‘रोयल ग्रुप’को नाममा व्यवसायीलाई धम्काएर असुली गर्ने दुईजना पक्राउ – Nepal Press

‘रोयल ग्रुप’को नाममा व्यवसायीलाई धम्काएर असुली गर्ने दुईजना पक्राउ

रुपन्देही । बुटवलमा विभिन्न समूह बनाइ व्यवसायीलाई धम्की दिएर असुली गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । उनीहरुले ‘रोयल ग्रुप’ नामक समूह बनाई विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिएर असुली गर्ने गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुटवलले हातहतियार र विष्फोटक पदार्थसहित दुईजना व्यक्तिलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मीको मालिका गाउँपालिका- ४ अर्खावाङ घर भई हाल रुपन्देहीको सैनामैना- १ पर्रोहाका नवीनचन्द्र रेग्मी र कञ्चनपुरको भीमदत्त नगरपालिका–२ बस्ने २७ वर्षीय विश्वराज कार्की रहेका छन् ।

उनीहरुबाट प्रहरीले रिभल्वर एक थान, मोबाइल ३ थान, ९ एमएमको गोली १४ राउण्ड, ७.६२ एमएमको गोली ४ राउण्ड, ०.२ एमएमको गोली १७ राउण्ड, तयारी डेटोनेटर ३ थान, डेटोनेटर केस ६० थानलगायतका सामग्री बरामद गरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले बुटवल- ११ देवीनगरबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए । बुटवलका विभिन्न व्यवसायीहरुलाई धाकधम्की दिई ज्यान मार्नेसम्मको डर त्रास देखाएको भन्ने सूचनाका आधारमा प्रहरीले खोजतलास अघि बढाएको थियो ।

उनीहरुलाई हातहतियार तथा विष्फोटक पदार्थ कसुरमा मुद्दा दर्ता गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *