माओवादीबाट सुदन र रेखा मन्त्री बन्ने ‘फिक्स’, तेस्रो नाममा छलफल जारी – Nepal Press

माओवादीबाट सुदन र रेखा मन्त्री बन्ने ‘फिक्स’, तेस्रो नाममा छलफल जारी

काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारमा पठाउने मन्त्रीहरुको नाम लगभग टुंग्याएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीहरुको नाममा सहमति जुटाएको हो ।

माओवादीबाट रेखा शर्मा र सुदन किँराती दुईमन्त्री बन्ने पक्का भएको एक पदाधिकारीले नेपाल प्रेसलाई जानकारी दिए ।

ती नेताले भने, ‘रेखाजीले प्रधानमन्त्री र एमाले अध्यक्ष केपी शर्मा ओलीजीबाट उपराष्ट्रिपतिका लागि आएकोे प्रस्तावसमेत अस्वीकार गरिसक्नुभयो । त्यसैले, उहाँको मन्त्री पद सुरक्षित रह्यो । प्रदेश १ बाट पटक पटक जितेर पनि अवसर नपाउनुभएकाले अध्यक्षज्यूले नै सुदनलाई रोज्नुभएको छ ।’

मधेशबाट माओवादीको चुनाव चिह्नबाट जितेर आएका नेपाल समाजवादी पार्टीका सहअध्यक्ष महिन्द्र राय यादवलाई सरकारमा लान नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले दबाब दिइरहेका छन् ।

‘मधेशबाट पार्टीको चुनाव चिह्नबाट जितेर आउनुभएको छ । महिन्द्रजीलाई सरकारमा सहभागी गराउन पार्टीभित्र दबाब छ । अब कसरी समेटर लानुहुन्छ प्रधानमन्त्रीकै हातमा छ’, ती नेताले भने ।

नेपाल समाजवादी पार्टीसँग पार्टी एकता प्रक्रिया पनि अगाडि बढेकाले यादवलाई सरकारमा सहभागी गराउनुपर्ने दबाबमा प्रधानमन्त्री प्रचण्डमाथि छ ।

सत्ता साझेदारमा माओवादीबाट प्रधानमन्त्रीसहित बढीमा ६ जना मात्रै सहभागी पाउने भएका छन् । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानमन्त्री तथा भौतिक पुर्वाधार मन्त्री नारायणकाजी श्रेष्ठ सहभागी भइसकेका छन् ।

माओवादीले कम्तीमा ४ मन्त्रालयको दाबी गरेपनि साझेदार दलहरुमा भागवण्डा गर्दा थप ३ जनामा भन्दा धेरै पाउने अवस्था छैन ।

यद्यपी, यही बिषयमा प्रधानमन्त्री प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् । मन्त्रालयको भागबण्डा टुंग्याउन आज सत्ता साझेदार दलको बैठक पनि बस्दैछ ।

भागमा पर्ने तीन मन्त्रालयमा शर्मा र किरातीलाई सरकारमा सहभागी गराउने विषयमा विवाद नभएपनि यादवबारे सहमति बन्न नसकेको नेताहरु बताउँछन् ।

उनको ठाउँमा सिन्धुपाल्चोकका माधव सापकोटा ‘सुवोध’लाई सहभागी गराउन चर्को दबाब छ । सुवोधलाई मन्त्री बनाउन पूर्वसभामुख अग्निप्रसाद सापकोटा आफैं लागेका छन् । सुवोध अग्निका भतिजा हुन् ।

यस्तै, नुवाकोटका हितबहादुर तामाङ र रुकुमपूर्वका पूर्ण घर्तीलाई पनि मन्त्री बनाउनुपर्नेमा पार्टीभित्र छलफल चलिरहेको अर्का एक नेताले बताए ।


प्रतिक्रिया

One thought on “माओवादीबाट सुदन र रेखा मन्त्री बन्ने ‘फिक्स’, तेस्रो नाममा छलफल जारी

  1. अग्नीले माधवलाई मन्त्री बनाएर आफ्ना काम पट्याउने हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर