घरमै पुगेर रोग पत्ता लगाउन र उपचार गर्न ‘नागरिकसँग मेयर’ कार्यक्रम सुरु – Nepal Press

घरमै पुगेर रोग पत्ता लगाउन र उपचार गर्न ‘नागरिकसँग मेयर’ कार्यक्रम सुरु

कैलाली । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा नागरिकसँग मेयर कार्यक्रम सुरु भएको छ । मंगलबार नगरप्रमुख हेमराज ओझाले वडा न ५ को पवित्रा बस्तीबाट नगर क्षेत्र भरिको लागि कार्यक्रमको सुरुवात गरेका हुन् । उक्त कार्यक्रममा वडा नम्बर ५ का वडाध्यक्ष पनि थिए । उता अन्य ८ वडामा सम्बन्धित वडाध्यक्षको उपस्थितिमा कार्यक्रम सुरु गरिएको हो ।

पहिलो चरणमा स्वास्थ्यकर्मीले सबै वडाका प्रत्येक नागरिकका घर घरमा पुगेर रक्तचाप चेकजाँच गर्ने, उनीहरुको स्वास्थ्य अवस्थाबारे रिपोर्ट लिने त्यसको आधारमा जटिल र सामान्यलाई वर्गीकरण गरेर दोस्रो चरणमा स्वास्थ्य शिविर सञ्चालन गर्ने योजना नगर प्रमुख ओझाले बनाएका हुन् ।

‘प्रत्येक नागरिकको स्वास्थ्य अवस्था बुझ्न स्वास्थ्यकर्मीको टोली घरदैलोमै पुग्छ’ उनले भने ‘निर्वाचनमै हामीले शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकता राखेर काम गर्ने भनेका थियौँ त्यो अनुरूप नै यो कार्यक्रम सुरुवात गरिएकोले हो ।’

नागरिकको स्वास्थ्य सबै भन्दा महत्त्वपूर्ण विषय भएकोले आफ्नो कार्यकाल भरी पहिलो प्राथमिकता स्वास्थ्यले नै रहने नगरप्रमुख ओझाले बताए ।

दक्ष जनशक्ति सहितको स्वास्थ्यकर्मीको टोली प्रत्येक नागरिकको घरमा पुग्ने भएकोले यो कार्यक्रम लाभदायी हुन अपेक्षा गरिएको कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिंह बिष्टले बताए । सुरुवातमा नागरिकसँग मेयर कार्यक्रमका लागि १५ दिन छुटाइए पनि पछि आवश्यकता अनुसार केहि दिन थप्न सकिने बिस्ट बताउँछन् ।

हाल कृष्णपुर नगरपालिका वडा न ५ मा रहेको कृष्णपुर स्वास्थ्य चौकी चिकित्सक सहित चौबिसै घण्टा सञ्चालनमा रहेको छ । त्यसै गरी नगरपालिकाले सुत्केरी महिला,ज्येष्ठ नागरिक,शारीरिक रूपमा अशक्त नागरिक र आर्थिक हिसाबमा कमजोर बिरामीलाई नि शुक्ल एम्बुलेन्स सेवा दिदै आएको छ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर