श्रममन्त्री अर्यालको प्रष्टीकरणः दर्जनौं व्यवसायमा छु, तर म्यानपावरमा छैन – Nepal Press

श्रममन्त्री अर्यालको प्रष्टीकरणः दर्जनौं व्यवसायमा छु, तर म्यानपावरमा छैन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट श्रममन्त्री बनेका डाेल प्रसाद अर्यालले आफूमाथि उठेका प्रश्नबारे सार्वजनिक प्रष्टीकरण दिएका छन् । सञ्चारमाध्यममा आएजस्तो आफू कुनै पनि म्यानपावर कम्पनीमा संलग्न नरहेको उनको दावी छ ।

अर्याल श्रम मन्त्री बनेलगत्तै उनी म्यानपावर व्यवसायी रहेको र स्वार्थको द्वन्द्व हुने भन्दै सञ्चारमाध्यमले आलोचना गरिरहेका छन् । यस सम्बन्धमा मुख खोल्दै उनले फेसबुकमा लामो स्पष्टीकरण लेखेका हुन् । उनले आफू अरु थुप्रै व्यवसायमा आवद्ध रहे पनि म्यानपावरमा प्रत्यक्ष संलग्न नरहेको बताएका छन् ।

‘म यो देशको सामान्य नागरिक। अवसर खोज्दै संघर्ष गर्दै १५ वटाभन्दा बढि पेशा र ब्यवशायमा लड्दै, उठ्दै, आबद्द, संलग्न, सक्रिय, निष्क्रिय हुँदै यहाँ आइपुगेको आम मान्छे हुँ।’ उनले लेखेका छन्, ‘तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन।’

देशका हरेक क्षेत्रका उद्योग व्यवसायमा थोरै थोरै संलग्नता रहेकाले आफ्नो स्वार्थ नबाझिने कुनै क्षेत्र नरहेको उनको भनाइ छ । आफू कृषि, ट्राभल, सहकारी, ईंट्टा, रेमिट्यान्स कम्पनी, एजुकेसन कन्सल्टेन्सी, सेक्युरिटी सर्भिस, होटल, क्याटरिङ लगायतका क्षेत्रमा सक्रिय रहेको अर्यालले जानकारी दिएका छन् ।

‘गरिखाने मान्छे हुँ, थोरै थोरै धेरैमा छु । तर म्यानपावर कम्पनीमा म कहिले पनि छैन । हो साथीहरुले एउटा कम्पनीमा सल्लाहकार राख्यौं है भनेर इन्टरनेसनल मार्केटिङ डाइरेक्टटरको पद लेखिदिए । तर, हटाइदिन भुले । तर, त्यो कम्पनीमा न मेरो लगानी छ न संलग्नता, न सेयर, न स्यालरी । समाचार बनाउनेहरुले नै भन्दिनुस न त मेरो कुन म्यानपावरमा कहिले कति सेयर थियो ?’ उनले लेखेका छन् ।

गलत काम गरेर आजसम्म एक रुपैयाँ पनि आर्जन नगरेको अर्यालको प्रष्टीकरण छ । ‘मन्त्रीका रुपमा काम गर्न जाँदा आफूले जानेकै क्षेत्रमा जाने हो । श्रम रोजगार मन्त्रालय मैले धेरथोर जानेको विषयको मन्त्रालयमध्ये एक हो,’ उनी लेख्छन्, ‘मबाट पीडित एकजना मात्र भए खडा गरिदिनु होला, मैले कुनै गैरकानूनी काम गरेको भए जानकारी गराउनुहोला ।’

उनले आफ्नो कार्यकालमा ऐतिहासिक कामहरु हुने दावी गरेका छन् । ‘भनेका कुरा पुरा गरिनँ भने म कुर्सी गाली गरिदिउँला । यो मेरो वाचा र चुनौती भयो,’ उनले भनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर