स्थायी शिक्षक छाडेर राजनीतिमा, जनयुद्धको कमान्डरदेखि सभामुखसम्म – Nepal Press
तुलाराम घर्तीको संघर्षः

स्थायी शिक्षक छाडेर राजनीतिमा, जनयुद्धको कमान्डरदेखि सभामुखसम्म

रुपन्देही । स्थायी शिक्षकको जागिर छाडेर राजनीतिमा लागेका तुलाराम घर्ती मगर वसन्त लुम्बिनी प्रदेशको दोस्रो सभामुखमा निर्विरोध निर्वाचित बनेका छन् । नेकपा एमालेसहित सत्तारुढ दलको समर्थन पाएका उनलाई विपक्षी दलले समेत कुनै उम्मेदवार नउठाएपछि सर्वसम्मत बनेका हुन् ।

लुम्बिनी प्रदेशमा नेकपा माओवादीबाट ५ जना मात्रैले प्रत्यक्ष निर्वाचनमा जित निकाल्दा उनी पनि निर्वाचित भएका थिए । पाल्पाको क्षेत्र नं २ को २ बाट दोहोरिएर निर्वाचित भएका घर्ती माओवादीले सञ्चालन गरेका जनयुद्धका कमान्डर हुन् ।

२०२५ साल साउन ५ गते रोल्पाको रोल्पा नगरपालिका ३ मा जन्मिएका घर्ती २०४२ मा सपरिवार बसाइसराई गरी साबिक कपिलवस्तुको शिवगढी हालको शिवराज नगरपालिका–८ मा बसाई सरी आएका थिए ।

त्यसपछि २०६८ सालदेखि उनीको परिवार त्यहाँबाट पनि बसाइ सरेर अहिले पाल्पाको तिनाउ गाउँपालिका–३ मा बसोबास गर्दै आएका छन् । सानैदेखि राजनीतिमा रुचि राख्ने घर्ती २०४७ सालमा नेकपा मशालबाट औपचारिक रूपमा राजनीति सुरु गरे । घर्ती २०४८ मा नेकपा मशालको इलाका सदस्य र शिवगढी सांस्कृतिक परिवारको सचिव भएका थिए ।

२०५१ मा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य, २०५२ मा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव र समाजकै वैकल्पिक केन्द्रीय सदस्य बनेका घर्ती २०५३ देखि नेपाल आएर कपिलवस्तुदेखि भूमिगत भए । २०५३ सालको माघमा भूमिगत बनेका घर्ती २०६२ सालसम्म भूमिगत अवस्थामा नै रहेर काम गरे ।

२०५४ चैतदेखि माओवादीको पाल्पामा आएका घर्ती २०५५ वैशाखदेखि कार्यक्षेत्र पाल्पालाई बनाएका थिए । २०५६ मा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष भएका उनी २०५७ मा मगरात स्वायत्त मुक्तिमोर्चा पाल्पाको अध्यक्ष भए ।

यस्तै २०५८ मा माओवादी पाल्पा पश्चिम कमाण्ड इन्चार्ज, २०६० पाल्पा पार्टी सचिव, २०६१ मा रूपन्देही इन्चार्ज भएर काम गरे । साथै २०६२ मा जनआन्दोलन दाङ देउखुरी कमाण्ड इन्चार्ज भएका घर्ती २०६४ मा पाल्पा क्षेत्र नम्बर १ बाट संविधानसभा सदस्य उम्मेदवार बनेका थिए ।

२०६५ सालमा मगरहरुको साझा संस्था नेपाल मगर संघको केन्द्रीय महासचिब भएका घर्ती २०७० सालमा मगर संघको केन्द्रीय उपाध्यक्ष बने । २०७० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य बनेका घर्ती २०७४ साल प्रदेशसभाको निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २(२) बाट लुम्बिनी प्रदेशसभाको सदस्यमा निर्वाचित भए ।

घर्ती २०७५ सालमा नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भई बनेको नेपाल कम्युनिष्ट पार्टी नेकपाको पनि केन्द्रीय सदस्य बनेका थिए । नेकपा विभाजन पछि घर्ती नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश संसदीय दलको प्रमुख सचेतक बनेका थिए । यस्तै २०७८ सालमा भएको माओवादीको आठौँ महाधिवेशनबाट घर्ती पोलिटव्युरो सदस्यमा चयन भए । घर्ती पाल्पाका माओवादी इन्चार्ज हुन् ।

यस्तै २०७९ सालमा भएको प्रदेशसभाको निर्वाचनमा घर्ती पुनः पाल्पा २(२) बाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भए । सत्ता गठबन्धनको भागबन्डाअनुसार लुम्बिनी प्रदेशसभाको सभामुख माओवादीले पाउने सहमति भएको थियो । सभामुखमा माओवादीका तुलाराम घर्तीको उम्मेदवारी परेपछि उनी निर्विरोध रूपमा निर्वाचित भए । विपक्षी दलले समेत उनको पदमा उम्मेदवार नउठाएपछि उनी सर्वसम्मत सभामुख बनेका हुन् । पाल्पाको दोभानमा रहेको च्याउ खेती उनको उद्यम हो । श्रीमती दिलकुमारी रोकामगरले यो उद्यमलाई निरन्तर चलाइरहेकी छन् । एक छोरा र दुई छोरी रहेकोमा छोराबुहारी जापानमा बस्ने र दुई छोरीको विवाह भइसकेको छ ।

लुम्बिनीमा यसअघि पनि माओवादीबाट रोल्पाका पूर्णबहादुर घर्ती सभामुख बनेका थिए । प्रदेशको दोस्रो सभामुख पनि माओवादीको भागमा परेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर