प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् : सबैभन्दा ज्येष्ठ धुव्रबहादुर, कान्छी तोसिमा – Nepal Press

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषद् : सबैभन्दा ज्येष्ठ धुव्रबहादुर, कान्छी तोसिमा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारले २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गरेको छ ।

प्रचण्ड नेतृत्वको २३ सदस्यीय मन्त्रिपरिषदमा सबैभन्दा ज्यष्ठ मन्त्री बनेका छन्, कानून न्याय तथा संसदीय मामिलामन्त्री धुव्रबहादुर प्रधान । ७३ वर्षीय कानूनमन्त्री प्रधान राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवलपरासी पश्चिम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् । दोस्रो ज्येष्ठ सदस्यमा शहरी विकासमन्त्री विक्रम पाण्डे भएका छन् । चितवन क्षेत्र ३ बाट निर्वाचित पाण्डे ६९ वर्षका हुन् ।

ज्येष्ठ सदस्यको तेस्रो क्रममा प्रधानमन्त्री प्रचण्ड छन् । गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित प्रचण्ड ६६ वर्षका हुन् । उपप्रधान एवम् भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेल दुबै जना भने ६२ वर्षका हुन् ।

त्यसपछि ६१ वर्षका दीपकबहादुर सिंह ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री बनेका छन् । ५७ वर्षका राजेन्द्र लिङदेन उपप्रधान एवम् ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बनेका छन् ।

परराष्ट्रमन्त्री बिमला राई पौड्याल र भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री राजेन्द्रकुमार राई बराबर ५६ वर्षका हुन् । रक्षामन्त्री हरिप्रसाद उप्रेती ५५, सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्मा ५३ र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरी ५१ वर्षका हुन् ।

त्यस्तै उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री सुशीला श्रीपाइली समान ४८-४८ वर्षका हुन् ।

उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने ४७ वर्षका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी ४५ वर्षका हुन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल दुवै ४३ वर्षका छन् ।

४० वर्षमुनिका ४ मन्त्री

प्रचण्ड नेतृत्वको मन्त्रिपरिषदमा ४० वर्षमुनिका ४ जना मन्त्री बनेका छन् । जसमा सबैभन्दा कम ३३ वर्षकी डा. तोसिमा कार्की स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री बनेकी छन् ।

उनीभन्दा ३ वर्ष जेठो ३६ वर्षका अब्दुल खान खानेपानीमन्त्री बनेका छन् । त्यस्तै ३७ वर्षका अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् । कृषि तथा पशुपन्छीमन्त्री बनेकी ज्वालाकुमारी साह ४० वर्षकी छिन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर