पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्रीले सुनाइन् तीन प्राथमिकता (भिडिओ) – Nepal Press

पदभार ग्रहण गर्दै परराष्ट्रमन्त्रीले सुनाइन् तीन प्राथमिकता (भिडिओ)

काठमाडौं । नवनियुक्त परराष्ट्रमन्त्री डा.विमला राई पौडेलले आज मन्त्रालयमा पदभार ग्रहण गरेकी छन् । सपथग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै मन्त्री पौडेलले आफ्ना तीन प्राथमिकताहरु सुनाइन् ।

पत्रकारहरुसँग संक्षिप्त कुरा गदै पौडेलले परराष्ट्र मन्त्रालयबाट जनतामा प्रवाह हुने सेवाको प्रवाहलाई प्रभावकारी तुल्याउने आफ्नो पहिलो प्राथमिकता रहेको बताएकी छन् ।

उनले भनिन्, ‘जनतामा परराष्ट्र मन्त्रालयले पुर्याउने सेवा र सुविधालाई सहज बनाउने मेरो पहिलो प्राथमिकता हुनेछ ।’मन्त्री पौडेलले आफ्नो दोस्रो प्राथमिकतामा विदेशी कुटनीतिक नियोगहरुसँगको सहकार्य रहने उल्लेख गरिन् । नेपालको हितमा सम्झौता नगरिकन आफूले विदेशी कुटनीतिक नियोगहरुसँग समन्वय गर्ने उनले बताइन् ।

यस्तै तेस्रो प्राथमिकतामा नेपालका विभिन्न देशमा रहेका राजदूतावासहरुमा नेपालीहरुको सहस पहुँच बनाउने मन्त्री पौडेलले बताइन् ।
उनले भनिन्, ‘नेपालको राजदूतावासमा मेरो देशका मान्छे आउँदा घरजस्तो फिल गर्नुपर्छ । बाहिर जाँदा नेपालको एम्बेसीभित्र छिर्दा घर महसुस गर्नुपर्छ । हाम्रो दूतावावासमा नेपालीहरुलाई सहज पहुँच गराउन प्रयास गर्नेछु ।’

मन्त्री पौडेलले आफू आउनासाथ सबै नीति फेर्नेतिर नलाग्ने पनि बताइन् । उनले असंलग्न परराष्ट्रनीति अनुसार अघि बढ्ने उल्लेख गरिन् । नेपालको सीमा विवादहरुका विषयमा भने अहिल्यै बोल्नु हतार हुने उनले प्रतिक्रिया दिइन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर