एटीआर विमानको परीक्षण पूरा, कुनैमा प्राविधिक त्रुटि छैन : उड्डयन प्राधिकरण


काठमाडौं । नागरिक उड्डयन प्राधिकरणले नेपालमा सञ्चालित समपूर्ण एटीआर-४२ र एटीआर-७२ विमानमा कुनै प्राविधिक त्रुटि नभेटिएको जनाएको छ ।
प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाका अनुसार पोखरामा यती एअरलाइन्सको विमान दुर्घटनापछि सुरक्षा निरीक्षकहरुबाट हाल सञ्चालित विमानहरुको प्राविधिक परीक्षण गरिएकोमा कुनै त्रुटि नभएकाे जनाए ।
‘परीक्षणको क्रममा ति विमानहरुमा कुनै प्राविधिक त्रुटि फेला नपरेको व्यहोरा जानकारी गराइन्छ’, विज्ञप्तिमा उल्लेख गरिएको छ ।
त्यस्तै, प्राधिकरणले कुनै पनि विमानको नियमित उडान योग्यताको लागि दैनिक गरिने डेली इन्स्पेक्सन, उडानपूर्व गरिने प्रिफ्लाइट इन्स्पेक्सन, निश्चित अन्तरालमा गरिने स्केज्युल इन्स्पेक्सन जस्ता मर्मत सम्भार अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)को मापदण्ड तथा सिफारिस एवम् वायुयान निर्माता कम्पनीका मापदण्ड बमोजिम गर्ने गरिएको पनि जानकारी गराएको छ ।
आइतबार बिहान विमान दुर्घटना हुँदा ६९ जनाको मृत्यु भएको तथा तीनजना बेपत्ता भएका छन् । सरकारले हिजो सम्पूर्ण विमानहरुको प्राविधिक परीक्षण गर्न निर्देशन दिएको थियो ।