मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने, सभामुखका लागि निर्वाचन – Nepal Press

मधेसका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने, सभामुखका लागि निर्वाचन

जनकपुरधाम । मधेश प्रदेशसभा आजको बैठकमा मुख्यमन्त्री सरोज यादवले विश्वासको मत लिने र सभामुखका लागि निर्वाचन हुने भएको छ ।

प्रदेशसभा सचिवालयले सोमवारका लागि बैठक डाकिएको थियो । पोखरामा भएको विमान दुर्घटनामा ७२ जनाको निधन भएपछि सोमवार शोक दिएकाले बैठक स्थगित गरिएको थियो ।

हिजो स्थगित बैठक आज दिउँसो १ बजेका लागि डाकिएको छ । बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत लिने र प्रस्तावित सभामुखहरूको सूची निर्माणार्थ प्रस्तुत गरिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव रञ्जित यादवले जानकारी दिए ।

सत्ता साझेदार दलहरूको समर्थनमा जसपा संसदीय दलका नेता यादवले पुस २७ मा मुख्यमन्त्री नियुक्त भए । २९ गते पद तथा गोपनीयताको शपथ लिएका उनले आज विश्वासको मत लिने तयारीमा छन् ।

यस्तै सभामुखका लागि सत्ता साझेदार दलहरूको तर्फबाट नेकपा एमालेका रामचन्द्र मण्डल र प्रतिपक्षी दल कांग्रेसका जंगीलाल राय उम्मेदवार बनेका छन् । लोसपा मण्डललाई समर्थन गरिसकेको छ भने नेकपा एस कुनै निर्णय गर्न सकेको छैन ।

प्रदेश सभामा एमालेका २३ , कांग्रेस २२, जसपा १६, जनमत १३, लोसपा र माओवादी केन्द्रका ९र९, नेकपा एसका सात सांसद छन् भने नेपाल संघीय समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका एक/एक सांसद छन् । यस्तै पाँच स्वतन्त्र सांसद छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर