टिकटकबाट पनि जुवा ! लाखौंको कारोबारमा संलग्न चार जुवाडे पक्राउ – Nepal Press

टिकटकबाट पनि जुवा ! लाखौंको कारोबारमा संलग्न चार जुवाडे पक्राउ

काठमाडौं । काठमाडौं उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्दै विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेको पाइएको छ ।

यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । सामाजिक सञ्जालको दुरुपयोग गरी टिकटक लाइभबाट जुवा खेलाउने गरेपछि प्रहरीले निगरानी बढाएको हो ।

उपत्यकाभित्र केही व्यक्तिले ई-सेवालगायत अन्य डिजिटल वालेटमा विभिन्न व्यक्तिमार्फत रकम जम्मा गराई लाभ लिने उद्देश्यले टिकटकमार्फत रकमको बाजी राखी जुवा, तास खेलाउने गरेको सूचना आएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले अनुसन्धान थालेको थियो ।

उक्त अनुसन्धान टोलीले उपत्यकाको ग्वार्को, सूर्यविनायक, लोकन्थलीलगायत स्थानमा खोजी अभियान चलाउँदा टिकटक लाइभमार्फत जुवा खेल्दै र खेलाउँदै गरेको अवस्थामा चारजनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

प्रहरीले जुवा खेलेको अवस्थामा दाङ घर भइ ग्वार्को बस्ने ऋषिप्रकाश योगी, भक्तपुरको सूर्यविनायक बस्ने कपिल गिरी, भक्तपुरको थिमि बस्ने प्रेम कठाडत र कैलालीका डिल्लीराज अवस्थीलाई रङ्गेहात फेला पारी पक्राउ गरेर कारबाही थालेको छ । उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ को दफा १२५ को उपदफा १ बमोजिम जुवा कसुरमा आवश्यक कारबाहीका लागि ललितपुर र भक्तपुरका सम्बन्धित प्रहरीमा बुझाइएको छ ।

पक्राउ परेकामध्ये योगीले पब्जी र पब्जी-२ नामक टिकटक बनाइ दुई ई-सेवा वालेटमा विभिन्न व्यक्तिलाई रकम जम्मा गर्न लगाएर एक महिना १० दिनको अवधिमा जुवा खेलाएर २८ लाख ७३ हजार कारोबार गरेको पाइएको छ । यस्तै गिरीले पोकर किङ नामक टिकटक खोली ३ ई-सेवा वालेटमा १० दिनको अवधिमा ५३ हजार रकम कारोबार गरेका छन् भने कडायत र अवस्थीले प्रेम नामक टिकटकमार्फत ई-सेवा वालेटमा एक महिना ६ दिनको अवधिमा जुवा खेलाएर ९३ हजार कारोबार गरेको पाइएको छ ।

चारैजनाको साथबाट टिकटक लाइभ जुवा, तास खेल्न खेलाउन प्रयोग गरेका मोबाइल, विभिन्न व्यक्तिका नाम र रकम उल्लेख भएको रजिष्टर, जुवा खेलाउन प्रयोग भएको ३२ बुक तासलगायत बरामद गरेको प्रहरी उपरीक्षक कोइरालाले जानकारी दिए ।

-रासस


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर