मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने, माओवादीका दुई मन्त्री पनि थप्ने तयारी – Nepal Press

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने, माओवादीका दुई मन्त्री पनि थप्ने तयारी

विराटनगर । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री हिक्मत कार्कीले आज विश्वासको मत लिँदैछन् ।

बिहान ११ बजेदेखि सुरू हुने प्रदेशसभा बैठकमा कार्कीले विश्वासको मत लिने कार्यसूची रहेको प्रदेशसभा सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।

९३ सदस्यीय प्रदेश १ सभामा मुख्यमन्त्री कार्कीलाई एमालेका ४०, माओवादीका १३, राप्रपाका ६ र जसपाका १ गरी ६० सांसदको समर्थन छ ।

यसैबीच माओवादीका दुई मन्त्रीलाई पनि आजै नियुक्त गर्ने तयारी छ । उनीहरूको शपथ १० बजेलाई तय गरिएको प्रदेश प्रमुख कार्यालय स्रोतले बताएको छ ।

सुरूमा आलोपालोको कुरा उठाएर सरकारमा नगएको माओवादीले हिजो बसेको इन्चार्ज, सह-इन्चार्जसहित प्रदेश पदाधिकारीको बैठकबाट सातजनाको नाम सिफारिस गरिएपनि दुई जनाको नाम पक्कापक्की भएको माओवादी स्रोतले बताएको छ ।

स्थायी कमिटी सदस्य तथा लेखा आयोग अध्यक्ष पेशल खतिवडाका अनुसार सिफारिस भएकाहरुमा पहिलो नम्बरमा संखुवासभाका राजेन्द्र कार्की, दोस्रो नम्बरमा तेह्रथुमका दुर्गाप्रसाद चापागाईं, तेस्रो नम्बरमा मोरङका गणेश उप्रेती, चौथो नम्बरमा मोरङकै जीवन आचार्य, पाँचौं नम्बरमा उदयपुरका राजेन्द्र किराँती, छैटौं नम्बरमा उदयपुरकै नारायण बुर्जा मगर र सातौं नम्बरमा सोलुखुम्बुका गोम्बु शेर्पा छन् ।

तर, तेह्रथुमका दुर्गा र मोरङका जीवन आचार्यलाई मन्त्री बनाइने बताइएको छ । आचार्य प्रधानमन्त्री एवं माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का कान्छा ज्वाइँ हुन् ।

अहिले प्रदेश १ मा एमाले, राप्रपा, जसपा सम्मिलित ४ सदस्यीय मन्त्रिमण्डल छ । माओवादीले सुरूमा कम्तीमा तीनवटा मन्त्रालय मागेको छ । मुख्यमन्त्री कार्कीले भने भौतिक पूर्वाधार विकास तथा योजना मन्त्रालय र पर्यटन, वन तथा वातावरण मन्त्रालय लिन प्रस्ताव गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर