एकल जातीय संघीयता- २१ मुख्यमन्त्री बन्दा १५ जना खस आर्य – Nepal Press

एकल जातीय संघीयता- २१ मुख्यमन्त्री बन्दा १५ जना खस आर्य

महिला र आदिवासी जनजाति मुख्यमन्त्री बनाउनेमा एमाले पहिलो, कांग्रेस र माओवादीबाट शून्य

काठमाडौं । नेपालमा एकल जातीय संघीयताको वकालत गर्ने मधेसवादी, माओवादी र आदिवासी जनजाति अभियान कमजोर बन्दै गएका वेला सात प्रदेशका मुख्यमन्त्रीहको अनुहार हेर्दा देशमा एकल जातीय संघीयता कार्यान्वयन भएको आरोप लाग्न थालेको छ । ५ वर्षको बीचमा सात प्रदेशले औसतमा ३ मुख्यमन्त्री पाउँदा खस आर्य समुदायबाट दुई तिहाइभन्दा बढीले मुख्यमन्त्री बन्न पाएका छन् । यद्यपि राजनीतिक दलले मुख्यमन्त्री चयन गर्दा पार्टीमा वरिष्ठता हेर्ने गरेकाले पनि त्यस्तो देखिएको हुनसक्छ ।

अघिल्लो पटक प्रदेश १ मा एमालेका शेरधन राईले आफूभन्दा सिनियर भीम आचार्यलाई संसदीय दलको नेतामा पराजित गरेर मुख्यमन्त्री बन्दा बागमतीमा डोरमणि पौडेलले आफूभन्दा सिनियर अष्टलक्ष्मी शाक्यलाई पराजित गरेका थिए । पहिलो कार्यकालमा मुख्यमन्त्रीको अनुहार जसरी समावेशी देखिएको थियो, यसपटक त्यो नदेखिएको टिप्पणी भइरहेको छ । हालसम्म भएका २१ मुख्यमन्त्रीमध्ये महिला र आदिवासी जनजातिको प्रतिनिधित्व गराउनेमा भने एमाले पहिलो देखिएको छ ।

एमालेबाट एक महिला र तीन आदिवासी जनजातिले मुख्यमन्त्री बन्ने मौका पाएका छन् । कांग्रेस र माओवादीले खस आर्यमात्रै मुख्यमन्त्री बनाउँदा नेकपा एकीकृत समाजवादीले एकजना आदिवासी जनजातिलाई मुख्यमन्त्री बनाएको छ । संघीयतासहितको संविधान लागू भएपछि नेपालमा दुईपटक प्रदेशसभाको निर्वाचन भएको छ । दुईपटक निर्वाचन हुँदा सात वटा प्रदेशले २१ जना मुख्यमन्त्री पाइसकेका छन् ।

५ वर्षे पहिलो कार्यकालमै सात वटा प्रदेशले १४ जना मुख्यमन्त्री पाएका थिए । मंसिर ४ गते भएको दोस्रो निर्वाचनपछि सातै प्रदेशमा नयाँ मुख्यमन्त्री आएका छन् । अहिले दोस्रो कार्यकालको सुरुवाती चरणमा छ । पहिलो कार्यकालमा प्रदेश नम्बर १ र बामगती प्रदेशले ३–३ जना मुख्यमन्त्री पाएका थिए । त्यस्तै गण्डकी, लुम्बिनी र कर्णालीले २–२ जना मुख्यमन्त्री पाउँदा मधेस र सुदूरपश्चिम प्रदेशमा फेरिएनन् ।

मधेस र सुदूरपश्चिमका संस्थापक मुख्यमन्त्रीहरु मात्रै पाँचवर्षे कार्यकाल पूरा गर्ने भाग्यमानी ठहरिए । सात वटै प्रदेशमा २१ जना मुख्यमन्त्री बन्दा समावेशी हुन सकेन । २१ जनामध्ये एकजनामात्रै महिला मुख्यमन्त्री हुन सके । बागमतीमा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्य दुई महिनाको लागि मुख्यमन्त्री भएकी थिइन् । बाँकी सबै मुख्यमन्त्री पुरुष छन् ।

समावेशी हिसाबले सबैभन्दा धेरै ७१ प्रतिशत अर्थात १५ जना मुख्यमन्त्री खस आर्यका बने । राजनीतिक दलले खस आर्यलाई नै प्राथमिकता दिएको देखियो । दोस्रोमा १९ प्रतिशत अर्थात ४ जना मुख्यमन्त्री आदिवासी जनजातिका बनेका छन् । तेस्रोमा ९ प्रतिशत अर्थात २ जना मधेसी समुदायका मुख्यमन्त्री बनेका छन् । यी दुई मुख्यमन्त्री मधेस प्रदेशमा बनेका हुन् । मधेसी समुदायका दुई जना मुख्यमन्त्रीमध्येएक जना मुस्लिम समुदायका समेत परे ।

दलित र थारु समुदायबाट भने एकजना पनि मुख्यमन्त्री बन्न सकेनन् । राज्यका हरेक निकायमा महिला ३३ प्रतिशत अनिवार्य नियुक्त गर्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, राजनीतिक दलले यस व्यवस्थालाई उपेक्षा गर्दै आएका छन् । २१ जना मुख्यमन्त्री नियुक्त हुँदा ४ प्रतिशत अर्थात एक जनामात्रै महिला परेकी छन् ।

प्रदेश १ मा ४ मुख्यमन्त्री : २ जना जनजाति, २ जना खस आर्य

२०७४ को निर्वाचनपछि प्रदेश नम्बर १ मा मुख्यमन्त्री नियुक्त भए नेकपा एमालेका नेता शेरधन राई । उनी २०७४ फागुन ३ देखि २०७८ भदौ १० गतेसम्म पदमा रहे । राईपछि एमालेकै नेता भीमप्रसाद आचार्य मुख्यमन्त्री बने । आचार्य २०७८ भदौ १० देखि कात्तिक १६ गतेसम्म २ महिनामात्रै मुख्यमन्त्री बने ।

नेकपा एमाले र माओवादी केन्द्रबीच एकतापछि बनेको नेकपा फुटेर ३ टुक्रा भएपछि एमाले सरकारबाट बाहिरियो । तत्कालीन एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्रकुमार राई २०७८ कात्तिक १६ देखि २०७९ पुस २५ गतेसम्म एक वर्ष २ महिना मुख्यमन्त्री बने ।

यहाँ ५ वर्षको अवधिमा ३ जना मुख्यमन्त्री हुँदा महिलाले मौका पाएन । ३ जनामा दुई जना जनजाति समुदायकाले अवसर पाए ।

जनसंख्याका हिसाबले प्रदेश १ मा जनजाति बहुल छ । अघिल्लो कार्यकालमा एकजना खस आर्यबाट मुख्यमन्त्री बने । अहिले नेकपा एमाले नेतृत्वको सरकार गठन हुँदा मुख्यमन्त्रीमा खसआर्यबाटै हिक्मतकुमार कार्की मुख्यमन्त्री नियुक्त भए ।

प्रदेश १ मा महिला, दतिल, मधेसी, मुस्लिम र थारु समुदायका कोही मुख्यमन्त्री बन्न सकेका छैनन् ।

मधेसमा दुवै जना मधेसी समुदायबाट

मधेस प्रदेशमा गठबन्धन नबिग्रिएकाले जनता समाजवादी पार्टी (जसपा)का लालबाबु राउतले मुख्यमन्त्रीको ५ वर्षे कार्यकाल पूरा गर्न पाए । अहिले दोस्रो कार्यकालको लागि पनि जसपाबाटै सरोजकुमार यादव मुख्यमन्त्री नियुक्त भए ।

यस प्रदेशमा मधेसी समुदाय बहुल छ । सोहीअनुसार दुवैजनामा मुख्यमन्त्री मधेसी समुदायका बनेका छन् । तर, दुवै कार्यकालमा पुरुष मुख्यमन्त्री बनेका छन् ।

बागमतीमा ४ जनामध्ये एकजना महिला मुख्यमन्त्री

बागमती प्रदेशमा २०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि ३ जना मुख्यमन्त्री भए । पहिलो चरणमा नेकपा एमालेका डोरमणि पौडेल मुख्यमन्त्री बने । एमाले फुटको संघारमा पुगेपछि माधवकुमार नेपाल पक्षमा रहेकी पार्टी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यलाई मुख्यमन्त्री बनाइयो । एमाले फुटेर नेकपा एकीकृत समाजवादी दर्ता भएपछि शाक्य अल्पमतमा परिन् । उनले विश्वासको मत नलिई मुख्यमन्त्रीबाट राजीनामा दिइन् ।

शाक्यपछि एमाले फुटेर बनेको नेकपा एकीकृत समाजवादीका राजेन्द्रप्रसाद पाण्डे मुख्यमन्त्री भए । २०७९ को निर्वाचनपछि नेकपा माओवादी केन्द्रका नेता शालिकराम जम्कट्टेल मुख्यमन्त्री भएका छन् । हालसम्म ४ जना मुख्यमन्त्री बन्दा ३ जना खस आर्यका छन् । एक जना महिला तथा आदिवासी जनजातिबाट मुख्यमन्त्री भएका छन् ।

गण्डकीमा ३ मध्ये एकजना जनजाति

गण्डकी प्रदेशमा पनि २०७४ सालको प्रदेशसभा निर्वाचनपछि ३ जना मुख्यमन्त्री बने । जसमध्ये अघिल्लो कार्यकालमा २ जनाले मौका पाए । एक जना भर्खरै नियुक्त भएका छन् ।

पहिलो चरणमा नेकपा एमालेबाट २०७४ फागुन ४ मा मुख्यमन्त्री नियुक्त पृथ्वीसुब्बा गुरुङ २०७८ जेठ २८ गतेसम्म करिव ४ वर्ष मुख्यमन्त्री बने । त्यसपछि तत्कालीन नेकपा फुटेपछि २०७८ जेठ २८ गते नेपाली कांग्रेसका कृष्णचन्द्र पोखरेल मुख्यमन्त्री नियुक्त भए । उनी डेढ वर्षे कार्यकाल पूरा गरेर भर्खरैमात्र बाहिरिएका छन् ।

अहिले ७ दलीय सत्ता गठबन्धनबाट नेकपा एमालेका खगराज अधिकारी मुख्यमन्त्री भएका छन् । गण्डकीमा मुख्यमन्त्री भएका तीनै जना पुरुष छन् । आदिवासी जनजातिबाट एकजना मुख्यमन्त्री बन्दा दुई जना खस आर्यकाले मौका पाए ।

लुम्बिनीका तीनै जना खस आर्य

लुम्बिनी प्रदेशमा २०७४ सालको निर्वाचनपछि पहिलो चरणमा नेकपा एमालेका नेता शंकर पोखरेल मुख्यमन्त्री भए । नेकपा फुटेपछि कांग्रेससँगको गठबन्धनमा नेकपा माओवादी केन्द्रका नेता कुलबहादुर केसी मुख्यमन्त्री भए ।

मंसिर ४ गते भएको निर्वाचनपछि एमालेकै लीला गिरी मुख्यमन्त्री भएका छन् । यहाँका अहिलेसम्म तीनै जना मुख्यमन्त्री खस आर्यबाट बनेका छन् ।

कर्णालीका पनि तीनै जना खस आर्य

कर्णाली प्रदेशमा पनि अहिलेसम्म तीन जना मुख्यमन्त्री नियुक्त भएका छन् । २०७४ को निर्वाचनपछि पहिलो चरणमा नेकपा माओवादी केन्द्रका महेन्द्रबहादुर शाही मुख्यमन्त्री भएका थिए । दोस्रो चरणमा नेपाली कांग्रेसका जीवनबहादुर शाही मुख्यमन्त्री भए । अहिले नेकपा माओवादी केन्द्रकै राजकुमार शर्मा मुख्यमन्त्री नियुक्त भएका छन् ।

यहाँ अहिलेसम्म ३ जना मुख्यमन्त्री हुँदा सबै खस आर्यकै छन् । कर्णालीले पनि महिला मुख्यमन्त्री पाउन सकेको छैन ।

सुदूरपश्चिमका २ जना मुख्यमन्त्री पनि खस आर्य

मधेसपछि सुदूरपश्चिम प्रदेशले पनि दुई कार्यकालमा २ जनामात्रै मुख्यमन्त्री पाएको छ । २०७४ सालको निर्वाचनपछि नेकपा माओवादी केन्द्रका नेता त्रिलोचन भट्टले मुख्यमन्त्रीको ५ वर्षे कार्यकाल पूरा गर्ने मौका पाए ।

अहिले सात दलीय गठबन्धनबाट नेकपा एमालेका राजेन्द्रसिंह रावल मुख्यमन्त्री बनेका छन् । उनीहरु दुबै जनाले खस आर्यबाट प्रतिनिधित्व गर्छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर