भगवतीको अधुरो पत्रकारिता यात्रा- सरकार फेरिएसँगै खोसिएको थियो रेडियो नेपालको जागिर – Nepal Press

भगवतीको अधुरो पत्रकारिता यात्रा- सरकार फेरिएसँगै खोसिएको थियो रेडियो नेपालको जागिर

विराटनगर । २०५१ सालमा एमालेका नेता मनमोहन अधिकारीको नेतृत्वमा एमालेको सरकार बन्यो । सोही सरकार बनेको बेला भगवती चौधरीले रेडियो नेपालमा स्ट्रिन्जर (समाचार बजेअनुसार पैसा पाउने) रिपोर्टरमा काम पाइन् ।

तर, मनमोहन नेतृत्वको सरकार ९ महिनामै ढलेपछि उनको जागिर पनि गयो । त्यसपछि उनले ग्रामीण महिला उत्सुकता विकास मञ्च फरवार्ड नामक संस्था स्थापना गरिन् । संस्थाको अध्यक्ष बनेर ग्रामीण क्षेत्रका महिलाहरुमा शिक्षा, स्वास्थ्य सामाजिक, आर्थिक तथा कानूनी सचेतना फैलाउने कार्यमा संलग्न भइन् । ६ महिनासम्म बालबालिकाको कुपोषणसम्बन्धी सचेतना फैलाउने प्रशिक्षकको रुपमा काम गरिन् ।

महिलासँग काम गर्न थालेपछि उनले आफू जस्तै ११ जना महिलासँग मिलेर फरवार्ड नामक सहकारी स्थापना गरिन् । ३ सय रुपैयाँ जम्मा गरेर सुरु भएको फरवार्ड अहिले फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड बनेको छ । यही गैरसरकारी संस्था र सहकारीले चौधरीलाई महिला बालबालिकामन्त्रीसम्म बनाएको छ ।

उनी २०७० सालदेखि हालसम्म फरवार्ड माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लि. को कार्यकारी अध्यक्ष छन् । २०४६ सालको जनआन्दोलनको बेलाबाटै एमालेसँग नजिक भएर काम गरेकी चौधरीले २०४८ सालमा पार्टीको सदस्यता लिएकी हुन् ।

साविक औराबनी गाविस वडा नं ३ मा २०२८ साल बैशाख २ गते जन्मिएकी चौधरीले समाजशास्त्र र व्यवस्थापनशास्त्रमा स्नातकोत्तर गरेकी छन् । २०६४ सालको संविधानसभामा समानुपातिकबाट सभासद् भएकी उनी २०६७ सालमा झलनाथ खनाल नेतृत्वको सरकारमा वन तथा भू-संरक्षण राज्यमन्त्रीसमेत भएकी थिइन् ।

२०७० सालमा भएको दोस्रो संविधानसभा निर्वाचनमा विजयकुमार गच्छदारसँग ३६२ मतले पराजित भएकी उनी २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा फेरि उनै गच्छदारसँग ३२१ मतले पराजित भएकी थिइन् ।

गएको मंसिर ४ गते भएको निर्वाचनमा भने चौधरीले गच्छदारलाई हराउँदै प्रतिनिधिसभा सदस्य हुँदै मन्त्री बन्न सफल भइन् । २०४८ सालमा नेकपा एमालेको पार्टी सदस्य भएकी उनी २०५८ सालबाट उनी सक्रिय राजनीतिमा छन् ।

उनी २०६४ देखि २०६७ सम्म सुनसरी जिल्ला कमिटी सदस्य भइन् । २०७० सालमा अञ्चल समन्वय कमिटी सदस्य भएकी उनी २०७१ सालमा भएको नवौं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित भइन् । २०७२ सालमा नेकपाको केन्द्रीय सदस्य भएकी उनी २०७८ सालमा चितवनमा १० औं महाधिवेशनबाट पुनः केन्द्रीय सदस्यमा निर्वाचित भएकी छन् ।

उनी श्रम तथा स्वरोगार केन्द्रीय विभागकी उपप्रमुख, अखिल नेपाल महिला संघकी केन्द्रीय सचिवालय सदस्य तथा गरिबी निवारण विभागकी सचिवसमेत छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर