमाडौं । डा. सन्दुक रुइतले इसा अवार्ड पाएसँगै यसबारे नेपालमा पहिलोपटक सार्वजनिक वृत्तमा चर्चा सुरु भएको छ । १३ करोड रुपैयाँ हाराहारीको अवार्ड मानवताको सेवाको लागि डा. रुइतलाई प्रदान गरिएसँगै नेपालमा यस अवार्डको चर्चा एकाएक बढेको हो ।

विश्व स्वास्थ्य संगठनसमेत अवार्ड रेसमा हुँदा डा. रुइत विजेता हुनुले अवार्डको महत्व झनै बढाएको छ । इसा अवार्ड पाउने डा. रुइत तेस्रो दक्षिण एसियाली हुन् ।

यो सामग्रीमा ६ प्रश्नोत्तरमा इसा अवार्डको बारेमा सामान्य चर्चा गरिएको छ ।

१. इसा अवार्ड कसले कहिले स्थापना गरेको हो ?

इसा अवार्ड बहराइन अधिराज्यले स्थापना गरेको अन्तर्राष्ट्रिय अवार्ड हो । यो अवार्ड सन् २००९ मा स्थापना भएको हो । यसको स्थापनाको जस बहराइनका राजा हमाद बिन इसा खालिफालाई जान्छ । उनैको नाम ‘इसा’बाट अवार्डको नामकरण भएको हो ।

कूरानमा पटकपटक प्रयोग भएको इसा शब्दको अर्थ ‘भगवानको उद्दार’ भएको बताइन्छ । कतै कतै इसाको अर्थ ‘जिजस’ भन्ने पनि लेखिएको पाइन्छ । इसा अवार्ड मानवताको सेवाको लागि प्रदान गरिने यसको आधिकारिक वेबसाइटमै ट्यागलाइनबाटै जानकारी गराइएको छ ।

२. इसा अवार्ड पहिलोपटक कहिले प्रदान गरिएको थियो ?

इसा अवार्ड पहिलोपटक सन् २०१३ मा प्रदान गरिएको थियो । पहिलो अवार्ड पनि चिकित्सकले नै पाएका थिए । मलेसियाकी डा. जमिला महोमदले प्रथम अवाड पाएकी थिइन् । उनले विपत् व्यवस्थापन र राहत कोटाबाट अवार्ड पाएकी थिइन् ।

३. डा. रुइत अगाडि अवार्ड पाउनेहरु को को हुन् ? के के विषयमा पाएका थिए ?

डा. सन्दुक रुइत इसा अवार्ड पाउने पाँचौं व्यक्तित्व हुन् । पहिलो अवार्ड पाएकी डा. जमिला महोमदबारेमा माथिल्लो प्रश्नोत्तरमै चर्चा गरिएको छ । दोस्रो अवार्ड पाएका थिए भारतका अच्युता सामान्तले । उनी प्रतिष्ठित भारतीय सामाजिक कार्यकर्ता तथा शिक्षा क्षेत्रमा काम गर्ने दिग्गज हुन् ।

गरिबीको मारका रहेकाहरुलाई सहयोग गरेको र शैक्षिक संस्थाहरुको छाता संस्था स्थापना गरेको भन्दै उनलाई दोस्रो अवार्ड प्रदान गरिएको थियो । भारतका आदिवासी जनजातिका सन्ततिहरुलाई स्तरीय शिक्षा प्रदान गर्न सक्रिय अच्युताले दोस्रो अवार्ड सन् २०१५ मा पाएकी थिइन् ।

तेस्रो इसा अवार्ड सन् २०१७ मा प्रदान गरिएको थियो । यो अवार्ड भने व्यक्ति नभएर संस्थालाई दिइएको थियो । ‘अस्पताल ५७३५७’ नामले परिचित इजिप्टको बाल क्यान्सर अस्पतालले उक्त अवार्ड पाएको थियो । अस्पताल सञ्चालनको दशकमा ७२ प्रतिशतको बचाउदर भएको भन्दै उक्त अवार्ड प्रदान गरिएको थियो ।

चौथो इसा अवार्ड सन् २०१९ मा प्रदान गरिएको थियो । पाकिस्तानको इदी फाउन्डेसनले यो अवार्ड पाएको थियो । अब्दुल सतार इदीको नाममा बनेको फाउन्डेसनले पाकिस्तानमा ३३० केयर सेन्टर खोल्दै संकटमा परेकाहरुलाई सहयोग, राहत र उद्धार गरेको भन्दै अवार्ड प्रदान गरिएको थियो ।

४. इसा अवार्ड कुन कुन क्षेत्रमा प्रदान गरिन्छ ?

इसा अवार्ड मूलतः ११ क्षेत्रमा प्रदान गरिँदै आएको छ । यी क्षेत्रहरु हुन्ः

  • विपत रोकथाम र राहत
  • शिक्षा
  • सामुदायिक सेवा
  • सभ्यताहरुबीचको संवाद
  • मानवीय सहिष्णुता
  • अन्तर्राष्ट्रिय शान्ति
  • शहरी विकास
  • वातावरण र जलवायु परिवर्तन
  • विशेष नवप्रवर्तन
  • गरिबी निवारण
  • अन्य सम्बन्धित क्षेत्रहरु

५. अवार्ड लिन आवेदन दिनुपर्छ कि पर्दैन ?

इसा अवार्ड पाउन आवेदन दिनुपर्छ । आवेदकहरु व्यक्ति वा संस्था जो भए पनि हुन्छ । अवार्ड प्रदान गरिने मूलतः ११ क्षेत्रका व्यक्ति तथा संस्थाले आवेदन दिन सक्छन् । आवेदन दिएको पैसा भने लाग्दैन । अवार्डको आवेदन भर्दा सबै एकभन्दा धेरै क्षेत्रमा भने भर्न पाइन्न ।

खास क्षेत्र तोकेरमात्रै भर्न पाइने अवार्डको आधिकारिक वेबसाइटमा उल्लेख गरिएको छ । आवेदन भरिसकेर पनि पछि फिर्ता गर्न पनि पाइन्छ । त्यसको लागि सचिवालयलाई लिखित निवेदन गर्नुपर्ने हुन्छ । अवार्ड भर्नेको उमेर कम्तिमा १८ वर्ष पुगेको हुनुपर्छ । आवेदन अरबी वा अंग्रेजीमा भर्नुपर्ने हुन्छ ।

आवेदन दिएपछि निर्णायकहरुले छनोट गरेका व्यक्तिहरु परियोजनाको स्थलगत अवलोकनमै आउने गरेको इसाको वेबसाइटले जानकारी दिएको छ ।

६. इसा अवार्ड कति चर्चित छ ?

धेरै दाम भएको इसा अवार्ड धेरै चर्चित भने छैन । डा. सन्दुक रुइतले पाएको इसा अवार्डको समाचार अरबिक, नेपाली तथा केही अन्य देशका मिडियामा बाहेक अन्त आएको छैन । बहराइन बाहिर संयुक्त अरब इमिरेटको गल्फ न्यूज, साउदी अरेबियाको अरब न्यूजमा समाचार आए पनि अरब क्षेत्रकै विश्व च्यानल अलजजिराले इसा अवार्डको समाचार बनाएको देखिँदैन । बीबीसी, सीएनएन, गार्जियन आदि मिडियाहरुमा समेत अवार्डको समाचार प्रकाशन भएको छैन ।


प्रतिक्रिया

One thought on “डा. सन्दुक रुइतले पाएको इसा अवार्डबारे ६ प्रश्नोत्तर

  1. भर्खरै त शुरु भएको रहेछ अनि कति मुलुकमा त थाहा नै छैन अनि कहाँ बाट चर्चित हुन्छ त?

Leave a Reply

Your email address will not be published. Required fields are marked *