ठूला उद्योगमा लोडसेडिङ, उद्योगीहरु भन्छन्- कुलमान कुरै सुन्दैनन् – Nepal Press

ठूला उद्योगमा लोडसेडिङ, उद्योगीहरु भन्छन्- कुलमान कुरै सुन्दैनन्

काठमाडौं । भारतबाट आउने विद्युतमा समस्या आएपछि देशका ठूला उद्योगमा लोडसेडिङ सुरु भएको छ । नेपालले भारतलाई विद्युत बिक्री गरेको चर्चा चुलिएको वेला नेपालकै ठूला उद्योगहरु लोडसेडिङको मारमा परेका छन् । लोडसेडिङका कारण उद्योग नै बन्द गर्नुपर्ने अवस्था आएको उद्योगीहरु बताउँछन् ।

नेपाल विद्युत प्राधिकरणका अनुसार सोमबारबाट विद्युत निर्यातमा प्रयोग हुने मेसिन (जेनेरेटर) बिग्रिएकाले विद्युत आयातमा समस्या आएको छ । प्राधिकरणका प्रवक्ता सुरेशप्रसाद भट्टराईले मेसिन बिग्रिएकाले विद्युत आपूर्तिमा समस्या आएको बताए । त्यसैले ठूला उद्योगमा विद्युत दिन केही समस्या भएको उनले नेपालप्रेसलाई बताए ।

‘सोमबारबाट विद्युत आयातमा केही समस्या आएको छ । भारतबाट विद्युत आयात हुन नसकेकाले ठूला उद्योगहरुलाई मागअनुसारको विद्युत दिन सकिएको छैन’, प्रवक्ता भट्टराईले भने, ‘अहिले ठूला उद्योगहरुलाई २ सिफ्टमा मात्रै चलाउन भनेका छौं । केही दिनमै मर्मत गरेर मागअनुसारको विद्युत वितरण गर्नेछौं ।’

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेशलाल श्रेष्ठले विद्युत आयातमा समस्या भएकाले तराईका धेरै उद्योगहरु बन्द रहेको बताए ।

‘अहिले कतै गएर भन्ने ठाउँ पनि छैन । कुलमान घिसिङलाई भन्न जाँदा उहाँ हाम्रो कुरै सुन्नुहुन्न । अब प्रधानमन्त्रीलाई नै भेटेर प्राधिकरणले मागअनुसार विद्युत नदिएकाले धेरै उद्योग बन्द हुने जानकारी गराउँछौं’, उनले भने, ‘प्राधिकरणको एकाधिकारले पनि उद्योगीहरु धेरै समस्यामा परेका छन् । अहिले प्राधिकरणले विद्युत दिएन भन्दा हामीलाई नै गाली गर्ने अवस्था छ ।’

उनले उद्योग बन्द हुँदा कसैको पनि ध्यान नजाने गरेको दुःखेसो पोखे । तर, यहाँ रेमिटेन्स बन्द गर्छौं भन्यो भने सरकार तत्कालै समस्या समाधन गराउन लागिपर्ने अवस्था रहेको श्रेष्ठले बताए ।

पछिल्लो समय विद्युत नियमित नभएकाले उद्योग स्थापना गर्ने योजनालाई पनि थाती राखेको उद्योगीहरु बताउँछन् । भएका उद्योगहरु पनि विद्युत नियमित नभएको कारण समस्यामा छन् ।

पिक आवरको समयमा उद्योगमा लोडसेडिङ गरिएकाले समस्या भएको उद्योगीहरु बताउँछन् ।


प्रतिक्रिया

One thought on “ठूला उद्योगमा लोडसेडिङ, उद्योगीहरु भन्छन्- कुलमान कुरै सुन्दैनन्

  1. व्यक्तिलाई भगवान बनाउदा को परिणाम हो उनलेे यूटुव र अनलाइन पत्रिकामार्फत आफ्नो व्यक्तिगत स्वार्थको लागि निकै खर्च गरेका छन् भन्ने बजार हल्ला त्यतिकै त आएको होइन होला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर