रुपन्देहीको तिलोत्तमास्थित मोक्षधाममा तीन वर्षपछि महायज्ञ – Nepal Press

रुपन्देहीको तिलोत्तमास्थित मोक्षधाममा तीन वर्षपछि महायज्ञ

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ६ पश्चिम पहुनीस्थित मोक्षधाम सेवा आश्रममा स्वस्थानी व्रतकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ जारी छ । गत शुक्रबारदेखि मोक्षधाम सेवा आश्रममा शिवपुराणमा आधारित ज्ञान महायज्ञ सुरु भएको हो ।

महायज्ञको स्वामी विवेकानन्द सरस्वती जी महाराजले औपचारिक सुरुवात गरेका हुन् । आश्रमका अध्यक्ष रोमणी पाठकका अनुसार यस महायज्ञ वैदिक सनातन धर्म रक्षार्थ राष्ट्र शान्तिका निम्ती आयोजना भएको हो ।

महायज्ञ माघको २२ गतेसम्म हुनेछ । एक महिनासम्म आयोजना हुने महायज्ञमा प्रत्येक दिन शिवपुराणका कथा, सत्संगका साथै अमृतकुण्डमा शिव महाआरती हुने महायज्ञ आयोजना समितिका सचिव वेद प्रसाद न्यौपानेले दिए ।

महायज्ञको प्रमुख कथा वाचक पण्डित प्रकाश तिवारी रहेका छन् । संस्थापक संरक्षक पण्डित इश्वर कृष्ण महाराज रहेको यस मोक्षधाम २०६६ सालमा स्थापना भएको हो ।

वैदिक धर्मको उन्नयन गर्ने उद्देश्यले पुराणमा उल्लेखित भारतका चारधाम जस्तै वद्रिनाथ, द्वारकाधिस, जग्गनाथ, रामेश्वरम, तथा नेपालका चारधाम विश्वनाथ (पशुपतिनाथ), रामजानकी धाम, मुक्तिनाथ, लुम्बिनी, पवित्र गगांहरु, सरोवरहरु र सागरहरुको जल भएको अमृतकुण्ड, वाल तथा बृद्धाश्रम, पुर्विय दर्शनको अनुशन्धान केन्द्र स्थापना र संचालन गर्ने मोक्षधामको परिकल्पना रहेको अध्यक्ष पाठक बताउछन् ।

‘माधव सेवा र मानव सेवाको नाम, आठ धाम एकै ठाउँ’ भन्ने मुल नारा बोकी १२ अघि स्थापना भएको मोक्षधाम सेवा आश्रमले हालसम्म राधाकृष्ण मन्दिर, पशुपतीनाथ मन्दिर, मुक्तिनाथ मन्दिर, अमृतकुण्ड, वाल तथा वृद्धाश्रम भवन, अतिथिगृह सभाहल, मानवसेवा भवन निर्माण र पाचँ धामका मन्दिरहरुको जग सम्पन्न भएको जानकारी अध्यक्ष पाठकले दिए ।

मोक्षधाम सेवा आश्रम सुरु भएदेखि नै प्रत्येक वर्ष महायज्ञको आयोजना गर्दै आएको थियो । तर तीनवर्ष यता कोभिडको कारणले कुनै पनि महायज्ञको कार्यक्रम भएको थिएन । यसवर्ष भने स्वस्थानी व्रतकथा तथा तण्डुलाचल ज्ञान महायज्ञ सञ्चालन गरिएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *