ब्याजदर घट्ने संकेत : राष्ट्र बैंक भन्छ- अवस्था सहज हुँदैछ, आफैं घट्छ – Nepal Press

ब्याजदर घट्ने संकेत : राष्ट्र बैंक भन्छ- अवस्था सहज हुँदैछ, आफैं घट्छ

काठमाडौँ । नेपाल राष्ट्र बैंकले माघमा ब्याजदर घट्ने संकेत गरेको छ । पछिल्लो एक महिना यता तरलतामा केही सहज भएको र अन्तर बैंक ब्याजदर समेत घटेकाले ब्याजदर घट्न सक्ने संकेत इन्डिकेटरले गरेको केन्द्रीय बैंकका कार्यकारी निर्देशन डा. प्रकाश श्रेष्ठले बताए । यद्यपि, पुसको अन्तिम एक/दुई दिन बाँकी रहेकाले केही प्रेसर पर्ने उनको आंकलन छ ।

उनले भने, ‘ब्याजदर बढाउँदा पनि कर्जा नपाएको अवस्था थियो । तर अहिले कर्जा केही प्रवाह हुन थालेको छ । अर्थतन्त्रका केही सूचकमा सुधार देखिएकाले मार्केटले नै ब्याजदर घटाउन डिमान्ड गर्छ ।’

यता बैंकर्सहरुले पनि ब्याजदरका विषयमा आगामी बैठकमा छलफल हुने बताएका छन् । सम्भवतः आगामी शुक्रवार बस्ने बैठकले ब्याजदरको विषयमा ठोस निर्णय लिन सक्ने बुझिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण श्रेष्ठले ब्याजदरको विषय छलफलको चरणमा रहेको बताएका छन् ।

बैंकहरुले अहिले मुद्दती निक्षेपमा १२.१३३ प्रतिशत ब्याजदर दिइरहेका छन् भने कर्जाको ब्याजदर १८ प्रतिशतसम्म लिइरहेका छन् । ब्याजदर वृद्धिको विषयलाई लिएर आन्दोलनमा उत्रिएका व्यवसायीहरूले पनि अब मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा मार्फत ब्याजदर घटाउनुपर्ने बताउँदै आएका छन् ।

नेपाल उद्योग परिसंघमा अध्यक्ष विष्णु अग्रवालले प्रधानमन्त्री र गभर्नर उपस्थित सार्वजनिक कार्यक्रममा ब्याजदर घटाउन माग गरेको थिए ।

प्रधानमन्त्रीले पनि आफैले इनिसिएसन लिएर चालुपुँजी कर्जा संशोधन गरेको र पेट्रोलियम पदार्थको मूल्य समेत घटाएको भन्दै अब ब्याजदर घटाउन पहल गर्नुपर्ने अग्रवालले बताए । ब्याजदर घट्ने आसमा व्यवसायी देखिएका छन् ।

केन्द्रीय बैंकको तथ्यांकले पनि तरलतामा केही सहज हुँदै गएको देखाएको छ । पछिल्लो एक महिनामा दैनिक औसत २० अर्ब रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकका सहायक प्रवक्ता नारायण प्रसाद पोखरेलले बताए । पुस १४ गते ४८ अर्ब रुपैयाँ अधिक तरलता बैङ्किङ प्रणालीमा देखिएको थियो भने १५ गते ४९ अर्ब रुपैयाँ अधिक तरलता रहेको थियो ।

यद्यपि सोमबार (पुस २५) भने बैङ्किङ प्रणालीमा ९ अर्ब रुपैयाँ अधिक तरलता रहेको केन्द्रीय बैंकले जनाएको छ । अधिक तरलता भनेको सिआरआर (अनिवार्य नगद अनुपात) मेन्टेन गरेर बाँकी रहेको रकम हो । बैंक तथा वित्तीय संस्थाले आफ्नो कुल निक्षेप दायित्वको केही प्रतिशत (४ प्रतिशत) नेपाल राष्ट्र बैंकमा अनिवार्य मौज्दात बापत राख्नुपर्ने रकम नै सिआरआर हो ।

गत वर्षको यसै अवधिमा मंसिर २५ देखि पुस २५ सम्म दैनिक औसत तरलता २३ अर्ब रुपैयाँ रहेको थियो । मंसिर १३ गते भने प्रणालीमा तरलता नै थिएन ।

अन्तर बैंक ब्याजदर पनि घट्यो

अहिले एक बैंकले अर्को बैंकसँग गर्ने कारोबारको ब्याजदर ६.२६ प्रतिशतमा झरेको छ । साढे ८ प्रतिशतसम्म पुग्ने गरेको अन्तरबैंक ब्याजदर ब्याजदर झण्डै २ प्रतिशत विन्दुले तल झरेको केन्द्रीय बैंकले बताएको छ ।

पुस २३ गते ६.३७ प्रतिशत अन्तर बैंक ब्याजदर रहेकोमा २४ गते ६.२६ प्रतिशत रहेको छ । यस्तै कर्जा निक्षेप अनुपात पनि ८६.४० प्रतिशत छ । बैंकहरुले यो अनुपातलाई ९० प्रतिशतसम्म राख्न पाउने व्यवस्था छ ।

यस्तै एकै दिनमा बैङ्किङ प्रणालीमा ६ अर्ब निक्षेप थपिएको छ । शनिवार ५३ खर्ब १४ अर्ब रुपैयाँ रहेको निक्षेप आइतबार ५३ खर्ब २० अर्ब कायम भएको देखिन्छ । यता कर्जा प्रवाह पनि एकैदिनमा ३ अर्बले बढेको राष्ट्र बैंकको तथ्यांक छ ।

हरेक त्रैमासपछि मात्र कर्जाको ब्याजदर पुनरावलोकन गर्न पाइने व्यवस्था छ । दोस्रो त्रैमास सकिनै लाग्दा कर्जाको ब्याजदर घटाएर सार्वजनिक गर्ने व्यवसायीको अपेक्षा छ । निक्षेपको ब्याजदर भने मासिक रूपमा पुनरावलोकन गर्न पाइने व्यवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर