प्रदेश १ : आकांक्षी धेरै हुँदा मन्त्री छान्न माओवादीलाई सकस – Nepal Press

प्रदेश १ : आकांक्षी धेरै हुँदा मन्त्री छान्न माओवादीलाई सकस

तीनजना पठाउन लाग्दा यी ६ जनाको दाबी

विराटनगर । प्रदेश १ माओवादी सरकारमा क-कसलाई पठाउने भन्ने विवादमा फसेको छ ।

आज थप मन्त्रीको शपथ तयारी भएपनि आन्तरिक कुरा नमिल्दा शपथग्रहण कार्यक्रम भोलिलाई सारिएको हो । मन्त्रीहरू छान्न पार्टीको प्रदेश १ समिति पदाधिकारीको बैठक बसेपनि निष्कर्ष निस्किएन । मुख्यमन्त्री हिक्मत कार्कीसँगको सल्लाहमा आज माओवादीबाट प्रदेश १ सरकारमा सहभागी मन्त्रीहरूको शपथ गराउने कार्यक्रम तय भएको थियो ।

मन्त्री बन्ने आकांक्षी धेरै भएकाले निर्णय गर्न नसकेको माओवादी प्रदेश १ कमिटीका उपाध्यक्ष शिव डाँगीले नेपाल प्रेसलाई बताए । बिहीबार बिहानैबाट नेताहरू चरण-चरणमा छलफल गरिरहेका छन् । बैठकमा प्रदेश इन्चार्ज राम कार्की ‘पार्थ’, सहइञ्चार्ज सावित्रीकुमार काफ्ले, धर्मशिला चापागाईँलगायत सहभागी छन् ।

माओवादीले तीन जनालाई मन्त्री बनाउने तयारी गरिरहेको छ । प्रदेश १ मा माओवादीले बनाएको किराँत, लिम्बूवान र कोचिलाबाट एक-एक जनालाई प्रदेश सरकारमा पठाउने तयारी गरेको सहइन्चार्ज सावित्रीकुमार काफ्लेले नेपाल प्रेसलाई बताए ।

लिम्बूवानबाट तेह्रथुमका दुर्गाप्रसाद चापागाईँ ‘सचिन’ को नाम टुंगो लागेको छ । कोचिलाबाट प्रदेश सचिव तथा मोरङ २ (१) बाट विजयी गणेश उप्रेती ‘शुशिल’ र क्षेत्र नम्बर ६ ( १) बाट विजयी जीवन आचार्यका बीचमा प्रतिस्पर्धा छ ।

यस्तै तात्कालीन किराँत प्रदेशबाट भने कर्जयाङ शेर्पा, नारायण बुर्जाका बीच प्रतिस्पर्धा रहेको माओवादी स्रोतको भनाइ छ । संखुवासभबाट जितेका राजेन्द्र कार्कीले पनि दाबी गरिरहेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर