प्रचण्ड सरकारलाई नेकपा एसको सशर्त समर्थन, विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने – Nepal Press

प्रचण्ड सरकारलाई नेकपा एसको सशर्त समर्थन, विश्वासको मत दिएर प्रतिपक्षमा बस्ने

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई सर्तसहित समर्थन गर्ने भएको छ ।

आज बसेको सचिवालय बैठकले प्रचण्ड नेतृत्वको सरकारलाई सशर्त समर्थन गर्ने निर्णय गरेको हो ।

सरकारलाई विश्वासको मत दिएर पार्टी प्रतिपक्षमा बस्ने उपमहासचिव जगन्नाथ खतिवडाले बताए ।

उनले भने, ‘विश्वासको मत दिन्छ । सर्त राखिने छन् । ती सर्त (एजेण्डाहरु) पुरा नगरेमा कुनै पनि बेला त्यहाँबाट फर्किन सक्ने ठाउँलाई सुरक्षित गर्दै प्रतिपक्षको भूमिका निर्वाह गर्ने निर्णय भएको छ ।’

नेकपा एसले कस्ता सर्तहरु अगाडि सारेको छ भन्ने विषयमा उनले खुलेर केही बताएनन् ।

उनले राष्ट्रियता, सुशासन, देशको बिग्रँदै गएको अर्थतन्त्र सुधार लगायतका विषयमा पार्टीका एजेण्डा अध्यक्ष माधव कुमार नेपालले संसदमा राख्ने र सोही अनुसार अगाडि बढ्ने बताए ।

प्रतिनिधिसभामा नेकपा एसका १० सदस्य छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बस्ने प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने कार्यक्रम छ ।

प्रचण्डले प्रधानमन्त्रीमा दाबी पेस गर्दा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदले समर्थन गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर