नेपाल टेलिकमको प्रतिसेयर ४० रुपैयाँ बोनस पारित – Nepal Press

नेपाल टेलिकमको प्रतिसेयर ४० रुपैयाँ बोनस पारित

काठमाडौँ । नेपाल दूरसञ्चार कम्पनी लिमिटेडको १५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । आज बिहीबार राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौमा कम्पनीले आफ्नो साधारणसभा सम्पन्न गरेको हो ।

सभाले आर्थिक वर्ष २०७८/0७९ को मुनाफा रकम मध्येबाट प्रतिसेयर ४० रुपैयाँका दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।

सभामा आर्थिक वर्ष २०७८/०७९मा आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताका बीच कम्पनीले कुल ४४ अर्ब ३७ करोड रुपैयाँ राजश्व आम्दानी गरी ८ अर्ब ४७ करोड रुपैयाँ खुद नाफा गर्न सफल भएको, यो नाफा गत वर्षको भन्दा १ अर्ब ३५ करोड रुपैयाँले बढी भएको, यसका साथै कम्पनीले कर तथा शुल्क वापत आफ्नो कुल आयको ५९.५२ प्रतिशत अर्थात् २६ अर्ब ४१ करोड रुपैयाँ राजश्वका रुपमा नेपाल सरकारलाई बुझाएको र सञ्चालक समितिले प्रति सेयर ४० रुपैयाँ लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृतिका लागि यस सभामा पेश गर्ने निर्णय गरेको अध्यक्षय अर्याले बताए ।

उक्त सभाले आर्थिक वर्ष २०७८/७९ को लागि सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७८/७९ को वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूची उपर छलफल गरी सर्वसम्मतले पारित गरेको टेलिकमले जनाएको छ ।

यसैैगरी सभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आ.व. २०७९र८० को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउण्टेण्ट महेशकुमार गुरागाईं र चार्टर्ड एकाउण्टेण्ट पियुष आनन्दलाई लेखापरीक्षक नियुक्त गरेको छ ।

सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुण्ठ अर्यालले सभामा उपस्थित शेयरधनीलाई स्वागत गर्दै कम्पनीको पन्ध्रौँ वार्षिक प्रतिवेदन पेश गरेका थिए ।

त्यसैगरी उनले कोभिड-१९ को महामारी तथा यसको प्रभाव र असरकाबिच कम्पनीले सापेक्षित सफलता पाएको उल्लेख गर्दै दूरसञ्चार क्षेत्रको विश्वबजारमा विकास भइरहेका नवीनतम र अत्याधुनिक प्रविधिको प्रयोग गरी सेवालाई थप गुणस्तरीय बनाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

यस सभाले पारित गरे बमोजिमको लाभांश रकम आज देखि एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर