प्रधानमन्त्रीलाई प्रचण्ड बहुमत, संसदका सबै दलको अभूतपूर्व समर्थन – Nepal Press

प्रधानमन्त्रीलाई प्रचण्ड बहुमत, संसदका सबै दलको अभूतपूर्व समर्थन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिनिधिसभामा विश्वासको मत हासिल गरेका छन् । विश्वासको मत लिन उनले प्रतिनिधिसभामा राखेको प्रस्तावको पक्षमा २६८ सांसदहरूले समर्थन गरे ।

नेपालको संसदीय दलको इतिहासमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सदनमा लगभग सबै सांसदको विश्वासको मतसहित यो अभूतपूर्व समर्थन प्राप्त गरेका छन् । उनलाई प्रतिनिधिसभामा रहेका १२ मध्ये १० दलको समर्थन प्राप्त भएको छ ।

विश्वासको मतको विपक्षमा २ सांसदले मत दिएका छन् । सभाको अध्यक्षता गरेका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराका अनुसार आजको बैठकमा २७० सांसद उपस्थित थिए ।

२७५ सदस्यीय प्रतिनिधिसभामा मनाङबाट निर्वाचित कांग्रेस सांसद टेकबहादुर गुरुङ निलम्बनमा छन् । १२ दल र स्वतन्त्रसहित बाँकी २७४ मा राष्ट्रिय जनमोर्चा र नेमकिपा मात्रै विपक्षमा उभिएका छन् ।

एमालेसहित ७ दलका १६९ सांसदको समर्थनमा प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए ।

उनी नियुक्त हुँदा समर्थन नगरेका नेपाली कांग्रेस, नेकपा एकीकृत समाजवादी, लोसपाले पनि विश्वासको मत दिएका छन् ।

सदनमा बोल्दै प्रचण्डले प्रतिपक्ष दलको पनि समर्थनसहित आफूले असाधारण मत पाएको बताए । सबैको समर्थनपछि जनताको लागि गरेको प्रतिबद्धता कार्यान्वयमा निकै ठूलो अवसर पाएको उनको भनाइ थियो ।

प्रधानमन्त्रीले भने, ‘मैले समग्रमा जे अपिल गरे । त्यसको निकै नै सकारात्मक जवाफ प्राप्त भएको छ । म सबैलाई आभार व्यक्त गर्न चाहन्छु ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर