खुन डाँकामा १० वर्ष जेल बसेका रोमन काठमाडौंको शृंखलाबद्ध डकैतीमा संलग्न – Nepal Press

खुन डाँकामा १० वर्ष जेल बसेका रोमन काठमाडौंको शृंखलाबद्ध डकैतीमा संलग्न

काठमाडौं । शृंखलाबद्ध डाँका तथा संगठित अपराध मुद्दामा फरार रहेका एक व्यक्तिलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रेको तिमालका ३२ वर्षीय रोमन भन्ने मनराज तामाङ छन् । उनी खुन डाँका मुद्दामा १० वर्ष जेल बसेर छुटेका व्यक्ति हुन्। २०६८ कात्तिकमा मनराजसहितको समूहले ललितपुरको झरुवारासीमा डाँका गर्न जानेक्रममा गोली हानी एक व्यक्तिको हत्या गरेको थियो । जेलबाट छुटेपछि पनि मनराज डकैतीमा संलग्न रहेको प्रहरीको दाबी छ ।

उनीसहितको समूहले गत २०७९ असार ६ गते राति काठमाडौं शंखरापुर नगरपालिका-९ खुलालटारस्थित घरबाट करिब २ लाख ४१ हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको, २०७९ असार १२ गते सोही ठाउँस्थित घरबाट करिब ६ लाख ५ हजार ७ सय ५० रुपैयाँ बराबरको धनमाल डकैती गरेको, २०७९ असार २० गते राति काभ्रेपलाञ्चोक बनेपा नगरपालिका-११ स्थित घरबाट करिब १२ लाख ४९ हजार रुपैयाँ बराबरको धनमाल डकैती गरेको, २०७९ साउन २४ गते राति कीर्तिपुर नगरपालिका-६ स्थित घरबाट करिब ५६ लाख ६५ हजार १ सय २४ रुपैयाँ बराबरको धनमाल डकैती गरेको प्रहरीले बताएको छ ।

मनराजमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *