कांग्रेसले प्रमुख प्रतिपक्षको हैसियत गुमाइसक्यो भनेपछि बालुवाटारमा ओलीसँग लेखकको भनाभन – Nepal Press

कांग्रेसले प्रमुख प्रतिपक्षको हैसियत गुमाइसक्यो भनेपछि बालुवाटारमा ओलीसँग लेखकको भनाभन

सर्वदलीय बैठकमा ओलीले भने- संवैधानिक पदमा सत्ता साझेदर दलको सहमति भइसकेको छ, कांग्रेसको ढोक्सामा केही पर्दैन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको सर्वदलीय बैठकमा भनाभन भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले बैठकमा कांग्रेसले सरकारलाई विश्वासको मत दिएर प्रमुख प्रतिपक्ष दलको हैसियत पनि गुमाएको टिप्पणी गरेपछि बैठकमा भनाभन भएको हो ।

बैठकमा ओलीले भने, ‘सरकार संघदेखि प्रदेशसम्म विश्वासको मत दिनुसक्नुभएको छ । तपाईंहरुले प्रमुख प्रतिपक्षको हैसियत गुमाइसक्नुभयो ।’

ओलीले सत्ता साझेदार दलहरुमा राष्ट्रपति र सभामुखसहित सबै संवैधानिक पदमा सहमति भइसकेकाले आँखा नलगाउन आग्रह गरे ।

उनले भने, ‘गठबन्धनमा सबै सहमति भइसकेको छ । तपाईंहरुले अहिले राष्ट्रपतिमा आँखा लगाउँदै हुनुहुन्छ । त्यो प्रयास नगर्दा हुन्छ ।’

ओलीले बोलेपछि कांग्रेस नेता रमेश लेखकले राष्ट्रपतिकहाँ बुझाएको समर्थनमा आफूहरुको हस्ताक्षर नभएको भन्दै प्रतिपक्ष दल नै भएको तर्क गरेका थिए ।

ओलीलाई जवाफ दिँदै लेखकले भने, ‘राष्ट्रपतिलाई बुझाएको प्रस्तावमा हाम्रो हस्ताक्षर छैन । हामी प्रतिपक्ष हौं । हामीले संविधान र अहिलेको आवश्यकतालाई हेरेर विश्वासको मत दिएका हौं । हामीलाई सत्तामा खेल्ने कुनै रहर छैन ।’

ओलीलाई लेखकले जवाफ फर्काएपछि बैठकमा भनाभन बनेको थियो । त्यसपछि ओली बैठकबाट उठेर हिँडेका थिए ।

प्रधानमन्त्री प्रचण्डले सरकारका सन्दर्भमा सत्ता साझेदार दलबीचको सहमति नै लागू हुने स्पष्ट गर्दै संवैधानिक पदहरूको निर्वाचनमा सहमतिका साथ अगाडि बढ्न सकिन्छ वा सकिँदैन भन्नेबारे चासो राख्दै दलहरूको धारणा र सुझाव मागेका थिए ।

आफू सत्ता साझेदार दलहरूसँग गरिएको समझदारीमा दृढ रहेको र सोहीअनुसार नै मंगलबार मन्त्रिपरिषदले पूर्णता पाएको बताउँदै उनले संवैधानिक पदहरूमा सहमति जुट्ने परिस्थितिमा आफूले त्यसको सहजीकरण गर्ने धारणा राखे ।

बैठकपछि कांग्रेस नेता लेखकले राष्ट्रपति र सभामुख निर्वाचनबारे सत्ता गठबन्धनसँग छलफल गर्न कांग्रेस तयार भएको उल्लेख गर्दै भोलिसम्म आन्तरिक छलफल गर्ने बताए ।

बैठकमा कांग्रेस सभापति देउवाले पनि आफू प्रमुख विपक्षी दलको नेताकै हैसियतमा आएको बताएका थिए ।

बैठकमा नेपाली कांग्रेस, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नेकपा एकीकृत समाजवादीलगायत सरकारलाई विश्वासको मत दिने दलका नेताहरूले आ-आफ्नो धारणा राखेका थिए ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसबाट सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, रामचन्द्र पौडेल, रमेश लेखक, नेकपा एमालेबाट अध्यक्ष केपी शर्मा ओली, ईश्वर पोखरेल र शंकर पोखरेल सहभागी थिए ।

त्यस्तै एकीकृत समाजवादीबाट माधव नेपाल, नेपाल समाजवादी पार्टीका बाबुराम भट्टराई, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सभापति रवि लामिछाने, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ, जनमत पार्टीबाट अब्दुल खान, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत उपस्थित थिए ।


प्रतिक्रिया

One thought on “कांग्रेसले प्रमुख प्रतिपक्षको हैसियत गुमाइसक्यो भनेपछि बालुवाटारमा ओलीसँग लेखकको भनाभन

  1. लठुवा, लबस्तरो, नकचरो भए पछी जे गरे नि जे भने नि हुन्छ !! त्यसमा ‘काङ्रेस’ ट्याग लागे पछी त के के गर्न छुट् हुन्छ के के !! काग्रेश भनेको प्रजातन्त्र अनी प्रजातन्त्र भनेको काङ्रेस !! काङ्रेसले जे गरे नि प्रजातन्त्रको चरित्र अनी प्रजातन्त्र जोगाउन गरेको प्रयास !! मन लागेको गर है !! यही नै यथार्थ हो आजको बिक्रित राजनीतिको !!

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर