देउखुरीमा मन्त्री-सांसददेखि कार्यकर्ता र कर्मचारीसम्मलाई कोठा खाेजिदिँदै पालिका – Nepal Press

देउखुरीमा मन्त्री-सांसददेखि कार्यकर्ता र कर्मचारीसम्मलाई कोठा खाेजिदिँदै पालिका

रुपन्देही । लुम्बिनी प्रदेशको राजधानी देउखुरीमा मन्त्रालय र विभिन्न सरकारी कार्यालय व्यवस्थापन हुन थालेपछि यहाँको चहलपहल बढेको छ । मन्त्री, सांसद, उनीहरु निकट कार्यकर्ता तथा सरकारी कर्मचारी मात्रै होइन विभिन्न संघसंस्थाले पनि अस्थायी तथा स्थायी बसोबासको व्यवस्थापन गर्न खोजिरहेका छन् ।

नयाँ स्थानमा धेरै जनघनत्व नभएको क्षेत्र भएकाले यसरी जानेहरुलाई बसोबासको समस्या पर्ने विषय उठिरहेको समयमा यहाँको स्थानीय पालिकाले प्रदेश सरकारकै समन्यवमा बसाई व्यवस्थापनको सहजीकरण गरेको छ ।

राप्ती गाउँपालिकामा पर्ने राजधानीका मन्त्रालय क्षेत्रमा उसले सबैभन्दा पहिले सबै भाडामा दिने घरहरुको लगत निकालेर न्युनतम भाडादर समेत तयार गरेर सार्वजनिक गरेको छ । स्थायी राजधानीमा अस्थायी संरचना निर्माण गरी राजधानी कार्यान्वयन गर्न सरकारले दवाव दिएको र बसाई व्यवस्थापनमा असहज भएको भन्दै त्यहाँ जान कर्मचारीहरूलेसमेत इन्कार गरेका समयमा पालिकाले यस्तो व्यवस्थापनको काम थालेको हो ।

कर्मचारीको विरोध मत्थर पार्न प्रदेश सरकारले हाललाई त्यहाँ जाने कर्मचारीलाई आवास सुविधासमेत दिने निर्णय गरेको थियो । आवास सुविधा पाएपनि कहाँ बस्ने चिन्ता कर्मचारीले गरिरहेका समयमा पालिकाले यस्तो विवरण सार्वजनिक गरेपछि धेरैलाई सहज हुने भएको छ ।
सुरुवाती चरणमा कर्मचारीलाई मात्र होइन, प्रदेशका सांसदहरू पनि सुरुवाती चरणमा कोठा, घरका लागि भौतारिनुपर्यो । कतिपय सांसद्हरूले कोठा नपाएकोसमेत गुनासो गरे ।

स्थायी राजधानी देउखुरीमा गत आइतबार शपथग्रहण गरेसँगै अब सांसद्हरूको बसाइ देउखुरीमा हुने भएपछि त्यहाँको राप्ती गाउँपालिकाले घरभाडा सहजीकरण इकाई गठन गरेको छ ।

कर्मचारी, सांसद्, सांसदका स्वकीय सबैलाई लक्षित गर्दै राप्ती गाउँपालिकाले डुकनारायण पोखरेललाई सम्पर्क व्यक्ति तोकेको हो । उक्त सम्पर्क इकाईले सोमबारदेखि काम थालेको छ ।

यसअघि राप्ती प्राविधिक शिक्षालय रहेको परिसरमा अहिले लुम्बिनी प्रदेशको राजधानीका संरचना छन् । करिब १८ विगाह क्षेत्रफलमा रहेको यही परिसरमा प्रदेश राजधानी केन्द्रीत गरिएको छ । यो सबै संरचना सरकारमा नाममा आइसकेको छ । प्रदेश सभा भवनदेखि मुख्यमन्त्री कार्यलय र अन्य धेरै मन्त्रालय यही परिसरभित्र छन् ।

परिसरको गेटबाट प्रवेश गर्नेबित्तिकै प्रदेशसभा भवनअगाडि प्रतिक्षालयजस्तो एउटा कक्षमा एकाइ स्थापना गरिएको छ । प्रदेशसभाको पहिलो बैठक बसेको दिन यो एकाइ स्थापना गरिएको हो ।

एकाइ स्थापना गरिएको ठाउँमा राप्ती गाउँपालिकाका अध्यक्ष प्रताप विष्ट, प्रमुख प्रशासकीय अधिकृत नेत्रबहादुर वलीसहित ५ जनाको सम्पर्क नम्बर राखिएको छ । साथै सहजकर्ता डुकनारायण पोखरेलका साथमा कोठा भाडामा दिन चाहने १ सय ४५ जना घनधनीको सम्पर्क नम्बर पनि लेखिएको छ ।

गाउँपालिकाको १, २, ३, ४, ५ र ८ नम्बर वडाका १४५ घरधनीको विवरण पालिकामा आएको र अब सांसदहरू एवं कर्मचारीलाई कोठा भाडामा वा घरभाडामा चाहिएको अवस्थामा आफूहरूले व्यवस्था मिलाउने सहजकर्ता पोखरेलको भनाइ छ ।

भालुवाङदेखि सिसहनियाको सिंगे खोलासम्मको क्षेत्रमा सांसदहरूलाई भाडामा बस्ने कोठा मिलाउन सहजीकरण गर्ने गरी इकाई गठन गरेर काम थालिएको राप्ती गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले बताए ।

पालिकाले सांसद् तथा कर्मचारीहरूका लागि घरभाडा पनि तोकेको छ । जसअनुसार बाथरुमसहितको कोठा ३ हजार, मध्यम कोठा २ हजार ८०० र सामान्य कोठाका लागि २ हजार २०० रुपैयाँ निर्धारण गरिएको छ ।पूर्वमन्त्री तथा सो क्षेत्रका सांसद इन्द्रजित चौधरीले राजधानीमा आउने कर्मचारी, सांसद तथा अन्य व्यक्तिलाई कोठा सहजरुपले पाउने व्यवस्थापन गरिएको बताए ।

ऊर्जा मन्त्रालयमा कार्यरत कर्मचारी केशव मरासिनीले कोठाभाडामा खोज्नका लागि पालिकाले सार्वजनिक गरेको विवरण हेरेपछि सहज हुने ठानेर अहिले नै जान नहतारिएको बताए । अहिले मुख्यमन्त्री कार्यालयसहितका दुई मन्त्रालय मात्र त्यहाँ पुगेका छन् ।

अरु सबै मन्त्रालय व्यवस्थापन हुँदै छन् । बोर्डहरु राखिएपनि कर्मचारीले बुटवलबाटै काम गरिरहेका छन् । मुख्यमन्त्री कार्यालय र प्रदेश सभाका सबै सामान र कर्मचारी पुगेपनि अन्य अधिकांश मन्त्रालय बुटवलबाट सारिसकेको अवस्था छैन ।सो क्षेत्रमा रहेको करिब १२ सय विद्यार्थीले अध्ययन गर्ने शिक्षालय अहिले अर्को पालिकामा लगिएकाले पनि यहाँका कोठाहरु खाली भएका छन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *