राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षकमा मोन्टी देसाइ कि ह्वाटमोर ? क्यानले दुई दिनमा टुंग्याउने – Nepal Press

राष्ट्रिय क्रिकेट टीमको प्रशिक्षकमा मोन्टी देसाइ कि ह्वाटमोर ? क्यानले दुई दिनमा टुंग्याउने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टीममा रिक्त मुख्य प्रशिक्षकको शुक्रबारसम्ममा टुंगो लगाउने भएको छ । मुख्य प्रशिक्षकका लागि आवेदन दिएकामध्ये भारतीय प्रशिक्षक मोन्टी देसाइ र अष्ट्रेलियाका देव ह्वाटमोर क्यानको प्राथमिकतामा रहेको स्रोतले बतायो ।

मुख्य प्रशिक्षक पदका लागि झण्डै ३ दर्जनले आवेदन दिएका थिए । तीमध्ये पाँच जनालाई सर्टलिस्टमा राखेर क्यानले अन्तिम छनोटको तयारी गरेको हो । भारतीय प्रशिक्षक मोन्टी देसाई, अष्ट्रेलियाका देव ह्वाटमोर श्रीलंकाका धम्मिका प्रसाद र दुई इङलिस प्रशिक्षक क्यानको सर्ट लिस्टमा छन् ।

पाँचजनामध्ये मुख्य प्रशिक्षकको जिम्मेवारी मोन्टी देसाइ र ह्वाटमोरमध्ये एकजनाले पाउने सम्भावना रहेको स्रोतको भनाइ छ । उनीहरुमध्ये पनि देसाइको सम्भावना उच्च छ ।

ह्वाटमोरले दुई वर्षअघि नेपाली मुख्य प्रशिक्षकको जिम्मेवारी सम्हालेका थिए । एक वर्षको सम्झौतामा नेपाल अएका उनले क्रिकेट टीममा सकारात्मक परिवर्तनहरु ल्याएका थिए । क्रिकेट टीमले उत्कृष्ट लय समातिरहेका बेला ह्वाटमोर नेपाली टीमबाट अचानक राजिनामा दिएर भारतको घरेलु बरोडा क्रिकेट टिममा अनुबन्ध भएर गए ।

ह्वाटमोरको राजीनामापछि नेपाललाई टी-२० विश्वकपसम्म पुर्याएका पुवुदु दसानायकेलाई दोस्रो इनिङका लागि क्यानले मुख्य प्रशिक्षकका रुपमा भित्र्यायो । खेलाडीहरुको आन्तरिक विवाद, क्यानसँगको विवाद र विभिन्न कारणले पुवुदुको दोस्रो कार्यकाल प्रभावकारी हुन सकेन । पुवुदुको कार्यकालमै दोस्रो पटक नेपाल टी-२० विश्वकपमा छनोट हुनबाट चुक्यो । बलिङमा उत्कृष्ट देखिए पनि ब्याटिङमा संधै नेपाली टीमले संघर्ष गरिरहयो ।

अहिलेको अवस्थामा सर्टलिस्टमा परेकामध्ये ब्याटिङमा सुधार ल्याउनसक्ने सम्भावना बोकेका प्रशिक्षकका रुपमा क्यानले देसाईलाई हेरेको छ । उनी आईपीएलदेखि टेस्टसम्मको अनुभव भएका खेलाडी हुन् । वेस्टिइन्डिजको ब्याटिङ प्रशिक्षकका रुपमा काम गरेका देसाइले २०२२ को अन्त्यसँगै तीन वर्षको कार्यकाल सकेका छन् । र, अहिले उनी नेपाल आउने पर्खाइमा रहेको बुझ्न सकिन्छ । देसाई सन् २०१७ को एसीसी यू–१९ एसिया कपमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक जित निकाल्दा नेपाली टिमको ब्याटिङ सल्लाहकार थिए ।

ढेड वर्षको अन्तरालमा तीन प्रशिक्षक परिवर्तन गरेपछि क्यान दिर्घकालीन प्रशिक्षक भित्र्याउने सोचमा छ ।
सचिव प्रशान्तविक्रम मल्ल भन्छन्, ‘छिटो–छिटो प्रशिक्षक परिवर्तनले नेपाली टीमको प्रदर्शनमा झन् असर परेको छ । यसपटक हामी लामो दिर्घकालीन रुपमा अनुभवी प्रशिक्षक भित्र्याउन चाहन्छौं । त्यसैले अन्तवार्ता र आर्थिक पाटोमा छलफल गरेपछि शुक्रबार सम्ममा हामी प्रशिक्षकको टुंगो लगाउँछौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर