मेनपावर व्यवसायीको चुनावी मैदानमा ४ वटा प्यानल : एमाले र कांग्रेसको सिंगल, गठबन्धनमा माओवादी-नेकपा एस – Nepal Press

मेनपावर व्यवसायीको चुनावी मैदानमा ४ वटा प्यानल : एमाले र कांग्रेसको सिंगल, गठबन्धनमा माओवादी-नेकपा एस

कुन प्यानलबाट को-को छन् उम्मेदवार ? (नामावलीसहित)

काठमाडौं । वैदेशिक रोजगार व्यवसायीहरूको छाता संगठन नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा चुनावी सरगर्मी बढेको छ । शुक्रबार (६ गते) तय गरिएको चुनावमा आगामी नेतृत्वका लागि ४ वटा प्यानल बनाएर आकांक्षी लागेका छन् । विभिन्न प्यानलबाट अध्यक्षदेखि सदस्यसम्म गरी ५६ जनाले उम्मेदवारी दिएका छन् ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका अध्यक्ष राजेन्द्र भण्डारीले अध्यक्षको उम्मेदवारी दिएका छन् । त्यस्तै नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनका अध्यक्ष कुमुद खनाल, संघका पूर्वद्वितीय अध्यक्ष भुवनसिं गुरुङ, र वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चका सल्लाहकार डा. ईश्वर जिसीले पनि अध्यक्षको रेसमा छन् ।

एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्चबाट राजेन्द्र भण्डारी नेतृत्वको व्यवसायिक समूह चुनावी मैदानमा उत्रिएको छ । यस प्यानलमा अध्यक्षसहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र १० जना सदस्य गरी १७ जनाको टीम बनेर चुनाव मैदानमा गएको छ । सो टीमले विभिन्न २२ बुँदे चुनावी एजेण्डासहित सो समूह मैदानमा उत्रिएको हो ।

भण्डारीले सरकारले एकतर्फीरूपमा वैदेशिक रोजगारसम्बन्धी नीति नियम लागू सबै व्यवसायीलाई समस्या परेको बताए ।

उनले भने, ‘वैदेशिक रोजगारी पुनरुत्थानसँगै । सुरक्षित वैदेशिक रोजगारी र विनाकसुर व्यवसायीलाई दु:ख दिने क्रम बढ्दै गएकाले त्यसलाई रोक्न मेरो टीमको उम्मेदवारी हो ।’

भण्डारीको प्रथम उपाध्यक्षमा डिकबहादुर खत्री, द्धितीय उपाध्यक्षमा सञ्जु गुरुङ, र तृतीय उपाध्यक्षमा रोसन कटवालले मनोनयन दर्ता गराएका छन् ।

त्यस्तै, महासचिवमा मिलन कट्टेल, सचिवमा राजेन्द्र अधिकारी र कोषाध्यक्षमा सरिता घलेले उम्मेदवारी दिएका छन् । भने, अन्य १० जनाले सदस्यमा उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेस समर्थित मेनपावर व्यवसायीको छाता संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको कुमुद खनालको प्यानलबाट प्रथम उपाध्यक्षमा किशोरकुमार केसी, द्वितीय उपाध्यक्षमा अख्तर हुसेन, तृतीय उपाध्यक्षमा सञ्जय पनेरु, महासचिवमा मेघनाथ भुर्तेल, सचिवमा कर्णराज कटुवाल र कोषाध्यक्षमा हिमा गुरुङले उम्मेदवारी दिएका छन् । भने, ८ जनाले सो टीमबाट सदस्यमा उम्मेदवारी दिएका छन् ।

अध्यक्षका उम्मेदवार खनालले अहिले प्रतिवर्ष थोरैमा पनि १ सय जना कामदर विदेश नपठाए मेनपावर कम्पनीको लाइसेन्स नै खारेज हुने प्रावधान रोक्नका लागि आफ्नो उम्मेदवारी रहेको बताए ।

माओवादी केन्द्र र एकीकृत समाजवादीनिकट व्यवसायीको पनि संयुक्त प्यानल घोषणा गरेर चुनावमा गएका छन् ।

डा. ईश्वर जिसी नेतृत्वको यो टीममा प्रथम उपाध्यक्षमा धनलाल जैसी, द्वितीय उपाध्यक्षमा बाबुराम खड्का र तृतीय उपाध्यक्षमा अनिल बोगटीको मनोनयन छ । महासचिवमा मधुकर रिजाल, सचिवमा टक्करबहादुर पाख्रिन र कोषाध्यक्षमा केदारनाथ अधिकारीले उम्मेदवारी दिएका छन् । सदस्यमा १० जना रेसमा छन् ।

जिसीले वैदेशिक रोजगारीलाई सम्मानित र पुस्तान्तरणको मुद्दा टीमको योजना रहेको उनको भनाइ छ ।

संयुक्त लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायीको तर्फबाट भुवनसिंह गुरुङको अध्यक्षको उम्मेदवारीसहित प्यानल घोषणा भएको छ । एमालेबाहेकका विभिन्न दलमा आवद्ध सदस्यहरू मिलेर छुट्टै प्यानल खडा गरेका हुन् ।

सो टीमबाट अध्यक्षको उम्मेदवार भुवनसिंह गुरुङ, द्वितीय उपाध्यक्षमा महमद जबार दिन मियाँ, तृतीय उपाध्यक्षमा मोहनकुमार ढुंगेल, सचिवमा प्रेम लावती, कोषाध्यक्षमा हिरादेवी बुढाथोकी र सदस्यमा अन्य २ जनाले उम्मेदवारी दिएका छन् ।

अध्यक्षका उम्मेदवार गुरुङले आफ्नो टीमको उम्मेदवारी व्यवसायलाई सुरक्षित र मर्यादित बनाउने आफ्नो एजेण्डा रहेको बताए । ४ वटै प्यानलबाट अध्यक्षदेखि सदस्यसम्ममा उम्मेदवारी दिएका उम्मेदवारहरु मेनपावर व्यवसायी हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर