परराष्ट्रले पायो सक्षम मन्त्री, यस्तो छ विमला राई पौडेलको योग्यता – Nepal Press

परराष्ट्रले पायो सक्षम मन्त्री, यस्तो छ विमला राई पौडेलको योग्यता

काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाकी सांसद विमला राई पौड्याललाई परराष्ट्रमन्त्री बनाएको छ । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट राष्ट्रियसभामा मनोनीत राईले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्ने मौका पाएकी हुन् ।

नेदरल्याण्डको इन्ष्टिच्युट फर सोसल साइन्सबाट ‘विकास अध्ययन’ मा विद्यावारिधि गरेकी पौडेलले संयुक्त अधिराज्यको म्यानचेस्टर विश्वविद्यालयबाट विकास प्रशासनमा पोस्ट ग्र्याजुएट डिप्लोमा र अर्थशास्त्र तथा व्यवस्थापनमा स्नातकोत्तर तह पूरा गरेका छन् ।

त्यसैले उनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको क्याविनेटको बौद्धिक र सक्षम मन्त्रीको रुपमा लिन सकिन्छ ।

उनीसँग त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक तह पूरा गरेको पनि अनुभव छ । नेदरल्याण्डबाट पढाइ सकेर नेपाल आएकी उनी एमालेनिटक थिइन् । उनी अहिले एमालेको केन्द्रीय सदस्य छिन् ।

उनलाई २०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा राष्ट्रिय योजना आयोगमा नियुक्ति गरेका थिए । त्यसपछि उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारको रुपमा नियुक्ति गरेकी थिइन् ।

राष्ट्रपतिको विज्ञ सल्लाहकारको रुपमा रहेको बेलामा उनलाई राष्ट्रपतिबाट पाँच वर्षअघि राष्ट्रियसभा सदस्य मनोनीत भइन् ।

राष्ट्रियसभामा मनोनीत भएपछि चिठ्ठा प्रणालीबाट पहिलो चरणमा पदावधि निर्माण गर्दा उनी ६ वर्षे कार्यकाल पर्न सफल भइन् । उनको अब एक वर्षमात्रै कार्यकाल बाँकी छ ।

राष्ट्रियसभामा एक वर्षे कार्यकाल रहेको अवस्थामा राष्ट्रपतिको निकटस्थ भएकै कारणले अहिले सरकारको परराष्ट्र जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी पाउन सफल भइन् ।

उनी हाल कृषि तथा वनविज्ञान विश्वविद्यालयमा सहायक प्रोफेसरको रूपमा विकास अध्ययन विषय अध्यापनरत छिन् ।

नेपालका विभिन्न सरकारी निकायलगायत बहुपक्षीय आर्थिक सहायता निकाय र गैरसरकारी संस्थाहरूमा काम गरेको उनीसँग अनुभव छ ।

२०७२ को विनाशकारी भूकम्पपश्चात् नेपालको विपद्पछिको आवश्यकता अध्ययन लैंगिक समानता, सामाजिक समावेशिता र संरक्षण तथा विधागत टोलीको प्रमुखको रुपमा पनि काम गरिन् । उनलाई लैङ्गिक समानताको अभियन्ताका रुपमा पनि लिइन्छ ।

उनी थुप्रै सार्वजनिक निकायहरूमा आवद्ध छिन् । उनले रिकफ नेपालमा सन् २०११ देखि २०१७ र ओपन सोसाइटी फाउन्डेशनको सन् २०१६ देखि २०१८ सम्म यूएन ओमन इन नेपालमा रही कार्य गरिन् ।

सन् २०१६ देखि २०१८ सम्म यूएन ओमनको लागि प्राङ्गारिक कृषिसम्बन्धी उच्चस्तरीय कार्यदल र नागरिक समाजको सल्लाहकार समूह सदस्यको भूमिका निर्वाह गरिन् ।

उनले लैंगिक मूल प्रवाहीकरण, सामाजिक समावेसीकरण, जलवायु अनुकूलित कृषि, प्राकृतिक स्रोत प्रशासन, प्रकोप जोखिम न्यूनीकरण र भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी गहन अध्ययन गरेकी छन् भने सो विषयहरूमा उनका थुप्रै प्रकाशनहरू रहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर