मधेसका सरोजकुमार यादव : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म – Nepal Press

मधेसका सरोजकुमार यादव : गाविस अध्यक्षदेखि मुख्यमन्त्रीसम्म

जनकपुरधाम । मधेस प्रदेशको मुख्यमन्त्रीमा जनता समाजवादी पार्टी (जसपा) संसदीय दलका नेता सरोजकुमार यादव नियुक्त भएका छन् ।

२ स्वतन्त्र र सत्ता साझेदार दलको समर्थनमा यादव मुख्यमन्त्री बनेका हुन् । सातदलीय गठबन्धनमा जसपा र जनमतको आलोपालोको सहमतिअनुसार पहिलो चरणमा बारा १ (२) बाट निर्वाचित उनी साढे २ वर्षका लागि मुख्यमन्त्री बनेका हुन् ।

को हुन् यादव ?

यादव मधेस प्रदेशका पहिलो सभामुख हुन् । बारा १ (२) मा ०७४ मा तत्कालीन राजपाबाट निर्वाचित उनी यो पटक जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित भए ।

सिम्रोनगढ नगरपालिका ३ स्थायी घर भएका उनको जन्म २०२८ साल माघ १० गते भएको हो ।

तत्कालीन नेपाल सद्भावना पार्टीबाट राजनीति सुरू गरेका यादव ०५४ मा हरिहरपुर गाविसको अध्यक्षमा निर्वाचित भएका थिए । बारा निर्वाचन- १ बाट संविधानसभा सदस्यमा निर्वाचित उनी २०६६ मा वाणिज्य तथा आपूर्ति राज्यमन्त्री र २०६८ मा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीसमेत भए ।

त्यसैगरी २०६९ सालमा तत्कालीन सद्भावना पार्टीको महासचिव र २०७३ सालमा उपाध्यक्ष भएका यादब राजपा नेपालको गठनपछि पनि उपाध्यक्ष नै रहे । ०७४ मा तत्कालीन राजपाबाट प्रदेशसभा सांसद बने । राजपा उपेन्द्र यादव नेतृत्वको पार्टीसँग एकता गरेपछि जसपा बन्यो । त्यतिबेला उनी सभामुख थिए ।

सभामुख स्वतन्त्र हुन्छन् भनेर उनी मौन बसे । न महन्थ ठाकुर न उपेन्द्र यादवलाई रोजे । पछि उनी उपेन्द्र यादवकै पार्टी जसपासँग नजिकिए । र, आम निर्वाचनमा जसपाकै टिकटबाट पुनः चुनाव जित्न सफल भएपछि अहिले मुख्यमन्त्री बनेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर