नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई – Nepal Press

नेपाल टी-२० लिगको उपाधि लुम्बिनी अल स्टार्सलाई

काठमाडौं । विराटनगर सुपर किङ्सलाई २४ रनले पराजित गर्दै लुम्बिनी अल स्टार्स नेपाल टी-२० लिग पहिलो संस्करणको च्याम्पियन बनेको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले दिएको १ सय ३४ रनको लक्ष्य पछ्याएको विराटनगर निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ९ रनमा सीमित भयो ।

विराटनगरका लागि ओपनर अर्जुन साउदले सर्वाधिक ३४ रन योगदान गरे । उनले ४० बल खेल्दै १ चौका र दुई छक्का प्रहार गरे । हुसेन टलत १३ रन र पृथु बास्कोटा ३१ रनबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीका हर्मीतसिंह र सागर ढकालले समान दुई विकेट लिँदा विपुल शर्मा र किशोर महत्तोले एक-एक विकेट लिए ।

यसअघि, टस जितेर पहिला ब्याटिङ थालेको लुम्बिनी विकेट गुमाउँदै चार बल बाँकी रहँदा अलआउट हुँदै १ सय ३३ रनको योगफल तयार पारेको थिए ।

लुम्बिनीका लाहिरु मिलान्थाले सर्वाधिक ४१ रनको योगदान गरे । उनले २८ बलमा समान तीन चौका र तीन छक्का प्रहार गरे । मिलान्थाले रोहित पौडेलको बलमा क्याचआउट हुनु अघि पहिलो विकेटका लागि हर्मीतसिंहसँग ६४ रनको साझेदारि गरेका थिए । हर्मीतसिंह १८ बलमा ३ चौका र २ छक्काको मद्दतमा ३० रन बनाएर क्याचआउट भए ।

कप्तान दिपेन्द्रसिंह ऐरी २० रनमा आउट हुँदा लुम्बिनीका अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

विराटनगरका नन्दन यादव र राज ननन्ले समान दुई विकेट लिँदा सूर्य तामाङले ४ ओभरमा ८ रन खर्चिएर एक विकेट लिए । कियोन जोसेफ र कप्तान रोहित पौडेलले समान एक विकेट लिए ।

समूह चरणमा १० मध्यका ८ खेल जितेर १६ अंकसहित शीर्ष स्थानमा रहँदै लुम्बिनी प्लेअफ पुगेको थियो । प्लेअफमा जनकपुर रोयल्सलाई हराउँदै लुम्बिनीले फाइनल यात्रा तय गरेको थियो ।

समूह चरणमा समान ५ जित र हारको नतिजा निकालेको विराटनगर १० अंकसहित तेस्रो स्थानमा रहेर इलिमिनेटर पुगेको थियो । इलिमिनेटरमा काठमाडौं नाइट्सलाई हराउँदै विराटनगरले दोस्रो क्लालिफायरमा स्थान पक्का गर्‍यो । उक्त खेलमा जनकपुरलाई हराउँदै फाइनलमा लुम्बिनीसँगको भेट पक्का गरेको थियो ।

नेपाल क्रिकेट संघ (क्यान) र सेभेन थ्री स्पोर्टसको आयोजनामा जारी प्रथियोगिताको विजेता बनेको लुम्बिनीले ५५ लाख प्राप्त गर्नेछ । उपविजेता विराटनगरले ३० लाख, तेस्रो स्थानको जनकपुरले १० लाख र चौथो भएको काठमाडौंले ५ लाख प्राप्त गर्नेछन् ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले ५ लाख, उत्कृष्ट ब्याटर र बलरले समान २ लाख ५० हजार र उदयीमान खेलाडीले १ लाख ८० हजार पाउनेछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर