२०५८ सालमा सेनाले मर्‍यो भनी छाडेकी यशाेदा बनिन् कर्णालीकी उपसभामुख – Nepal Press

२०५८ सालमा सेनाले मर्‍यो भनी छाडेकी यशाेदा बनिन् कर्णालीकी उपसभामुख

सुर्खेत । कर्णाली प्रदेशसभाको उपसभामुखमा नेकपा माओवादी केन्द्रकी यशोदा न्यौपाने निर्वाचित भएकी छन् । बुधबार प्रदेशसभामा भएको निर्वाचनमा २५ मत ल्याएर न्यौपाने उपसभामुखमा निर्वाचित भएकी हुन् । उनलाई नेकपा एमालेका १०, माओवादी केन्द्रका १३ र राप्रपा तथा एकीकृत समाजवादीको एक-एक मत पाएकी हुन् ।

न्यौपाने समानुपातिक सांसद हुन् । कर्णाली प्रदेशसभामा ४० सदस्य छन् । जसमध्ये ३८ जनाको उपस्थिति रहेको थियो ।

को हुन् उपसभामुख न्यौपाने ?

न्यौपाने २०४० साल असोज ३ गते जुम्ला तातापानी गाउँपालिका- ४ हाँकुमा जन्मेकी हुन् । उनका बुवा धनञ्जय र आमा धनरुपमा न्यौपानेहुन् । दुई दाजुपछि जन्मेकी न्यौपानेका एक भाइ छन् ।

उनले २०५३ सालबाट राजनीतिक यात्रा सुरु गरेकी थिइन् । २०५३ देखि २०५६ सालसम्म नेकपा एमालेमा संगठित न्यौपाने २०५७ साल बैशाख ३ गतेदेखि नेकपा माओवादीमा आवद्ध भएकी थिइन् । उनी सुरुमा माओवादी समर्थित अखिल क्रान्तिकारीमा आवद्ध भएकी थिइन् ।

माओवादी विद्यार्थी संगठनमै लाग्दा २०५७ साल असोजमा उनको विवाह भयो । कालिकोटको खाडाचक्र नगरपालिका- ८ का लक्ष्मीप्रसाद चौलागाईंसँग उनको विवाह भएको थियो । चौलागाईं नेकपा माओवादी कालिकोटका जिल्ला संयोजक हुन् । उनकी एउटी छोरी छन् ।

२०५८ सालमा उनी माओवादी समर्थित महिला संघकी जिल्ला सचिव र पार्टीको एरिया सेक्रेटरी थिइन् । त्यस्तै किसान संगठनको व्युरो सदस्य रहेको न्यौपानेले बताइन् । २०५९ सालमा भूमिगत भएपछि कालिकोट, जुम्ला, कास्की, म्यादी, तनहुँ र गोर्खामा रहँदा जनमुक्ति सेनाको कमाण्डरको भूमिका निभाएको उनी बताउँछिन् ।

एमालेमा छँदा कलाकारको भूमिका निभाएको बताउने उनी मरे मृत्यु, बाँचे मुक्ति भनेर माओवादीको राजनीतिमा लागेको बताउँछिन् । महिलाहरुमाथि हुने हिंसाको विरोध, राम्रो महिला शिक्षा र स्वास्थ्यको लागि आफू राजनीतिमा सक्रिय बनेको न्यौपाने बताउँछिन् ।
आफू सानोमा सबैसँग मिलनसार व्यवहार गर्ने, समाज सेवा गर्नुपर्छ भन्ने भावना रहेको र महिलाले केही गरेर देखाउनुपर्छ भन्ने सोच रहेको उनको भनाइ छ ।

एमालेभन्दा माओवादी क्रान्तिकारी स्पष्ट विचारधारा र सिद्धान्त भएको पार्टी भएको जिकिर गर्दै उनले माओवादी आन्दोलनमा लागेपछि आफूसँगै जनताका इच्छा-आंकाक्षा पूरा गर्न सकिन्छ भनेर अठोट लिएको बताइन् ।

माओवादी जनयुद्धमा लाग्दा धेरै सशस्त्र लडाइँमा सहभागी भएको उनले सुनाइन् । जसमध्ये अछाम सदरमुकाम मंगलसेन आक्रमणमा आफूलाई नेपाली सेनाले मर्‍यो भनी छाडेर गएको स्मरण गरिन् । त्यसवेला नेपाली सेनाले छाडेर नगएको भए आज यो अवस्थासम्म आइनपुग्ने न्यौपानेको भनाइ छ ।

‘मंगलसेन हानिसकेपछि २०५८ सालमा नेपाल आर्मीले २५ राउण्ड गोली हानेपछि मर्‍यो भनेर छोडेको थियो’, न्यौपानेले थपे, ‘तर, म भाग्यबस बाँचेको थिएँ । यस्ता घटना त कति छन् कति । तर, सबैभन्दा भुल्न नसक्ने क्षण यसैलाई लिन्छु । त्यसवेला मैले पुनर्जन्म पाएको थिएँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर