पृथ्वी जयन्तीमा राष्ट्रिय एकताको सन्देश- अहिले पनि उत्तिकै सान्दर्भिक छ दिव्योपदेश – Nepal Press
सन्दर्भ : पृथ्वी जयन्ती

पृथ्वी जयन्तीमा राष्ट्रिय एकताको सन्देश- अहिले पनि उत्तिकै सान्दर्भिक छ दिव्योपदेश

नेपाल एकीकरणको कुरा गर्दा राजा पृथ्वीनारायण शाहको नाम अग्रपंक्तिमा आउँछ । सायद उनले बाइसे-चौबीसे राज्यलाई एकीकरण गरी विशाल नेपाल राज्यको स्थापना अघि नबढाएको भए आज हामी नेपाली भनेर गर्व गर्ने अवसर पाउँथ्यौं वा पाउँदैनथ्यौं कसैलाई थाहा छैन । विश्व मानचित्रमा स्वर्णिम नाम नेपाल हाम्रा वीर पुर्खाहरुकै योगदानको फल हो । त्यसो त आज ती नै वीर पुर्खाहरुको योगदानलाई नजरअन्दाज गर्दै अपमानको नजरले हेर्ने प्रवृत्ति हाम्रो राजनीतिले अनुसरण गरेको छ । जुन निकै दुःखद र लज्जास्पद अवस्था हो ।

हुन त पछिल्लो समय विभिन्न राजनीतिक दलले राष्ट्र निर्माता पृथ्वीनारायण शाहको जन्म जयन्ती पुस २७ लाई नेपालको एकता दिवसका रूपमा मनाउन सरकारसँग माग गरिरहे पनि त्यो पूरा हुन सकेको थिएन । त्यो उनीहरुको राजनीतिक स्टन्ट हो वा वास्तविकतामै चाहन्छन् ? त्यो उनीहरुलाई नै थाहा होला । तर, आवश्यकता भने यही नै हो । विश्वका अधिकांश मुलुकमा राष्ट्रिय दिवसलाई विशेष महत्त्व दिँदै उल्लासका साथ मनाउने गर्छन् । तर, हामीकहाँ भने नेपालको राष्ट्रिय दिवसको झल्को दिने कुनै पर्व छैन । यस्तो अवस्थामा पृथ्वीनारायण शाहको जन्मोत्सवलाई राष्ट्रिय दिवसको रुपमा मनाउन सकिए इतिहास र पुर्खाको सम्मानसँगै एकताको एउटा बिगुल सार्थक हुने थियो ।

पछिल्लो समय राष्ट्रिय एकताको आवश्यकताको जुन रुपमा अनुभूत हुँदै गएको छ यो कुरा देशलाई माया गर्ने सबै नेपालीले महसुस गरिरहेका छन् । यस्तो अवस्थामा नेपाल सरकारले पुस २७ लाई पृथ्वी जयन्तीमात्र होइन, राष्ट्रिय एकता दिवसको रुपमा भव्यताका साथ मनाउनुपर्छ । यति गर्न सकेमात्र पनि पुर्खाको योगदानमा अलिकति भए पनि सम्मान हुन्छ ।

१० वर्षे जनयुद्ध र त्यसपछिको परिवर्तित नेपालको राजनीतिक घटनाक्रमले जुन मोड लियो, त्यो परिवर्तनको एउटा विन्दु थियो होला । तर, जुन रुपमा इतिहासको उपेक्षा गरियो । त्यो बिर्सनलायक प्रायः छ । राजनीति सिद्धान्त र पार्टीबीच विचार र धारणा फरक हुनु स्वाभाविक हो । तर, राष्ट्रिय स्वाभीमानको विषयमा मत विभाज्य हुनु पक्कै राम्रो होइन ।

पछिल्लो समय राष्ट्रिय एकताको आवश्यकताको जुन रुपमा अनुभूत हुँदै गएको छ यो कुरा देशलाई माया गर्ने सबै नेपालीले महसुस गरिरहेका छन् । यस्तो अवस्थामा नेपाल सरकारले पुस २७ लाई पृथ्वी जयन्तीमात्र होइन, राष्ट्रिय एकता दिवसको रुपमा भव्यताका साथ मनाउनुपर्छ ।

अनेकतामा एकता त्यसै भनिएको थिएन नेपाललाई । ‘घूस लिन्या र घूस दिन्या दुवै राष्ट्रका शत्रु हुन्’, ‘नेपाल दुई ढुंगाबीचको तरुल हो’ यस्ता दिव्योपदेशका दूरगामी परिभाषा के अहिलेका राजनीतिक वृत्तले आत्मसात गरेका छन् ? स–साना राज्यमा बाँडिएका बाइसे र चौबीसे राज्यलाई एकता गरी सिङ्गो एक सुन्दर राष्ट्रको निर्माण गर्ने श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाह (विसं १७७९–१८३१) आधुनिक नेपालका राष्ट्र निर्माता हुन्, जुन कुरा सबैले बुझ्नु जरुरी छ । उनको जन्म दिनलाई राष्ट्रिय दिवसको रुपमा मनाउँदा उनको जन्म दिनमात्र होइन सिंगो नेपालको पहिचानसँगै नेपालीपन जुर्मुराएको दिनको आभास गर्न सकिन्छ । उनले प्रस्तुत गरेका राष्ट्रवाद, समाजवाद र अविभाज्य नेपालको अवधारणा इतिहासको चिरकालसम्म अजर नै रहनेछन् ।

सधैं सान्दर्भिक पृथ्वीनारायणका ‘दिव्योपदेश’

  • बुढा मरै भाषा सरै भनी भन्छन् । तिमीहरू सबै छेउ सुनाइ गयाको भया तम्रा सन्तानलाई सुनाउला र तम्रा सन्तानले हाम्रा सन्तानलाई सुनाउन र यो राजे थामि षानन् ।
  • चन्द्रागिरीमा आइपुग्यापछि नेपाल कुन् हो भनि सुध्याँञा र त्यो भादगाउँ हो । त्यो पाटन । त्यो काठमाडौं हो । भनि देषा(या) र । मेरो मनमा इ तीन सहरको राजा हुन पाया ता हुँदो हो भन्ने यस्तो मनमा परिरहेथ्यो ।
  • लमजुङ भन्याको गरुड हो । गोर्षा भन्याको सर्प हो । नेपाल भन्याको भ्यागुता हो । अघी गरुडको आषा छलनु । तब सर्पले भ्यागुतो षान पाउँछ ।
  • उप्रान्त ।। यो राजे दुई ढुङ्गाको तरुल जस्तो रहेछ । चीन बादशाहसित ठूलो घाहा राष्नु । दषिनको समुन्द्रका बादशाहसित घाहा ता राषनु । तर त्यो महाचतुर छ ।
  • यो तिन सहर भन्याको चिस्व ढुंगो रहेछ । षेलषालमात्र ठूलो रहेछ । कुपको पानि षान्याछेउ बुधि पनी हुँदैन । सुरो पनि हुँदैन ।
  • तिनै सहर नेपालको नेवारहरूको नाच झिकाई हे‍¥या पनि हुन्छ । ईनमा ता दियाको पनि आफ्नै देसमा रहंछ । यस्व भया आफ्नु देस गमन रहन्छ ।।
  • षानी भयाका ठाउँमा गाउ भया पनि गाउ अरु जग्गामा सारिकन पनि षानि चलाउनु । गह्रो बन्या जग्गामा घर भया पनि घर अरु जग्गामा सारि कुलो काटि षेत बनाइ आवाद गर्नु ।
  • पुरुव पछिमका षस बाहुनलाई दरबारमा पैठ् हुन नदिनु । क्यान भनौला बाहिडा मान्छ्याले दरबारमा विथिति गराउछन् ।
  • आफ्ना देसको जिनीस् जरिबुटि देस लैजानु र नगद षैचनु । नगद षैचि राषनु र प्रजा मोटा भया दर्बार बलियो रहन्छ । राजाका भण्डार भन्याका रैतानहरू हुन् ।
  • मेरा साना दुषले आज्र्याको मुलुक होइन । सबै जातको फूलबारी हो । सबैलाई चेतना भया । यो फूलबारीको छोटा बडा चारै जात छत्तीसै बर्नले (यसलाई सम्भार गर्नु पर्दछ) ।

राजनीति सिद्धान्त र पार्टीबीच विचार र धारणा फरक हुनु स्वाभाविक हो । तर, राष्ट्रिय स्वाभीमानको विषयमा मत विभाज्य हुनु पक्कै राम्रो होइन ।

उनले हिमालयको दक्षिणी भागमा रहेका साना राज्यमाथि औपनिवेशिक खतराको परिकल्पना नगरेको भए आज हामी नेपाली भनेर छाती चौडा गर्न पाउने थिएनौं । दक्षिणमा मुगल साम्राज्यको पतनपछि युरोपेली उपनिवेशवाद दक्षिणपूर्वी एसियामा ठूलो संख्यामा व्यापारीको रूपमा प्रवेश गरे । जुन खतराको घण्टी थियो । उनीहरुले सुरु गरेको उपनिवेशले नेपाल पनि अछुतो थिएन । पूर्वी असमदेखि पश्चिम कश्मीरसम्म र दक्षिणमा गंगा नदी र ब्रह्मपुत्र नदीसम्म पूर्वदेखि पश्चिम र उत्तरदेखि दक्षिणसम्म फैलिएको भूभाग दर्जनौं राज्यमा विभक्त थिए । यो नेपालको लागि मुख्य कमजोरी र खतरा हो भन्ने राजा पृथ्वीनारायण शाहले बुझेका थिए । जसको फलस्वरूप २० वर्षको कलिलो उमेरमा शत्रुहरूसँग लड्दै एक शक्तिशाली राष्ट्र निर्माण गर्न टुक्रे राज्यहरुलाई एकीकरणको अभियान चलाए र जीवनको लामो समय नेपालको एकीकरणमा खर्च गरे । उनै राजाले बेलायती उपनिवेशवादबाट नेपाललाई नबचाएको भए हामी नेपाली हुने थियौं होला र ? हो, तिनै बृहत्तर नेपालका निर्माताको सम्झनालाई हामीले किन दिवसको रुपमा नमनाउने ?

१६१४-१६१६ को अंग्रेज युद्धपछि ब्रिटिस उपनिवेशले बृहत्तर नेपालको झन्डै आधा नेपाली भूमि लुट्यो र आफ्नो नयाँ उपनिवेश भारतमा विलय गर्‍यो । तथाकथित सुगौली सन्धिले त झन नेपालको भूमिमाथि पूर्व, पश्चिम र दक्षिण तीनैतिरबाट भारतले भूपरिवेष्ठित अखडा जमायो । अझ भनौं कब्जा गर्‍यो । केपी ओली सरकारले नक्सा जारी गरेको कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्तामा पनि त्यसैताका भारतले कब्जा गरेको थियो । जुन भूमिमाथि अझै भारतले हैकम जमाइरहेको छ । भूपरिवेष्ठित हुनुको फाइदा उठाउँदै भारतले हामीलाई समय-समयमा आर्थिक नाकाबन्दीदेखिका हर्कतसमेत गर्दै आएको छ ।

हामीले नक्सा त जारी गर्‍यौं । तर, आफ्नै भूभाग फिर्तीको लागि कुनै ठोस कदम चाल्न सकेका छैनौं । भर्खरै भारतीय पक्षले हाम्रै भूमिमा मजबुत बाटो विस्तारलाई तिब्रता दिएको छ । तर, हाम्रो सरकारी पक्ष मौन छ । के हाम्रा पुर्खाहरुले यस्तै दासत्वको सिद्धान्त सिकाएका थिए ? अब समय आएको छ । भारतीय उपनिवेशमा विलय भएको ग्रेटर नेपालको भूभाग नेपालले दाबी गर्ने । जुन भूमि कहिल्यै भारतको थिएन र हुन सक्दैन । यो गर्न सकेमा उता बङ्गलादेशसँग सीधा सम्पर्क हुन्छ भने भारतको परनिर्भरता हट्नेछ ।

अब समय आएको छ । भारतीय उपनिवेशमा विलय भएको ग्रेटर नेपालको भूभाग नेपालले दाबी गर्ने । जुन भूमि कहिल्यै भारतको थिएन र हुन सक्दैन । यो गर्न सकेमा उता बङ्गलादेशसँग सीधा सम्पर्क हुन्छ भने भारतको परनिर्भरता हट्नेछ ।

राजा पृथ्वीनारायण शाहकै एकीकरण अभियानका कारण नेपालको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदीसम्म विस्तार भएको थियो । जुन भूभाग नेपाल-अंग्रेज युद्धपश्चातको सुगौली सन्धिसम्म पनि नेपालकै अधिनमा थियो । तर, आज त्यो भूमि हाम्रो साथ छैन । के अब हामी जाग्नुपर्दैन ? पुर्खाले जति गरे त्यसको संरक्षण गर्नु र अरुले लुटेको भूमि फिर्ता माग्ने सामर्थ्य हामीले राख्नुपर्दैन र ? स्मरण रहोस्, राजा पृथ्वीनारायण शाहलाई सम्झँदै गर्दा ‘नेपाल दुई ढुंगाबीचको तरुल हो । दक्षिणको बादशाह महाचतुर छ । जाइकटक नगर्नु, झिकीकटक गर्नु । नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो’ जस्ता उपदेशहरू कहिल्यै भुल्न सकिँदैन ।

त्यसो त देशको अर्थनीतिको बारेमा पनि उनले ठोस कदम चालेका छन् । मुलुक गरिब भयो भने सुरक्षित रहन सक्दैन भन्ने मान्यताअनुरुप सरकारले कर आफैं उठाउनुपर्ने धारणा ल्याए, काठमाडौंसँग सीधा बाटो जोड्ने नीति, स्थानीय उत्पादनलाई जोड आदि सम्झनयोग्य नीति हुन् । यतिमात्र होइन विदेशी व्यापारीहरू नेपाल प्रवेश गरे मरुभूमि बनाउने भन्दै विदेशी कपडा लगाउनेलाई बहिष्कार गर्ने सल्लाहसमेत दिएका थिए । स्थानीयवासीलाई कपडा बुन्न प्रशिक्षण दिनु यसैको उपज थियो । उनै राजाले नेपाली जडिबुटी विदेशी भूमिमा बेच्ने र यसबाट प्राप्त सम्पत्ति देशमा फिर्ता ल्याउन प्रोत्साहित गरेका थिए । उनको दिव्योपदेश नै छ, ‘प्रजा मोटो भए दरबार बलियो रहन्छ’ । बौद्ध धर्म दर्शन र हिन्दू सनातन धर्म दर्शनको एकतालाई मूर्तता दिँदै उनले धार्मिक पहिचानसमेत सुरक्षित गरेका थिए ।

राजा पृथ्वीनारायण शाहलाई सम्झँदै गर्दा ‘नेपाल दुई ढुंगाबीचको तरुल हो । दक्षिणको बादशाह महाचतुर छ । जाइकटक नगर्नु, झिकीकटक गर्नु । नेपाल चार जात, छत्तीस वर्णको साझा फूलबारी हो’ जस्ता उपदेशहरू कहिल्यै भुल्न सकिँदैन ।

एकीकरणसँगै धर्मनिरपेक्षता, समावेशिता, समानता र सार्वभौमसत्तासहितको आधुनिक राष्ट्रवादको सबै विशेषता झल्किने नेपालको निर्माता उनलाई सम्मान नगरी बस्न कुन सच्चा नेपालीको मन मान्ला ? तर, विडम्बना स्वार्थको खोल ओडेकाहरु अहिले पुर्खा र इतिहासको विरासत मेटाउन सक्दो प्रयास गरिरहेका छन् । गणतन्त्र घोषणापछि राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायणको सालिकमा श्रद्धाञ्जली अर्पण गर्ने हिम्मत देखाइन् । नेपाली सेनाले शान्ति सम्झौतापछि पनि आफ्नो कडा अडानको साथ पुर्खाको सम्झना र सम्मान गरिरहेको छ । सेनाले आफ्नो संस्थापकको सम्मान र गौरवलाई कहिल्यै झुक्न दिएको छैन ।

विभिन्न घटनाक्रमको उपज राजतन्त्रको उन्मूलनपछि पनि नेपाली सेनाले विगतमा जस्तै उनलाई सम्मान गर्दै आएको छ । तर, गणतन्त्रका हिमायती भन्नेहरुको लागि यो सबै कुरा अमान्य बनिरहेकै छ अझै । भलै पृथ्वी जयन्तीको रुपमा पुस २७ मा सार्वजनिक बिदा दिने निर्णय किन नगरोस् । पृथ्वीनारायण शाहको वीरता, राज्यसत्ता र प्रशासनिक गुणले नेपालीलाई गौरवको अवसर दिएको छ । उनको दूरदर्शी नीति र बुद्धिमताको कारण नेपाल सबै धर्म, भाषा र भूगोलमा एकताबद्ध भएको छ । तर, अहिले परिवर्तनको नाममा ल्याइएका जातीय, धार्मिक, सांस्कृतिक र सामाजिक विचलनको उपज फेरि मुलुक विभाजन हुने त होइन भन्ने प्रश्न यत्रतत्र उठ्न थालेको छ । यस्तो अवस्थामा नेपालको एकीकरणकर्ता राजा पृथ्वीनारायण शाहको सम्झनामा एकताको सन्देश छर्न राष्ट्रिय एकता दिवस मनाउँदै सुन्दर नेपालको पहिचान सुरक्षित राख्नु नितान्त आवश्यक छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर