लुम्बिनीका मुख्यमन्त्री गिरीले माघ ५ मा विश्वासको मत लिने – Nepal Press

लुम्बिनीका मुख्यमन्त्री गिरीले माघ ५ मा विश्वासको मत लिने

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले माघ ५ गते विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री गिरीले यसबारे प्रदेश सभामा जानकारी दिएको उनको सचिवालयले जनाएको छ । संविधानको धारा १६८ को उपधारा ४ अनुसार मुख्यमन्त्री नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

गिरी पुस २८ गते प्रदेश सभाका १० मध्ये ७ दलका ५६ जना र २ स्वतन्त्र गरी ५८ सांसदको समर्थनमा गिरी मुख्यमन्त्री नियुक्त भएका हुन् । मुख्यमन्त्री गिरीले प्रदेशसभाबाट विश्वासको मत लिनेबारे मंगलबार प्रदेश सभा सचिवालयलाई जानकारीपत्र बुझाएको प्रदेश सभा सचिवालयका सचिव दुर्लभकुमार पुनले जनाएका छन् ।

गिरीलाई नेकपा एमालेका २९, माओवादी केन्द्रका १०, राष्ट्रिय प्रजातन्त्र पार्टीका ४, नागरिक उन्मुक्ति पार्टीका ४, जसपाका ३, जनमत पार्टीका ३ जना, लोकतान्त्रिक समाजवादी पार्टीका ३ जना र स्वतन्त्र २ जनाको समर्थन रहेको छ । सरकार बाहिर रहेका नेकपा एस र जनमोर्चाका एकएक गरी दुई र नेपाली कांग्रेसका २७ गरी २९ सांसद रहेका छन् ।

विश्वासको मतका लागि अहिले सरकार बाहिर रहेका दलहरुलाई पनि आग्रह गरिने सरकारका प्रवक्ता मन्त्री चेतनारायण आचार्यले जानकारी दिए । मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्रै मन्त्रीपरिषद बिस्तार गर्ने योजनामा मुख्यमन्त्री रहेका छन् । अहिलेसम्म एमाले र माओवादीबाट दुई जना बिनाविभागीय मन्त्री मात्र नियुक्त भएका छन् ।

यसैगरी नवनिर्वाचित सभामुख तुलाराम घर्ती तथा उपसभामुख मेनुका खाणको शपथ ग्रहण बुधबार हुने भएको छ । उनीहरु मंगलबार निर्विरोध निर्वाचित भएका हुन् । बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा बिहीबार दिउसो १ बजे शपथहग्रहण हुने कार्यक्रम रहेको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर