पुनर्निर्माणका बाँकी कामहरूको पूर्णता सरकारको प्राथमिकतामाः प्रधानमन्त्री प्रचण्ड – Nepal Press

पुनर्निर्माणका बाँकी कामहरूको पूर्णता सरकारको प्राथमिकतामाः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पुनर्निर्माणको क्षेत्रमा बाँकी रहेका कामहरूको पूर्णता अहिलेको सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

२५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा एक सन्देश जारी गर्दै उनले पुनर्निर्माणको क्षेत्रमा बाँकी कामहरूको पूर्णताका साथै भूकम्प प्रतिरोधी संरचना, चेतना र व्यवहारमा सिंगो देशलाई लयबद्ध बनाउने काम सरकारको प्राथमिकतामा रहेको बताएका हुन् ।

उनले आफ्नो दोस्रो प्रधानमन्त्रीकालमा पुनर्निर्माणका क्षेत्रमा थुप्रै महत्वपूर्ण कामहरू भएको दाबीसमेत गरेका छन् ।

‘मेरो दोस्रो प्रधानमन्त्रीकालमा पुनर्निर्माणका क्षेत्रमा भएका कामहरू सार्वजनिक गर्ने, त्यसको पारदर्शिता कायम गर्ने, निजी आवास पुनर्निर्माणका लागि दिइँदै आएको अनुदानमा एक लाख रुपैयाँ थप गर्ने, भूकम्पबाट क्षति भएका आवासहरूको प्रवलीकरणका निम्ति ५० हजार थप गर्ने, राष्ट्रिय सहमति र सहकार्यको वातावरणका साथ पुनर्निर्माणलाई तीव्रता दिने, भूकम्पबाट क्षतिग्रस्त सार्वजनिक संरचनाहरू द्रूत गतिमा पुनर्निर्माण गर्नेलगायतका महत्वपूर्ण कामहरू गरिएका थिए’, उनले सन्देशमा भनेका छन् ।

प्रधानमन्त्री दाहालले राज्यको तर्फबाट अवलम्बन गरिएका नीतिगत र कानूनी प्रबन्धहरूको कार्यान्वयन र पूर्वसचेतनाका क्षेत्रमा सरकारसँग हातेमालो गर्न आग्रह पनि गरेका छन् ।

‘भूकम्प सुरक्षित पूर्वाधार, सुरक्षित जीवनको आधार’ भन्ने मूल नाराका साथ २५औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस आज देशैभरि विविध कार्यक्रम गरी मनाइने तय भएको थियो । तर, आइतबार बिहान पोखरामा यती एयरलाइन्सको जहाज दुर्घटना भएपछि सरकारले सोमबार शोक बिदा दिएको छ । राष्ट्रिय भूकम्प दिवस अरु कुनै मनाइने बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *