सुदूरपश्चिममा सभामुख उपसभामुख चयन प्रक्रिया १६ औं दिनमा प्रवेश: के भन्छन् कानुन विद्हरू ? – Nepal Press

सुदूरपश्चिममा सभामुख उपसभामुख चयन प्रक्रिया १६ औं दिनमा प्रवेश: के भन्छन् कानुन विद्हरू ?

कैलाली । संविधानको धारा १८२मा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिनभित्र सभामुख र प्रदेश उपसभामुखको निर्वाचन गर्ने भन्ने उल्लेख छ । सुदूरपश्चिम प्रदेशमा यो समय सीमा भित्र सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपनि उपसभामुखको मनोनयन समेत दर्ता हुन सकेन ।

माघ २ गते सम्म प्रदेशमा सभामुख र उपसभामुख निर्वाचन भइसक्नु पर्ने हो । सभामुखको निर्वाचन प्रक्रिया सुरु भएपनि उपसभामुखको भने कुनै पनि प्रक्रिया अघि बढेन।

आज सभामुख चयन गरेर आजै उपसभामुखको निर्वाचन गर्ने प्रदेश सभा सचिवालयले तयारी गरे पनि आज प्रदेश सभा बैठक नै बस्न सकेन । आज बस्ने भनिएको प्रदेश सभा बैठक शोक बिदाका कारण भोलि बिहान १० बजे सम्मको लागि स्थगित गरिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ । भोलि १० बजे बस्ने प्रदेश सभा बैठकले सभामुख निर्वाचन प्रक्रिया अघि बढाउने छ ।

यहाँ कांग्रेसबाट मानबहादुर रावल र माओवादी केन्द्रबाट भीम भण्डारी सभामुखका उम्मेदवार छन्। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ सांसद आवश्यक पर्छ ।

पहिलो दिन २८ गते भएको निर्वाचनमा माओवादीका भण्डारीलाई सभामुख बन्न १ मत अपुग भएको थियो । ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा सभामुख निर्वाचित हुन २७ मत आवश्यक पर्छ । सुरुको दिन एक मत बदर हुँदा भण्डारीले २७ मत मात्रै पाए ।

३० गते भएको अर्को निर्वाचनमा नागरिक उन्मुक्तिका ७ सांसदले कतै पनि मत नदिएपछि भण्डारी र रावल दुवैको बहुमत पुग्न सकेन। सरकार आफ्ना माग सम्बोधनमा गम्भीर नभएको भन्दै नगरी उन्मुक्ति पार्टीले पक्ष र विपक्ष कतै मत नदिएपछि दुवैको बहुमत पुग्न सकेको थिएन ।

आज बिहान ९ बजेको सभामुख चयन गर्न बोलाइएको बैठक स्थगित भएपछि पहिलो बैठक बसेको १५ औँ दिन सम्म पनि सुदूरपश्चिमले सभामुख र उपसभामुख नपाएको हो । सुदूरपश्चिम प्रदेशमा १८ गते पहिलो बैठक बसेको थियो ।

कानुन विद्का व्याख्या

संविधानमा प्रदेश सभाको पहिलो बैठक प्रारम्भ भएको मितिले १५ दिन सभामुख र उपसभामुख निर्वाचन गरिसक्नु पर्ने उल्लेख छ । सभामुखले उपसभामुखको निर्वाचनको मिति र समय तोक्ने प्रदेश सभा नियमावलीमा छ । यी दुबै व्यवस्थाले आज अन्तिम दिन थियो । तर, आज बैठक नै बस्न सकेन ।
१५ दिन सम्म पनि सभामुख र उपसभामुख चयन गर्न नसक्नु दलहरूको असफलता मात्र नभई कानुनको उल्लंघन पनि भएको संविधानविद् डा भीमार्जुन आचार्य बताउँछन् । उनले संविधानले उल्लेख गरेको व्यवस्था पनि लागू गर्न सदस्य गम्भीर बन्नु पर्ने बताए ।
‘आज शोक बिदा भनेर हुँदैन १५ दिन भन्दा अघि नै गरिसक्नु पर्ने थियो ’उनले भने, ‘यस बिषयमा दलहरू गम्भीर भएनन्, यो कानुनको उन्लंघन हो ।’

प्रदेश सभा नियमावली मा सभामुखको निर्वाचन र ९ मा उपसभामुखको निर्वाचनबारे व्यवस्था छ ।प्रदेश सभा नियमावलीको धारा ९ को उपधारमा १ मा ‘उपसभामुखको निर्वाचन सभामुखले तोकेको दिन र समयमा हुने छ’ भन्ने उल्लेख छ ।

१५ दिन भित्र सभामुख चयन गरिसक्नु पर्ने र १५ दिन भित्रै सभामुखले उपसभामुखको लागि पनि निर्वाचन मिति र समय तोक्नु पर्ने हुँदा माघ २ गतेको भित्रै सभामुख र उपसभामुख चयन गरिसक्नुपर्ने हो । तर, आजका मिति सम्म न सभामुख चयन भए न उपसभामुख चयन हुने प्रक्रिया नै अघि बढ्यो ।

संविधान विद् भीमार्जुन आचार्यले सुदूरपश्चिममा दलहरूले संवैधानिक त्रुटि गरेको आरोप लगाउँदा कानुन विद् टिकाराम भट्टराई भने निर्वाचन प्रक्रिया सुरु भइसकेको हुँदा कानुन उंलग्घन भएको मान्न नसकिने बताउँछन् । ‘सभामुखको निर्वाचन प्रक्रिया सुरु भइसकेको छ । ढिला चाँडो हुन सक्न’ उनले भने ‘यसलाई कानुनको उल्लंघन मान्न सकिन्न’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर