जुनियर भन्नेलाई देवराजको जवाफ- एमाले नेतृत्वमा मभन्दा सिनियर नेता ५ जनामात्र छन् – Nepal Press

जुनियर भन्नेलाई देवराजको जवाफ- एमाले नेतृत्वमा मभन्दा सिनियर नेता ५ जनामात्र छन्

२०४८ सालमै मदन भण्डारीले चुनाव लड्न गरेको आग्रह अश्वीकार गरेका देवराज ३१ वर्षपछि पहिलो प्रयासमै सभामुख

काठमाडौं । सभामुख उम्मेदवारमा देवराज घिमिरेको नाम चर्चामा आउँदा धेरैले नयाँ अनुहार भनेर टिप्पणी गरेका छन् । एमालेले सिनियर नेताहरूलाई पाखा लगाएर झापाका घिमिरेलाई पहिलो पटकमै सभामुख उम्मेदवार बनाएको टिप्पणीसमेत भइरहेको छ ।

तर, एमालेभित्र भने देवराज घिमिरे नयाँ अनुहार होइनन् । एमालेको राजनीति बुझ्नेहरूका लागि पनि घिमिरे नयाँ होइनन् । प्रतिनिधिसभामा घिमिरेको इन्ट्री भने पहिलोपटक हो । किनकी उनले २०४८ सालमै प्रतिनिधिसभाको टिकट अर्को व्यक्तिका लागि त्यागेको इतिहास धेरैलाई थाहा छैन ।

२०४६ सालमा बहुदलीय प्रजातन्त्र स्थापना हुँदा घिमिरे तत्कालीन नेकपा मालेको इलाम जिल्ला सेक्रेटरी थिए । २०४७ सालमा माले र मार्क्सवादी एकीकरण भएर एमाले बनेपछि पनि घिमिरे इलाम एमालेको सेक्रेटरी अर्थात तत्कालीन अवस्थामा पार्टी प्रमुख थिए ।

२०४८ सालको निर्वाचनमा इलाममा २ क्षेत्र कायम हुँदा महासचिव मदन भण्डारीले क्षेत्र नम्बर १ मा झलनाथ खनाल र २ मा देवराज घिमिरेलाई उम्मेदवार बनाउन चाहे । तर, घिमिरेले जातीय सन्तुलन समेत मिलाउनुपर्ने भन्दै आफ्नो साटो मणि सुब्बालाई उम्मेदवार बनाउन सुझाए ।

तत्कालीन अवस्थामा लिजेण्डजस्तै मानिने नेता झलनाथले मणि सुब्बासँग जोडी नै नमिल्ने भन्दै देवराजलाई नै उम्मेदवार बनाउन चाहे । तर, देवराजले यसअघि पञ्चायतकालमा पनि पार्टीले नोबेलकिशोर राईलाई जनपक्षीय बनाएर जिताएको दृष्टान्त दिँदै आफू पार्टी काममै रहने बताए ।

त्यसबेला मदन भण्डारीले देवराजको विकल्पमा सुवास नेम्वाङको नाम लिए पनि सुवास काठमाडौंमै बढी परिचित भएकाले इलाममा रिस्क नलिन आफूहरूले नै सुझाएको घिमिरे नेपाल प्रेससँग बताउँछन् । लगत्तै भएको चुनावमा एमालेले दुवै सीट देवराजकै कमाण्डमा जितेको थियो ।

सभामुख उम्मेदवार मनोनयनको अघिल्लो साँझ भेटिएका घिमिरेले नेपाल प्रेससँग आफू संसदीय राजनीतिमा किन नयाँ भनेर प्रचार गरियो भन्ने सन्दर्भमा ३१ वर्षअघिको यो विगत सुनाएका थिए । संसदीय राजनीतिमा घिमिरे एमालेभित्रै नयाँ भए पनि पार्टीभित्रको वरियतामा भने अहिलेका अधिकांश पदाधिकरीभन्दा सिनियर हुन् ।

घिमिरेका अनुसार पार्टीभित्र (केन्द्रीय नेतृत्वमा) उनीभन्दा सिनियर ५ जनामात्र नेता छन् । अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेमात्र उनीभन्दा सिनियर हुन् । यस हिसाबले घिमिरे एमाले केन्द्रीय कमिटीमा रहेकामध्ये छैटौं वरीयतामा पर्छन् ।

७० वर्षे उमेर हदका कारण अमृत बोहरा र केशब बडाल कार्यकारी भूमिकामा छैनन् । यद्यपि अनुशासन आयोग र सल्लाहकार परिषद् अध्यक्षका हिसाबले ती नेताहरू पार्टी भूमिकामा छन् । उनीहरूमध्ये बोहरा नेकपा मालेको संस्थापक नै हुन् भने बडाल कम्युनिष्ट आन्दोलनमा सिनियर हुन् ।

तत्कालीन झापा क्रान्ति हुँदै नेकपा मालेका संस्थापकमा पर्छन् ओली र पोखरेल । त्यसबाहेक विष्णु पौडेल, युवराज ज्ञवाली र सुरेन्द्र पाण्डे २०४५ मा भएको नेकपा मालेको चौथो महाधिवेशनबाटै केन्द्रीय कमिटीमा पुगेका नेता हुन् । जुन महाधिवेशनले मदन भण्डारीलाई महासचिव चयन गरेको थियो ।

२०४९ मा सम्पन्न पाँचौ महाधिवेशनबाट देवराज घिमिरे वैकल्पिक केन्द्रीय सदस्य निर्वाचित भएका थिए । त्यसैले पाँचजना नेतामात्र उनीभन्दा पहिलेका हुन् । सोही महाधिवेशनबाट अष्टलक्ष्मी शाक्य, किरण गुरुङहरू पनि केन्द्रीय कमिटीमा आएका थिए ।

२०४८ सालमा चुनाव लड्न नमानेका कारण देवराज संसदीय भूमिकामा पछि परेका हुन् । २०५६ सालमा उनी राष्ट्रियसभा सदस्य भएका थिए । पार्टीभित्र माधव नेपालको एकल दबदबा चलेका बेला उनी ओलीनिकट भएका कारण भूमिकाविहीन बनाइँदै गएका थिए । २०५८ सालसम्म उनी तत्कालीन मेची अञ्चल इन्चार्जको भूमिकामा थिए ।

त्यसबेला एमालेमा अञ्चल इन्चार्ज प्रभावशाली पद थियो । माधव नेपालले उनलाई मेची मञ्चल इन्चार्जबाट हटाएर काठमाडौं ल्याएपछि उनी भूमिकाविहीन हुन थालेका थिए । पछिल्लो समय पार्टीमा चरम पेलानमा परेका घिमिरेलाई ओलीले आफू पार्टी सत्तामा आएसँगै सक्रिय बनाए ।

ओलीले आफू प्रमुख रहेको स्कूल विभागको उपप्रमुख हुँदै आफ्नो सचिवालयमा समेत राखेर काम लगाएका थिए । पछिल्लो समय उनलाई पुनः पूर्वी भूगोलको काममा खटाएर प्रदेश १ को इन्चार्ज बनाइएको थियो ।

२०३५ सालदेखि पूर्णकालीनरूपमा भूमिगत भएर राजनीतिमा लागेका घिमिरले संसदको टिकट भने राजनीतिमा होमिएको ४४ वर्षपछिमात्र पाए । झापा २ बाट पहिलोपटकमै चुनाव जितेका घिमिरले धेरैलाई सरप्राइज दिँदै सत्ता गठबन्धनबाट सभामुख उम्मेदवार बनेका छन् । सत्तागठबन्धनको साझा उम्मेदवार भएकाले उनी सभामुख बन्ने लगभग निश्चित छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर